
चन्द्रकिशोर
एक दिन एउटा मान्छे भेडा डोर्याउँदै कतै जाँदै थियो । एउटा चोर उसको पछाडि लाग्दै गयो र मौका पाउनासाथ डोरी काटेर भेडा लिई भाग्यो । जब त्यो मान्छेले डोर्याइरहेको भेडा आफ्नो पछि नभएको चाल पायो, तब यताउता खोज्न थाल्यो । निकै बेर भौंतारिएर आखिरमा ऊ एउटा कुवाछेउ पुग्यो । त्यहाँ उसले निकै ठूलो संकटमा परेको झैं लाग्ने अर्को मान्छे भेट्यो । उसले सोध्यो, ‘तिमीलाई के भयो ?’
जवाफ आयो, ‘मेरो थैलो यो कुवामा झरेको छ । त्यसमा चाँदीका पाँच सय सिक्का छन् । यदि तिमीले कुवाबाट थैलो निकालिदियौ भने म सय सिक्का दिन्छु ।’ त्यो मान्छेले हत्त न पत्त आफ्ना कपडा फुकाल्यो र कुवामा हाम फालिहाल्यो । तत्कालै थैलोवाला मान्छे उसका कपडा लिएर भाग्यो । भेडा पनि उसैले चोरेको थियो ।
त्यस कथाका पात्रहरू नाम र अनुहार फेरेर बारा–२ को उपनिर्वाचनमा उपस्थित भएका देखिन्छन् । उही संस्कार र प्रवृत्तिको जगजगी छ । कुनै लोककथामा व्यक्त घटनाक्रमको बारा–२ मा पुनरावृत्ति हुन्छ नै भन्ने होइन, ज्यादा खतरनाक कुरो प्रवृति र संस्कारको हो । चुनावी रापताप अहिले बढ्दै गएको छ । तर प्रतिस्पर्धामा ओर्लिएका नेताहरूको संस्कार र प्रवृत्ति उस्तै छ भनेर ढुक्कसँग भन्न सकिन्छ । बारा–२ को चुनावी राजनीतिमा यसको झल्को भेटिन्छ । मतदाताले समसामयिक वस्तुस्थिति कत्तिको बुझ्लान् र विगतमा ठगिएको इतिहासबाट शिक्षा कत्तिको लेलान्, यो थाहा पाउन धेरै कुर्नुपर्दैन ।
मुख्य कुरा जनताको निर्णयको हो । समाजवादी चिन्तक प्रदीप गिरि भनिराख्नुहुन्थ्यो, ‘सामान्य समयमा सर्वसाधारण आफ्नो घरधन्दामा व्यस्त रहन्छन् । उनीहरू वीरता प्रदर्शन गर्न तम्सिँदैनन् । तर पर्दा एउटी गाईसमेत नवजात बाच्छाका निम्ति बाघसँग जुध्छे ।’ बारा–२ का आम मतदातामा आफ्नो हित–अहितको छनोट गर्ने अवसर आइपुगेको छ । जनताले सत्य बुझ्नुपर्छ । तथ्यलाई पीठो बनाउने खेला सुरु छ । थरीथरीका प्रचारबाजहरू आआफ्ना सुविधा अनुसारको रोटी बेल्न थालेका छन् । तिनको घेराबन्दीभित्र ‘सत्य’ भने हराउँछ । निर्वाचन भनेको विरूदावली, गुणगान वा बखान मात्र होईन । प्रशस्ति परम्पराको चुनावी प्रचार तन्त्रमा जनसमक्ष ‘देवता’ मात्र देखा पर्छ, जनमानसले आफ्नो कथा भेट्टाउँदैनन् ।
बोले बारा !
