
जनकपुरधाम- महोत्तरी निर्वाचन क्षेत्र नं. १ र २ को “क” मा गठबन्धन बाटै दुईजनाको उम्मेदवारी परेको पछि दुबै ठाउँमा आधिकारिताको लडाइँ सुरु भएको छ।
क्षेत्र नम्बर १ ‘क’ मा गठबन्धन भित्रको नेकपा एकीकृत समाजवादी (एस)बाट सुरेश राउत र लोसपाका पिताम्बर महतोले उम्मेदवारी दर्ता गरेका छन् ।
दुवै उम्मेदवारले आफुहरू गठबन्धनको साझा उम्मेदवार भएको दावी गरेका छन् । तर, गठबन्धनले भने आधिकारिक उम्मेदवार को हो भनेर निणर्य गरिसकेको छैन ।
गठबन्धनका वरिष्ठ नेता शरतसिंह भण्डारीले भनेर नै उम्मेदवारी दर्ता गराएको महतोको दाबी छ भने राउतले पनि नेकपा एसका अध्यक्ष माधव नेपालको निर्देशन मानेको बताउँदै आएका छन् ।
निणर्यानुसार महोत्तरी क्षेत्र १ ‘क’ कांग्रेस र ‘ख’ मा माओवादीले पाउने तय भएको थियो । तर, लोसपाको उम्मेदवार नै साझा उम्मेदवार भएको बताउँदै एकाएक महतोले टिकट पाएको हल्ला चलेपछि नेकपा एसका राउतले पनि मनोनयन दर्ता गराएका थिए ।
बुधवार मनोनय फिर्ता लिने समय सीमा रहेपनि नेकपा एसका राउत वा लोसपाका महतो दुबै मध्ये कसैले फिर्ता लिएनन् ।
नेता राउतले भने अध्यक्ष माधव नेपालले भनेर नै टिकट ल्याएर मनोनयन दर्ता गरेको हुनाले ब्याक हुने कुरा नभएको बताए । मतदाताको हिसाबले हो भने ‘क’ कांग्रेसले पाउनु पर्ने हो । तर, उनीहरूले नपाएपछि नेकपा एस नै यसको प्रमुख दावेदार भएको उनको बुझाइ छ ।
त्यसैगरी महोत्तरीको निर्वाचन क्षेत्र नम्बर २ ‘क’ मा पनि सत्ता गठबन्धन बाटै दुई दलका नेताको उम्मेदवारी परेपछि आधिकारिकताको लडाइँ शुरु भएको छ।
सत्ता गठबन्धनबाटै सो क्षेत्रमा नेकपा एकीकृत समाजवादी(एस) की मञ्जु कुमारी यादव र लोसपाका जयनुल राइनले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। दुवै उम्मेदवार औपचारिक रुप मै प्रचार प्रसारमा जुटिसकेका छन्।
तर सत्ता गठबन्धनबाटै दुई जनाको उम्मेदवारी परेपछि दुई मध्ये एक उम्मेदवारले फिर्ता लिनुपर्ने थियो। यद्यपि दुवै मध्ये कुनै उम्मेदवारले पनि उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धनको आधिकारिक उम्मेदवारको विषयमा विवाद देखा परेको छ।
राइनले आफू गठबन्धनको आधिकारिक उम्मेदवार रहेको भन्दै प्रचार गर्न थालेपछि त्यहाँ विवाद चुलिएको छ।
पाँचदलीय गठबन्धनबाट जसपा बाहरिएपछि नेपाली कांग्रेसले आफ्नो भाग दिएर लोसपालाई भित्र्याउने गठबन्धनभित्र सहमति भएको थियो। कांग्रेसले आफ्नो भागको सिट दिएर लोसपालाई गठबन्धनमा ल्यायो पनि।
लोसपाका राइनले उम्मेदवारी दिएको क्षेत्र महोत्तरीको २ ‘क’ पहिले नै नेकपा (एकीकृत समाजवादी) को भागमा परिसकेकाले आफू गठबन्धनको अधिकारिक उम्मेदवार रहेको यादव दावी गर्छिन्।
‘राजनीतिमा अनुशासन तथा सम्झौताको पालन अपरिहार्य हुन्छ। तर लोसपाले राइनलाई उम्मेदवारी दिन लगाएर सम्झौता विपरित कार्य गरेको छ। लोसपालाई कांग्रेसले गठबन्धनमा ल्याएको छ’, यादवले भनिन्, ‘गठबन्धनको मर्म अनुरुप सम्झौता पालन गर्न कांग्रेस र लोसपा दुवै दललाई आग्रह गर्न चाहन्छु।’
कांग्रेसले लोसपालाई गठबन्धनमा ल्याउनु पूर्व नै आफूलाई टिकट दिइएकोले आफू नै गठबन्धनको आधिकारिक उम्मेदवार रहेको उनको भनाई छ।
यता, अर्का उम्मेदवार राइनले पार्टी नेतृत्वले आफूलाई उम्मेदवारी दर्ता गराउन भनेकै ले आफूले उम्मेदवारी दिएको स्पष्ट गरे। उनले यो गठबन्धनको विषयमा गठबन्धनमा सामेल दलका शीर्ष नेतृत्वले सहमति गरेकाले शीर्ष नेतृत्व बाटै यस विषयमा स्पष्ट हुनुपर्नेमा जोड दिए।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर २मा पाँचदलीय गठबन्धनबाट प्रतिनिधिसभामा लोसपाका शरतसिंह भण्डारी, प्रदेशसभाको लागि ‘क’ मा नेकपा एकीकृत समाजवादीकी मञ्जु यादव, लोसपाका जयनुल राइन र ‘ख’मा कांग्रेसका नागेश्वर राय उम्मेदवार छन्।