
महोत्तरी - दिनेशराम महरालाई चिन्नेहरूले ‘भगवान् बनाउने मान्छे’ भनेर बोलाउँछन्। उनलाई अलिअलि अप्ठ्यारो पनि लाग्छ। ‘मैले भगवान् बनाएको हो कि हामीलाई भगवान्ले बनाएका हुन् ? तर, मलाई भगवान् बनाउने मान्छे भन्न थालेका छन्,’ उनी भन्छन्।
४० वर्षदेखि विभिन्न भगवान्का मूर्ति बनाउँदाबनाउँदै कहिलेकाहीँ त मान्छेले ठिकै भने जस्तो पनि लाग्छ रे दिनेशरामलाई। महोत्तरी, धनुषादेखि सप्तरीसम्मका मन्दिरमा दर्शन गर्न जाँदा आफैँले कुँदेका भगवान्का मूर्तिहरू देख्दा उनलाई ती भगवान्का मूर्ति आफूले बनाएकामा गर्वसँगै प्रश्न उब्जिरहन्छ । भन्छन्, ‘मन्दिरमा पुग्दा सधैँ लाग्छ– आखिर भगवान् कसले बनायो ?’
महोत्तरीस्थित गौशालाको कालीपुर मन्दिर होस् या औरहीको सोनामाई मन्दिर, त्यहाँ पुगेपछि दिनेश निकैबेर टोलाउँछन्। आफैँलाई पटक–पटक प्रश्न गर्छन्, ‘भगवान्को मूर्ति त मैले बनाएँ । तर, भगवान् चाहिँ कसले बनायो होला ?’
दिनेशलाई मन्दिर र आस्था सामान्य लाग्छ। औरही नगरपालिका–२ मा स्थायी बसोबास गर्ने उनको पुख्र्यौली पेसा नै भगवान्को मूर्ति बनाउने हो। उनका हजुरबा र बुबा पनि सोही पेसामा थिए। दिनेशरामले मधेसका प्रसिद्ध मन्दिरहरूमा भगवती र देवीदेवताको मूर्ति बनाएका छन। यति मात्र होइन, उनले धार्मिक जात्राहरूमा कलाकृतिकै माध्यमबाट कुशल ढंगले ऐतिहासिक ग्रन्थहरूको वर्णनसमेत गर्छन्।
उनले भगवान् अर्थात् धर्मलाई कर्तव्य, अनुशासन, पहिचान, अस्तित्व र जीवनको आधारका रूपमा बुझेका छन् । ४० वर्षमा उनले सयौँ मुखाकृति भएका भगवान्का मूर्तिहरू बनाएका छन् । धार्मिक चाडपर्व तथा उत्सवहरूमा दिनेशरामको नै खोजी हुन्छ । ‘भगवान् बनाएर बेच्छु अनि जीविकोपार्जन भइरहेको छ,’ उनी भन्छन्।हिन्दु धर्ममा शिवदेखि अनेकन देवीदेवता हुन्छन् भन्ने विश्वास गरिन्छ। यसैले पनि पुर्खादेखि आफ्नो पुस्तासम्म आइपुग्दा जीविकोपार्जनको गतिलो माध्यम मूर्ति बनाउने कलाकारिता बनेको दिनेशरामको बुझाइ छ ।
अझ मिथिलामा त राम–सीतालाई निकै ठुलो आस्थाको धरोहरका रूपमा मानिन्छ, जसलाई दिनेशरामले मूर्तिको माध्यमबाट कथामा उतार्ने गरेका छन् । मूर्तिकारितामा दिनेशरामको नाम मधेसमा विशिष्ट बनेको छ। ‘जुनसुकै भगवान् बनाउन अर्डर गर्न आए तुरुन्तै बनाइदिइहाल्छु,’ उनले हाँस्दै भने । दिनेशरामले धेरैजसो विश्वकर्मा बाबा, दुर्गा, काली, हनुमान, सीता, राम, जनक र विभिन्न भगवतीहरूको मूर्ति बनाएका छन्।
आफूले बनाएका मूर्तिले मानिसको आस्था, आशा र मनोकांक्षा पूरा हुन्छ कि हुँदैन, त्यो त दिनेशरामलाई थाहा छैन, तर मानिसको श्रद्धा देख्दा भने निकै सन्तुष्टि प्राप्त हुने उनको अनुभव छ। माटोको मूर्तिमा परिकल्पना गरेर कुँदिएका अनेकौँ भगवान्को स्वरूप बनाइरहँदा दिनेशरामको मनमा खड्किरहन्छ, मान्छेको मनोकांक्षा चाहिँ कुन भगवान्ले सुन्छन् होला ?
आफैँले बनाएका मूर्तिहरूसमक्ष गएर जब हजारौँ मानिस टाउको ठोकी–ठोकी समस्या सुनारहेका हुन्छन्, तब उनलाई लाग्छ– वास्तवमै रहस्य चाहिँ छ। उनी थप्छन्, ‘कहिलेकाहीँ मूर्तिमा पूजा गरिरहेका मानिसलाई सोध्छु– तपाईंले के माग्नुभयो ? उनीहरूको जबाफ हुन्छ, अहिलेसम्म मागेको पाइरहेका छौँ ।’
कहिलेकाहीँ दिनेशराम परिकल्पना पनि गर्छन् कि यदि मानिसभित्र धर्म र आस्था भएन भने के हुन्छ होला। दिनेशरामलाई भौतिकवादीहरू अपराध कर्ममा उन्मुख भइरहेको लाग्छ । ‘अध्यात्मवादीहरू कहिल्यै अपराध गर्दैनन् । किनकि उनीहरूलाई भगवान्प्रतिको डर हुन्छ,’ उनले मूर्तिकारिताको अनुभवको सार सुनाए।
अहिले औरही नगरपालिकामा विराट् मेला लागिरहेको छ । हरेक ५÷५ वर्षमा लाग्ने यो मेलामा मूर्तिको माध्यमबाट नै राम र सीताको कथा प्रस्तुत गरिन्छ। र, यी मूर्ति पनि दिनेशरामले नै बनाइदिएका हुन् । यसबापत उनले १ लाख ५० हजार रूपैयाँ पारिश्रमिक लिएका छन्।