महोत्तरी - दुई वर्षअघि महोत्तरी पिपराका झा दम्पती हत्या प्रकरणका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिपरा गाउँपालिका ५ का ७३ वर्षीय तेज नारायण झा रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
घटनापछि फरार भई भारतको गुहावटीमा पूजारीको रुपमा काम गर्दै आएका अभियुक्त झालाई महोत्तरी प्रहरीले झापाको मेचिनगर ६ स्थित भारतको सिमा नाकाबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

झापा जिल्लाको काकडभिट्टा नाका हुँदै नेपाल आउने जाने गरेको सूचनापछि प्रहरीको केन्द्रीय प्रहरी टोलीको सहयोगमा झालाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।
झा दम्पती हत्या घटनामा संलग्न अन्य ७ जना अभियुक्तलाई प्रहरीले यसअघि नै पक्राउ गरी जिल्ला अदालत महोत्तरी हाजिर गराएको थियो । जिल्ला अदालतको आदेशले कारागार चलान भएका ४ जना भने उच्च अदालत जनकपुरको आदेश अनुसार धरौटीमा छुटेका प्रहरीले जनाएको छ ।
२०७७ फागुन ११ गते पिपरा ५ का ७३ वर्षीय मुसाफिर झा र वर्ष ६६ की गीतादेवी झालाई अपहरण गरी शरीर बन्धक बनाई हत्या गरी गाडेर सडेगलेको अवस्थामा एक महिनापछि परिवारले उनीहरुको शव फेला पारेको थियो ।
घटनामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गर्दै झा दम्पतीका छोरा मनिष झाले दिएको जाहेरी दरखास्तको आधारमा घटनामा संलग्नलाई खोजी गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसरी भएको थियो घटना
महोत्तरीको पिपरा गाउँपालिका-५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र झाकी ६० वर्षीया गीतादेवीको शव २०७७ चैत १२ गते पिपरा गाउँपालिका -२ मा गाडिएको अवस्थामा भेटियो । शवलाई गलाउन नुनको प्रयोग गरिएको प्रहरीले जनायो ।
झा दम्पती फागुन १० गते साँझ खाना खाएर सुतेका थिए। तर, बिहान दम्पती सुतेको ओछ्यान सहित बेपत्ता भएका थिए । घटनाको ३० दिनपछि झा दम्पतीको शव माटोमा गाडिएको अवस्थामा फेला पारिएको थियो । जग्गा बिक्री गर्न नमानेकै कारण झा दम्पतीको हत्या भएको महोत्तरी प्रहरीको निष्कर्ष छ ।
मुसाफिर झा मालपोतका अवकाश प्राप्त सुब्बा थिए । त्यसक्रममा मुसाफिरलाई छिमेकमा बस्ने हरेन्द्र ठाकुरले जग्गा बिक्री गर्न दबाब दिने गरेको थियो । जग्गा जमिनको कारोबार गर्ने ठाकुरका साझेदार रामबाबु यादवको घर झाको घर नजिकै थियो ।
रामबाबुलाई केही जानकारी हुनसक्ने आधारमा प्रहरीले अनुसन्धान सुरु गर्यो । रामबाबुको घरबाहिर रगतको टाटा जस्तो देखिएपछि प्रहरीले थप अनुसन्धान चलायो र ५२ वर्षीय रामबाबु यादव सहित यादवका छोराहरू २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादवलाई २०७७ चैत ८ गते गिरफ्तार गर्यो । बयानका क्रममा उनीहरूले त्यो रङ भएको बताएका थिए । तर, विधि विज्ञान प्रयोगशालामा भएको परीक्षणले त्यो मानव रगत भएको पुष्टि गरेपछि अनुसन्धान रामबाबुमाथि केन्द्रित भएको थियो।
प्रहरीले जग्गाधनी भारतीय नागरिक हरेन्द्र ठाकुरको कल डिटेल रेकर्ड (सीडीआर) र लोकेशनको विश्लेषण गर्यो । त्यसक्रममा ठाकुर फागुन १० गते काठमाडौँबाट जनकपुरधाम आएर भोलिपल्ट फर्किएको देखियो । प्रहरीले ठाकुरलाई पनि काठमाडौँबाट गिरफ्तार गरेर महोत्तरी पुर्यायो । तर, बयानमा ठाकुरले काठमाडौँबाट जनकपुर पुगेको स्वीकार गरेनन् । पोलिग्राफ शाखामा लगेर बयानको सत्यता परीक्षण गर्दा ठाकुरले ९९ प्रतिशत झुठो बोलेको देखिएको तत्कालिन प्रदेश