
महेन्द्रनगर- पूर्वमन्त्री तथा नेकपा एमालेका नेता रघुवीर महासेठले धनुषाको बटेश्वर गाउँपालिका–३ कटानी टोल निर्माण गरिएको नवनिर्मित शिवमन्दिरको उद्घाटन गरेको छ ।
स्थानीयवासी रामजतन महतोले उपलब्ध गराएको बहुमुल्य १५ धुर जग्गामा बटेश्वर गाउँपालिका र सहयोगी दाताको आर्थिक सहयोगमा बनेको शिवमन्दिरको पूर्वमन्त्री महासेठले आइतबार उद्घाटन गरेको हो ।
उद्घाटन कार्यक्रममा पूर्वमन्त्री महासेठले विकास निर्माणको काममा सबैजना एकजुट भएर लाग्नुपर्ने बताए । उनले भने, जुनसुकै पार्टीका नेता, जनप्रतिनिधि अथवा संघसस्था होस् । राम्रो काम भइरहेको छ भने सबैजनाले सहयोग गर्नुपर्छ । खराब गरेको छ भने बिरोध पनि गर्नुपर्छ । यति भन्दै पूर्वमन्त्री महासेठले आफूले निर्वाचनको बेलामा यहाँका जनतालाई दिएको बचन धेरै हदसम्म पुरा गरेको बताउँदै अझै धेरै गर्न बाँकी रहेको र त्यो पनि पुरा गर्ने भने ।
यस क्षेत्रबाट प्रतिनिधि सभासदस्यको चुनाव जितेपछि एक दर्जन पुल निर्माण भइसकेको र एक दर्जनभन्दा बढी पुलहरु निर्माणको क्रममा रहेको बताउँदै गाउँ–गाउँमा कालोपत्रे सडक, मन्दिर, मस्जिद, गुम्बा निर्माणमा सहयोग गरेको पूर्वमन्त्री महासेठले जनाए ।
मन्दिर उद्घाटनको अवसरमा मन्दिर निर्माण गर्न जग्गा उपलब्ध गराएका जग्गादाता रामजनत महतो, मन्दिर निर्माण समितिका पदाधिकारीलगायत मन्दिर निर्माणमा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।
सो कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव, बटेश्वर गाउँपालिकाका पूर्व अध्यक्ष डम्बरबहादुर क्षेत्रीलगायत राजनीतिकर्मी, बुद्धिजीवि र स्थानीयवासीको उपस्थिति रहेको थियो ।