काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादीबीच नयाँ सरकार गठनमा भागवडा नमिल्दा देशको राजनीति नयाँ मोडमा पुगेको छ ।
त्यतिमात्रै नभई बिगत १८ महिनादेखि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच रहेको गठबन्धन पनि तोडिएको छ ।
अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरुले गठबन्धन नतोड्ने आगामी पाँच वर्षसम्मै गठबन्धनलाई लैजाने भनेपनि अन्तत गठबनधन भत्किएको छ । खासगरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्दा को पहिला बन्ने भन्ने विषयमा सहमति नभएपछि गठबन्धन टुटेको हो ।



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिलो पालो आफू प्रधानमन्त्री बन्नु पर्ने अडान राख्दै आउनु भएको थियो भने कांग्रेस सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफू पहिलो पालो प्रधानमन्त्री बन्नु पर्ने अडान राख्दै आउनु भएको थियो ।
दुवै नेताबीच त्यसमा सहमति नभएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजे सम्म बहुमतको सरकार गठनका लागि समयसीमा तोक्नु भएको थियो ।





