काठमाडौं। ‘मृत व्यक्तिलाई जिवित’ बनाएको दाबी गर्ने पास्टर पक्राउ परेका छन्। मरेको मानिस बचाएको भन्दै भ्रम फैलाएको आरोपमा कञ्चनपुरका ३५ वर्षीय राजेन्द्र गोतामे बुटवलबाट पक्राउ परेका हुन्।
उनी बुटवलस्थित होली क्यालभरी चर्चका पास्टर हुन्। गोतामेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए।
उनले भने, ‘‘मरेको मानिसलाई व्यूँताएको भन्दै समाजमा भ्रामक सन्देश फैलिएको भनेर उजुरी समेत परेको छ। कारबाहीको माग उठेपछि भ्रम फैलाउने व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ,’’
आइतबार दिउँसो २ बजेर ३९ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा भिडिओ क्लिप राखेर भाइरल बनाइएको छ। ‘विवेक सत्याल’ नामको फेसबुक आइडीमा पोस्ट भएको भिडिओ लाखौँले हेरेका छन्।
झन्डै हजार जनाले सेयर गरेका छन्। २ मिनेट ४५ सेकेन्ड लामो भिडियोमा होली क्यालभरी चर्चका पास्टर भनिने राजेन्द्र गोतामेले एक ‘मृत’ महिलालाई जीवित गराएको भनेर उल्लेख गरिएको छ।




