काठमाडौं। नेपालका ३ दशमलव १ प्रतिशत परिवारले निजी कार चढ्ने पाइएको छ । तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ सालको जनगणना अनुसार २ करोड ९१ लाख जनसंख्यामा ३ दशमलव १ प्रतिशत परिवारले निजी कार र २७.३ प्रतिशत परिवारसँग दुई पाङ्ग्रे सवारी साधन छन्।
राष्ट्रिय जनगणना २०७८ को अन्तिम परिणामअनुसार नेपालमा कुल ६६ लाख ६६ हजार ९३७ परिवार संख्या छ। तथ्यांक नेपाल कार्यालयले ३.१ प्रतिशत परिवारमा निजी कार, जीप र भ्यान भएको जनाएको छ। अर्थात् देशमा २ लाख ६ हजार ६ सय ४६ परिवारसँग निजी कार, जीप र भ्यान रहेका छन् । साथै, २७.३ प्रतिशत परिवारमा दुई पांग्रे सवारी साधन भएको तथांकले देखाएको छ।



६६ लाख ६६ हजार परिवारमध्ये १८ लाख १९ हजार परिवारसँग दुइ पांग्रे सवारी छ । तर यो औसत अंकमा निकालिएको हिसाव भएकाले यति धेरै परिवारसँग दुई पांग्रे सवारी नहुन पनि सक्छ । त्यसैगरी, ३५ प्रतिशत परिवारमा साइकल प्रयोग हुने गरेको उल्लेख छ। नगरपालिकाहरुमा ४.१ प्रतिशतले निजी सवारी साधन प्रयोग गर्छन भने गाउँपालिकामा १.१ प्रतिशतले निजी कार प्रयोग गर्छन्।
सहरी क्षेत्रमा ३२.७ प्रतिशत र ग्रामीण क्षेत्रमा १६.२ प्रतिशतले दुईपांग्रे मोटर प्रयोग गर्छन्। सबैभन्दा धेरै कार बाग्मती प्रदेशमा छन् भने साइकल मधेस प्रदेशमा रहेका छन् । मधेश प्रदेशमा १.४ प्रतिशत घरपरिवारमा कार छन् भने ६७.४ प्रतिशत परिवारमा साइकलको पहुँच रहेको तथ्यांकले देखाएको छ।