यतिखेर मुलुकका तीनवटा क्षेत्रमा उपनिर्वाचन हुँदै छ । तर यीमध्ये बारा–२ को चुनावी परिणाममाथि सबैको नजर छ । नेपालको राजनीतिमा मधेशको महत्त्व लुकेको छैन । नेपाली राजनीतिको नूतन आहान छ, ‘सिंहदरबारको बाटो मधेश प्रदेश हुँदै गुज्रिन्छ ।’ सबै प्रदेशको आआफ्नै तरिका र स्तरमा संघीय राजनीतिमा भूमिका देखिन्छ । संघमा सरकार जोसुकैको होस्, हरेकले मधेश प्रदेशको नाडी छाम्न चाहिरहेको हुन्छ । जनघनत्व एवं जनविविधताका दृष्टिले नेपालको सत्ता राजनीतिमा मधेश प्रदेश ‘सलादको कचौरा’ का रूपमा समेत चिनिन्छ । लोकतन्त्रमा जनसंख्याको त महत्त्व हुन्छ नै, यसको राजनीतिक रुझानले पनि अर्थ राख्छ । आम निर्वाचन सम्पन्न भएको लामो अवधि बितेको छैन । संघमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारले केही समयपहिले मात्र मधुमास पूरा गरेको छ । तर यसबीच उनलाई सहयोग गर्ने मुख्य दलहरू फेरिएका छन् । यो संघीय सरकारको जनपरीक्षणको अवसर पनि होइन, तर संघीय गठबन्धनका रणनीतिकारहरूका लागि महत्त्वपूर्ण बन्न पुगेको पक्कै हो ।
बारा–२ को उपनिर्वाचन संघीय गठबन्धनमा सम्बन्धलाई तौलने साबित हुन सक्छ । चुनावपछि सत्ता गठबन्धनका लागि जनता समाजवादी पार्टी (जसपा) तथा जनमत पार्टीमध्ये कोसँग दीर्घयात्रा हुने हो, तय हुन्छ । यस उपनिर्वाचनमा चिनिएका एवं चर्चित कैयौं उम्मेदवार मैदानमा छन् । तर जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत यसलाई जसपा अध्यक्ष उपेन्द्र यादवसँग सीधा प्रतिस्पर्धामा अनुवाद गर्ने भरमग्दुर कोसिसमा छन् । सप्तरीको सफलतापछि हौसिएका सीके प्रत्येक मोर्चामा ‘शह’ दिन चुक्दैनन् । पछिल्लो आम चुनावमा जसपाका तुलनामा जनमतको हैसियत कमजोर देखिए पनि सीके सधैं उपेन्द्रलाई ललकारिरहन्छन् । सीकेमा यो आत्मविश्वास उपेन्द्रलाई सप्तरीमा हराएर उब्जिएको हो, तर त्यति मात्रले उनी उपेन्द्रसँग सीधा चुनौती गर्दैनथे । मूल पक्ष के हो भने, २०६४ सालदेखि मधेश राजनीतिमा मूलतः दुई ध्रुव रहँदै आए— एउटा उपेन्द्र यादवको, अर्को महन्थ ठाकुरको । अहिले चुनावी राजनीतिमा महन्थ धार फिका भएको छ । महन्थको राजनीति अब ‘डेट एक्सपायर्ड’ मान्न थालिएको छ । आजको मधेश राजनीति उपेन्द्रको समर्थन वा विरोधको राजनीति हो । त्यसैले सीकेले आफूलाई मधेशको वैकल्पिक शक्तिमा दाबी गर्ने हाँक र हौसला देखाएका हुन् ।
आम निर्वाचनअघि र पछि अनेक रूप र रङका गठबन्धन देखा परे । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी मिलेर राजनीतिक रूपमा अघि बढ्ने घोषणा गरे । तर एक कदम नउचाल्दै फेरि आआफ्नो तालमा फर्किए । लोसपाले अहिलेको उपनिर्वाचनमा जसपालाई समर्थन गर्ने भयो । चुनावी परिणामले मधेश प्रदेशमा जसपा र लोसपाको सत्ता सहयात्राको बाटो खुलाउन सक्छ । यता जनमत पार्टीले अब्बल बन्ने मौका पायो भने आउने समयमा मधेशी राजनीतिलाई आफ्नो मर्जी अनुरूप ध्रुवीकृत गर्न खोज्नेछ ।