प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले बताए । त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोली बोलाएर अनुसन्धान थालिएको थियो । ब्युरोले एक जना इन्स्पेक्टरको टोली अनुसन्धानमा खटाएको थियो । सीआइबीले जिल्ला र प्रदेश प्रहरी कार्यालयकै टोलीको अनुसन्धानलाई सदर गर्यो । तर, झा दम्पतीको अवस्था अज्ञात रह्यो । गिरफ्तार परेकाहरूले अभियोग स्वीकार गरेका थिएनन् तर उनीहरूको संलग्नता देखिएपछि महोत्तरी प्रहरीले पत्रकार सम्मेलन गरी चारै जनालाई सार्वजनिक गर्यो । शङ्कास्पद ठाउँमा खोजीकै क्रममा प्रहरीको टोली चैत १२ गते झा दम्पतीको घरबाट दुई किलोमिटर पश्चिम-दक्षिणको पिपरा-२ मा पुगेको थियो । बगरमा खोस्रिएको देखिएपछि खनेर हेर्दा दम्पतीको शव भेटिएको थियो ।
मृतक झा दम्पतीका छोरा मनिष झाले जिल्ला प्रहरी कार्यालयमा चैत ५ गते अपहरण गरी शरीर बन्धक सम्बन्धी किटानी उजुरी दिए । घटनाको अनुसन्धानपछि घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई चैत १३ गते गिरफ्तार गर्यो । गिरफ्तार पर्नेहरुमा पिपरा गाउँपालिका-२ का तारा देवी झा उनको दुई छोरा कैलाश झा र विकास भनिने बबलु झा थिए।
मृतक दम्पती कै नातामा भतिजो पर्ने कैलाश झाले झाले प्रहरीलाई दिएको बयानमा आफूलाई जग्गा व्यापारी हरेन्द्रले मुसाफिरको जग्गा बेच्न लगायो भने २ करोड रुपैंया दिने भनि प्रलोभन दिएको उल्लेख छ । ठाकुर कै प्रलोभनमा आएर आफूले मुसाफिर झाको हत्या गर्ने निधो गरेको र त्यसका लागि उनको जेठी बुहारी अंशु झालाई नशा लाग्ने औषधि किनेर एकदिन अगाडि नै दिएको कैलाशले प्रहरीलाई बयान दिएको छ। अशुंले सो औषधि खानामा मिलाएर परिवारको सबैलाई खुवाएकी थिइन र पछि मुसाफिर र गीता बेहोस् हुँदा दुवैलाई कैलाशले उठाएर आफ्नो घर लगि हत्या गरेको बयानमा भनिएको छ । कैलाश झाले दम्पतीको हत्या गरी शव एक महिनासम्म आफ्नै घरमा लुकाएर राखेका थिए। पछि हत्यामा संलग्नता खुल्ने डरले शव अन्यत्र सारेपछि उनी पक्राउ परेका थिए। कैलाश झाको घरबाट प्रहरीले शव लुकाएर राखेको जस्तापाताले बनेको ट्रंक र अन्य प्रमाणहरू बरामद गरेको थियो।
गिरफ्तार परेका तारा देवीको घरमा झा दम्पतीको जलेको कपडा, शव लुकाएको र जलाएको वाकस, जलेका दाउरा लगायत सामग्री फेला परेको थियो । हत्या भएका झा दम्पतीका छोरा मनिष झाको जाहेरीले वादी नेपाल सरकार भएको अपहरण, शरीर बन्धक, ज्यान सम्बन्धी कसुर, आपराधिक संयन्त्र, लागुऔषध र चोरी मुद्दामा जिल्ला अदालतका न्यायाधीश डा. रमेशप्रसाद रिजालको वैशाख १७ गतेको इजलासबाट प्रतिवादीहरु ५२ वर्षीय रामबाबु यादव, २६ वर्षीय सुरेन्द्र यादव, २० वर्षीय राजेन्द्र भनिने राजिन्द्र यादव कैलाश झा, हरेन्द्र ठाकुर, र विकास भनिने बबलु झालाई थुनामा राखी मुद्दाको कारबाही गर्ने र तारादेवी झालाई २ लाख रुपियाँ धरौटीमा तारेखमा राखी मुद्दाको कारबाही गर्ने आदेश भएकोमा तारादेवी झाले धरौटी रकम बुझाउन नसक्दा उनी सहित सातै जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको थियो । घटनामा संलग्न अन्य दुई जना रञ्जित मिश्र र तेजनारायण झाको हकमा पक्राउ पुर्जी म्याद जारी गर्न आदेश दिएको थियो ।
महोत्तरी जिल्ला अदालतमा मुद्दा नं ०७७-सी १-०२७६ मा प्रतिवादीहरु विरुद्ध अपहरण, शरीर बन्धक, ज्यानसम्बन्धी कसुर, आपराधिक संयन्त्र, लागुऔषध र चोरी मुद्दाहरु ०७८ वैशाख ३ गते दर्ता भई मुद्दा चलिरहेको छ।




