महोत्तरी – महोत्तरीको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीका अनुसार जिल्लाका सबै मतदानस्थल र मतदान केन्द्रका लागि ४ हजार ५ जना जनशक्ति परिचालन गरिएको छ ।
“जिल्लाका चार निर्वाचन क्षेत्रको लागि २ सय ५८ मतदानस्थलका ४ सय ९९ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र सहित ५ सय १ वटै केन्द्रका लागि मतदान अधिकृत सहितका आवश्यक जनशक्ति व्यवस्थापन गरिएको छ”-प्रमुख जिल्ला अधिकारी पहाडीले भने । जिल्लाभरिमा तोकिएका मतदान केन्द्र र दुई अस्थायी केन्द्र (सैनिक ब्यारेक र कारागार) मा मतदान कार्यका लागि दक्ष जनशक्ति व्यवस्थापन भएको छ ।



मतदान केन्द्रको मतदाता संख्या र संवेदनशीलतालाई मध्यनजर गरिँदै तीन देखि आठ जनासम्मको जनशक्ति खटाइएको डिएसपी सन्तोषकुमार पोखरेलले जानकारी दिए।
क्षेत्रगतरूपमा प्रतिनिधि सभा क्षेत्र-१ मा ९ सय ८३, क्षेत्र नं. २ मा १ हजार १९, क्षेत्र नं. ३ मा १ हजार २७ र क्षेत्र नं. ४ मा ९ सय ७६ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जानकारी दिएको छ । यसका अतिरिक्त सुरक्षा प्रबन्धका लागि जनशक्ति परिचालित गरिएको छ । कर्मचारी खटनपटनसँगै सबै मतदान केन्द्रमा मतदान सामग्री (मतपत्र र अन्य बन्दोबस्तीका समान) पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत महेन्द्र झाले जानकारी दिए ।
चार प्रतिनिधि सभा र आठ प्रदेश सभा क्षेत्र रहेको जिल्लामा आसन्न मङ्सिर ४ को निर्वाचनका लागि ३ लाख ९७ हजार ३० मतदाता छन् ।
तीमध्ये सबैभन्दा बढी क्षेत्र नं ३ मा ९९ हजार ९ सय ३० छन् । यसैगरी क्रमशः क्षेत्र नं २ मा ९९ हजार ७ सय ७, क्षेत्र नं ४ मा ९८ हजार ८ सय ९६ र क्षेत्र नं १ मा ९८ हजार ४ सय १७ मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसैबिच जलेश्वर कारागारका प्रमुख रामचन्द्र साहले कारागारमा रहेका २४ जना कैदीबन्दीले मतदान गर्ने टोलीलाई जानकारी दिए । सोको लागि कारागारमै व्यवस्थापन गरिने उनको भनाई छ।