प्रधानमन्त्री प्रचण्ड र माधव नेपाल उपेन्द्रसँग आफूलाई बढि ‘कम्फर्ट फिल’ गर्छन् । नेपाली कांग्रेसभित्र एउटा यस्तो मत बाक्लिँदै छ जसले मधेश प्रदेशको डाडुपन्यु जसपाको हातमा दिन रुचाइरहेको छैन । त्यस्तो मत राख्नेहरूको तर्क हुने गर्छ— जसपालाई मधेश प्रदेशमा गठबन्धनका नाममा बढी हिस्सा दिनुको सोझो अर्थ आफू बसेको हाँगा काट्नुसरह हो । बारा–२ का लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना सबै गोटी चालेका छन् । उनले कांग्रेसीहरूमाझको स्थानीय हलह तथा मनमुटाव बिर्सिन निर्देशन दिएका छन् । यो चुनावमा कांग्रेसको मत जसपामा कत्तिको ट्रान्सफर हुन्छ, त्यसले कांग्रेस र जसपाको भावी सम्बन्ध निर्धारण गर्नेछ । एउटा कुरा जोडले भन्न सकिन्छ— मधेश प्रदेशमा एमालेले ‘रिभाइभ’ गरेको छ, त्यसैले बारा–२ मा उसले निरन्तरता चाहेको छ । मधेश प्रदेशको राजनीतिक मैदानको एक निर्णायक खेलाडीका रूपमा स्थापित हुन एमालेका लागि बारा–२ एउटा महत्त्वाकांक्षी खुड्किला मात्र हो । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेलको बर्दीको साखलाई सुस्तरी फैलाएर मधेशमा घण्टी बजाउने सपना देखेको छ । प्रभु साहले रौतहट–३ बाहेक शक्ति प्रदर्शन गर्ने अनुकूलता बारा–२ मै देखेका छन् । यसरी बारा–२ को चुनावी परिणाम अनेकौं सम्भावनामा टिकेको छ ।
मधेश राजनीतिको पाङ्ग्रो
आजको मधेश प्रदेशको भूगोलमा सवर्ण–वर्चस्वको राजनीतिलाई बिस्तारै किनारामा पुर्याउन माओवादी संघर्ष र मधेश आन्दोलन (उपेन्द्र यादवको रणनीतिक सुझबुझ) ले सम्भव भएको हो । आज मधेशमा जातीय संरचनामा पछाडि रहेकाहरू राजनीतिक नेतृत्वमा अगाडि आएका छन्, तिनमा आत्मविश्वास देखिएको छ । मधेश प्रदेश सरकारको नेतृत्व जुनसुकै दलले गरोस्, गैरसवर्णलाई अहम् भूमिका दिनैपर्छ । राजनीतिक संरचनाले गर्दा सामाजिक परिवर्तनका ढोकाहरू खुलेका छन् । उपेन्द्रसँग संगठन छ र छ राजनीतिक चतुर्याइँ । उनको उदय भएसँगै उनको पार्टी कैयौं पटक ‘एयर टर्बुलेन्स’ मा परिरह्यो, टुक्रिँदै गयो, विश्वासिला साथीहरूले छाड्दै हिँडे, तर पनि उनले पार्टीमा नियन्त्रणसँगै आफ्नो सान्दर्भिकता ज्युँदो राखिरहेका छन् ।
सप्तरीको चुनाव परिणाम प्रतिकूल भएसँगै उपेन्द्रले संघीय संसद्मा पुग्ने बाटाको खोजी गर्न थाले । उनले बारा–२ आफ्ना लागि बढी अनुकूल हुने ठाने । त्यो सिट खाली गराउन उनले उपराष्ट्रपति पदमा जसपाको दाबेदारी प्रस्तुत गरे । सुरुआती गठबन्धनमा त्यो सम्भव भएन, त्यसैले त्यति बेला उनले दललाई संघीय सरकारमा पठाएनन् । तर बुद्धिमत्ता देखाउँदै उनले सरोजकुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाए । त्यो बेला पनि उनको नजरबाट बारा–२ ओझेलमा परेन । सरोजले बारा जिल्लाकै प्रतिनिधित्व गर्छन् । जब संघीय गठबन्धनमा फेरबदल भयो, जसपाले उपराष्ट्रपति पद पायो, जहाँ बारा–२ का निर्वाचित प्रतिनिधिसभा सदस्य रामसहाय यादवलाई पुर्याएर उपेन्द्रले आफ्ना लागि बाटो खोले । विगतको चुनावी गणितको सूक्ष्म अध्ययन गरेर उनले स्थानीय जातीय एवं राजनीतिक समीकरण व्यवस्थापन गर्न ढिलाइ गरेनन् ।
