
धनुषा- जनकपुरधाममा एक युवतीलाई करेन्ट लगाएर हत्या प्रयास गरिएको घटना विरुद्ध प्रहरीमा उजुरी परेको छ ।
जनकपुरधाममा २२ वर्षीया राधिका कार्कीलाई करेन्ट लगाएर भएको हत्या प्रयासको घटना विरुद्ध प्रहरीमा जाहेरी परेको हो ।
पीडित राधिकाकी आमा सिन्धुलीको गोलञ्जर गाउँपालिका-२ बस्ने अम्बिका कार्कीले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी हुन्। राधिकाकी आमाले शंकास्पद पीडकको नाम राखेर जाहेरी दिएकी धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। क्षेत्रीले पीडितकी आमाले जाहेरी दिएकी र पीडक पत्ता लागेपछि दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाउने जनाए।
पीडित राधिकाको अनुसार जेठ १६ गते साँझ प्रेमी धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका २८ वर्षीय अरुणकुमार साहले प्रेमिका राधिकाको दुबै हात, दुबै खुट्टा र पेटमा करेन्ट लगाएर हत्या प्रयास गरेका थिए । विवाह गर्ने प्रलोभनमा आठ महिनादेखि जनकपुरको थापाचोकमा दुबै जना बस्दै आएका थिए । सो दिन राधिकाले वाचा गरेअनुसार घर लग्न भनेपछि विवाद उत्पन्न भएको थियो । त्यसपछि अरुणले हातखुट्टामा करेन्ट लगाएर हत्या प्रयास गरे ।
करेन्ट लागेर गम्भीर घाइते राधिकालाई प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल जनकपुर पुर्याएको थियो । अहिले प्रादेशिक अस्पतालको सर्जिकल वार्डमा राधिकाको उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक डा.अश्विनी यादवका अनुसार करेन्ट लागेका कारण राधिकाको हात खुट्टाको केही औँला काम नलाग्ने अवस्थामा छन् जुन काटेरै हटाउनुपर्ने अवस्था छ ।
यसैबीच राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली सहितका पदाधिकारीहरूले अस्पतालमा पुगी पीडित युवतीको अवस्थाको बारेमा जानकारी लिएका छन् ।