
जनकपुरधाम- विगत केही दिन देखी सामाजिक संजालमा भाइरल मधेशी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरेको भिडियो प्रति मधेशी आयोगले कारवाहीको प्रक्रिया अगाडी बढाएको छ ।
मधेशी समुदायका अगुवाहरुले आयोगमा सो उजुरी दिएपछी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तको निर्देशनमा आयोगले उजुरीलाई दर्ता गरी आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाएको छ ्।
काठमाण्डौ महानगरपालिकाले सुकुम्बासी बस्तीलाई खाली गराउने कुराको विरोधमा उत्रेका केही व्यक्तिहरुले मेयर बालेन शाह र मधेशी समुदायलाई धोती जस्ता होच्याउने र अपमानजनक शब्द प्रयोग भिडियो अहिले सामाजिक संजालमा निकै भाइरल बनेको छ ।
आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगले नेपाल प्रहरीलाई भिडियो माथि छानबिन गरी कारवाही गर्न पत्राचार गरेको बताएका छन् ।
अध्यक्ष डा. दत्तले समाजमा चेतनाको स्तर अझै पनि नबढेको ले गर्दा मधेशी समुदायले समय(समयमा यस्ता विभेदपूर्ण कुराहरुको सामना गर्नु परिरहेको बताएका छन् ।
अध्यक्ष डा. दत्तले आयोगमा सबै भन्दा बढी समुदायप्रति लक्षित गरी व्यक्ति तथा संस्थाहरुले अपमानजनक शब्द तथा क्रियाकलाप गरेको उजुरी आउने गरेको र त्यस्ता उजुरीहरु प्रति आफु सचेत रहेको र आयोगले तुरुन्तै आफ्नो कारवाहीको प्रक्रिया अगाडी बढाउने गरेको समेत बताएका छन् । अध्यक्ष डा. दत्तले समुदाय प्रति प्रहार नगर्न सबैलाई अनुरोध समेत गरेका छन् ।