उपेन्द्रले सप्तरीमा पराजित हुँदा पनि जसपालाई आफ्नो सर्तमा अगाडि बढाए, जुन उनको दलमाथिको कठोर नियन्त्रणको परिणाम हो । उनी आफूलाई मार्केटिङ गर्न जान्दछन्, यही कारण उनी टिकिरहेका छन् । यसै खुबीले उनी आफ्ना समवयी नेताहरूलाई धकेल्दै जसपामा सर्वेसर्वा बनिरहेकै छन् । अहिले प्रचण्ड सरकारमा एक जना मन्त्री मात्र पठाएका छन्, बाँकी आकांक्षीहरूको सूची खल्तीमा राखेका छन्, जुन उपेन्द्रको बारा–२ जित्ने किल्लाबन्दीकै एउटा तुरूप हो । राजनीतिक कौशल, वक्तृता र केही चमत्कारका आधारमा चुनावलाई अनुकूल बनाउने ध्येय उनमा देखिन्छ ।
सीकेका प्रत्याशी यसअघि थोरै मतान्तरले पराजित भएका थिए । शिवचन्द्र कुशवाहा चुनावको मुखमा जनमत पार्टीमा आएका हुन् । शिवचन्द्रलाई भित्र्याउनुलाई सीकेको ‘ब्रिलियन्ट’ निर्णय मानियो । सीकेले यसअघि पनि आफ्नो छविकेन्द्रित चुनाव लडे । यस पटक पनि जितहारको श्रेय उनी आफैंले लिन चाहेका छन् । यही रणनीतिका कारण उनी बारा–२ को चुनावमा सीके भर्सेस उपेन्द्रको मनोविज्ञान खडा गर्न खोज्दै छन् । त्यसका लागि उनले समानान्तर ‘कास्ट इन्जिनियरिङ’ बनाउने कार्यशैली अपनाएका छन् । बारा–२ को आजको अवस्थालाई बुझ्न पहिलो संविधानसभादेखि नै मधेशको चुनावी राजनीति र त्यसमा टुँसाएको कास्ट इन्जिनियरिङको मिहिन विश्लेषण गर्नुपर्ने हुन्छ । सीकेले यस उपनिर्वाचनलाई एउटा आधाररेखा बनाएर यसपश्चात्को मधेशी राजनीतिलाई आफूले प्रतिनिधित्व गर्ने चाहना राखेका छन् ।
चुनावमा जितहार त हुन्छ नै, चुनावी राजनीतिको आफ्नै व्याकरण हुन्छ । बारा–२ का सरोकार र बाह्य सवालहरू कसरी थेग्रिँदै जान्छन् ? आन्तरिक प्रतिस्पर्धामा रहेका पात्रहरू र स्थानीय निर्णायक पात्रहरू अन्तिम प्रहरमा केकस्तो तालमेल गर्छन् ? यसबाट मतादेश प्रभावित हुनेछ ।
अनेक थरी बाजा, अनेक थरी ताल । अप्रत्याशित परिणाम आउने भनेर ज्योतिषी बन्नेमा स्थानीय बासिन्दाभन्दा बढी बाहिरिया छन् ।
बेवारिसे परिवर्तन
जसले जिते पनि चुनावी राजनीतिमा परिवर्तनका एजेन्डाहरू बेवारिसे बनेका छन् । अमुक प्रत्याशीले जिते मधेशले जित्छ भन्न सकिने अवस्था छैन । सत्ताको गोलचक्करमा छिरेपछि मधेशी एजेन्डाको बाह्रखरी बिर्सिने गरिएको छ । दक्षिणपन्थी शक्तिहरू मधेशी पहिचानलाई भुङ्ग्रोमा हाल्न सक्रिय हुँदै गएका छन् । मधेश आन्दोलनसँग साइनोको दाबी गर्नेहरू जति उफ्रे पनि आखिर सोह्रबुँदेकै मतियारहरूको पुच्छर समात्न पुग्ने हुन् । नयाँ वा पुराना भन्ने चिनारी फगत पहिचानका लागि हो, नत्र भने मधेशको कोणबाट हेर्दा सबैको चाल र चरित्र उस्तै छ । सिट खाली भएपछि उपनिर्वाचन हुनुपर्ने थियो, हुँदै छ । मधेश प्रदेशको मुख्यमन्त्रीमा पालैपालो विभिन्न चेहरा देखिएलान्, संघीय सरकारमा मरिहत्ते गरे उपप्रधानमन्त्रीसम्म बन्ने मौका मिल्ला, तर यस पटक धेरै उत्साहित हुनुपर्दैन । मधेश आन्दोलनको वैधतामाथि तेजाब हाल्नेहरू यही धरतीका सन्तति हुन् । मधेश प्रदेशको जीवनमा टर्बुलेन्सको क्रम रोकिनेछैन । मधेश आन्दोलनसँग जोडिएका आवेग, आशा र उमंग सत्तारोहणको दौडमा धूलोभित्र हराउँदै गएका छन् ।-कान्तिपुरबाट