जलेश्वर- महोत्तरीको बलवा नगरपालिका-१० मा गए राति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारत विहार राज्यको मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय प्रेमलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए।



बलवा-१० को धमौराबाट बनौटा जाँदै गरेको प्र २-०२-००२ प ३३७२ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका महतोलाई ठक्कर दिएको थियो। उपचारार्थ बर्दिबासस्थित ट्रमा सेन्टरमा लगिएकामा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो।
मोटरसाइकल चालक २२ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
परिक्रमा यात्रीको मृत्यु
मिथिलामा जारी पन्ध्र दिने माध्यमिकी परिक्रमा यात्राअन्तर्गत महोत्तरीको ध्रुवकुण्डमा लागेको मेलामा सोमबार एक तीर्थयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा मटिहानी नगरपालिकाको धिरापुरगाउँ निवासी ७० वर्षीय राजदेव मण्डल रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले बताए।




