
जनकपुरधाम- जयनगर-जनकपुरमा सञ्चालन भइरहेको नेपाल रेल्वे सेवामा तीन दिन थप सेवा सञ्चालन गरिने भएको छ ।
जनकपुरधाममा आयोजना हुने विवाह पञ्चमी महोत्सव मेलालाई ध्यानमा राखेर तीन दिन थप सेवा सञ्चालन गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जनकुमार झाले जानकारी दिए ।
झाले दैनिक दुई पटक ओहोर दोहोर गरी सञ्चालन भइरहेको रेल सेवा मङ्सिर ११, १२ र १३ गते थप सेवागरी सो तीन दिन तीन पटक सेवा सञ्चालन गरिने जानकारी दिए ।
मेलामा सहभागी हुन आउनु हुने तीर्थयात्री, यात्रुगण तथा सर्वसाधारणको चापलाई मध्यनजर गर्दै रेल सेवा थप गरिएको उनले बताए।
तीन दिन बिहान ८ ः ३० बजे जयनगर-कुर्था, दिउँसो १२ ः ३० बजे जयनगर-जनकपुर र दिउँसो ३ बजे जयनगर-कुर्था रेल सेवा सञ्चालन गरिने समय निर्धारण गरिएको छ ।
त्यस्तै, कुर्था-जयनगर बिहान १०ः४५ बजे, जनकपुर-जयनगर दिउँसो १ः४० बजे र कुर्था-जयनगर दिउँसो ५ः१५ बजे रेल सञ्चालनको तयारी गरिएको महाप्रबन्धक झाले जानकारी दिए ।