रौतहट - रौतहटको बागमती नदीमाअनौठो माछा फेला परेको छ। बागमती नदीमा माछा मार्ने क्रममा एक जना मल्लाहले डल्फिन जस्तो देखिने अनौठो माछा फेला पारेका हुन्। दुर्गा भगवती गाउँपालिकाको पिपरा भलोहिया गाउँका राजकुमार सहनी मल्लाहले दुर्गा भगवती गाउँपालिकाकै बागमती नदीको पिपरा घाटमा मंगलबार माछा मार्ने क्रममा जालमा डल्फिन जस्तो देखिने माछा फेला परेका हुन्।
स्थानीय सञ्चारकर्मी प्रभातकुमार झाले माछाको तौल ११ किलोभन्दा बढी भएको र माछा मारेपछि बिक्रीका लागि पिपरा बजारमा ल्याएपछि हेर्नेको घुइँचो लागेको बताए। दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले बागमती नदीमा डल्फिन जस्तो देखिने माछा पिपरा बजारमा आएपछि हेर्नेको घुइँचो लागेको बताएका छन्। अध्यक्ष सिंहले सोमबार बागमती नदी किनारमा रहेको बडहर्वा जाने क्रममा सोमबार बागमती नदीमा डल्फिन माछा जस्तो माछाको एउटा ठूलो समूह नदीको पानीमा उफ्रिरहेको आफूले देखेको बताए। बागमती नदीमा यस्तो माछा कहिल्यै नदेखिएको माछा मार्ने राजकुमार सहनी मल्लाहले जानकारी गराएका छन्।
माछा मार्दामार्दै जीवन बित्ने भयो तर यस प्रकारको अनौठो माछा आफूले नदेखेको र कुनै समुद्री माछा भएको हुन सक्ने उनको भनाइ छ। समुद्रबाट गंगानदी हुँदै समुद्री माछा बागमती नदीमाआएको हुन सक्ने स्थानीयको अनुमान छ। माछाको बारेमा अध्ययन गरी यदि डल्फिन वा कुनै दुर्लभ माछा हो भने पिपरा घाटलाई संरक्षित क्षेत्र बनाउन सञ्चारकर्मी झाले नेपाल सरकार तथा प्रदेश सरकारलाई आग्रह गरेका छन्।
यस्तै माछा विशेषज्ञ राधेश्याम झाले भने, 'याे डल्फिन माछा नै हो, यसको संरक्षण गर्नु पर्दछ, मार्नू ठूलो अपराध हो', समुद्रबाट भारत हुँदै नेपाल तिर आएको हुँदा यसलाई संरक्षण गर्नुपर्छ उनले भने। डल्फिन संरक्षण धेरै स्थानहरुमा भइहँदा यहाँ पनि यस्ता प्रजातीको माछाको संरक्षण गर्दा आन्तरिक पर्यटनलाई टेवा पुग्ने उनले बताए।




