
रणधीर चौधरी- नेपालको संविधान २०७२ जारी भएसँगै नेपाल स्वतन्त्र अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, ‘धर्मनिरपेक्ष’, समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बन्यो । संविधान घोषणा हुनुभन्दा पहिला नेपाल विश्वमा एकल हिन्दू राष्ट्रको रूपमा परिचय थियो/बनाइएको थियो । संविधानमा धर्मनिरपेक्षता शब्दलाई कोष्ठक ‘()’ मा परिभाषित गर्दै ‘सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण’ भनी व्याख्या गरिएको छ । व्याख्याले मूलतः हिन्दू, बौद्धजस्ता धर्मको संरक्षणलाई केलाउन खोजेको हो ।
पछिल्लो जनगणनाको रिपोर्टमा धर्मसम्बन्धी विवरण सार्वजनिक गरिएको छैन । २०६८ को जनगणना अनुसार नेपालमा हिन्दू धर्म मान्नेको संख्या ८१.३ थियो भने बौद्ध धर्म पछ्याउने ९, मुस्लिम ४.४ र इसाई १.४ प्रतिशत थिए । नेपालले धर्मनिरपेक्षताको संवैधानिक आवरण ग्रहण गरेदेखि नै यो शब्दलाई लिएर आपत्ति र विमतिका स्वरहरू उठ्न थालेका थिए । निरपेक्ष शब्दको अर्थ सामान्यतया कुनै कुराप्रति वास्ता नराख्ने भन्ने बुझिन्छ ।
अंग्रेजीमा धर्मनिरपेक्षताको लागि ‘सेकुलारिजम’ शब्दको प्रयोग गरिएको पाइन्छ । जसको अर्थ धार्मिक वा आध्यात्मिक मामिलासँग जोडिएको बुझ्न सकिन्छ । भनिन्छ कुनै पनि धर्म राजकीय हुँदैन । राजकीय स्तरमा धर्मको विरोध नगर्नु धर्मनिरपेक्षता हो । साथै राज्य र धर्मको कार्यक्षेत्र फरक फरक हुन्छ र एक अर्काको पथमा कुनै अवरोध सृजना गर्दैन । प्रत्येक नागरिकलाई धार्मिक स्वाधीनता प्राप्त हुन्छ ।
व्यापकतामा नियाल्दा एउटा धर्मतन्त्र (थियोक्रेसी) राज्य हुन्छ । जसको प्रमुख विशेषता पुरै धर्मको कन्ट्रोलमा हुन्छ । अर्थात् धर्मग्रन्थलाई संविधानको मान्यता दिन्छ । धर्मप्रमुख कुनै राज्यको प्रमुख छ भने त्यो धर्मप्रमुखमै पर्छ । धार्मिक विशेषाधिकार देखाइदिन्छ । जस्तै, भेटिकनसिटी जो इटलीको राजधानी रोमसँग जोडिएको छ र त्यहाँ क्याथोलिक क्रिचनको पोप राष्ट्राध्यक्ष हुन्छ । यो धर्मतन्त्रको उच्चतम नमूना हो । तिब्बतलाई पनि ‘थियोक्रेसी’अन्तर्गत राखिन्छ । दलाई लामा एउटा पदवी हो जसले बुद्धधर्मको मानकका आधारमा राज्य चलाउँदै आएको छ ।
ग्रिसको यूनानमा माउण्ट एथोस, परम्परागत इशाइहरूले देश चलाउँदै आएका छन् जुन क्रिश्चियन पुरुषहरूको हालीमुहाली रहेको देश हो । इरानको अवस्था पनि यस्तै रहेको छ । १०७९ मा इस्लामिक क्रान्ति हुनभन्दा पहिला इरान एउटा सेकुलर राज्य थियो । आयातुल्ला खुलानीको नेतृत्वमा इस्लामिक क्रान्ति पश्चात यो धार्मिक राज्य हुन गयो । कुरान र सैरियतलाई संविधानको दर्जा छ । त्यहाँ संविधानतः संसद्ले कुनै बिल पास गर्दा धर्म गुरुकोमा जान्छ र प्रमाणीकरण गरिन्छ । आयातुल्ला पश्चात पनि त्यहाँ अली खमेनी नामक धार्मिक व्यक्ति अहिले उक्त पदमा छ । उनीसँग भिटो पावर हुन्छ । विश्वमा यस्ता थुप्रा उदाहरणहरू छन् ।
धर्मनिरपेक्षताका सवालमा गम्भीर बहस आवश्यक छ । संविधान मान्दिनँ तर, धर्मनिरपेक्षता ठीक छ भन्नेहरू र धर्मनिरपेक्षताबाहेक संविधानमा सबै ठीक देख्नेहरू भ्रान्तिबाट बाहिरिनु जरुरी छ ।
त्यसैगरी अर्को हुन्छ धर्मप्रभावित राज्य । यो धर्मतन्त्रभन्दा अलि लचिलो हुन्छ । यसमा संविधान हुन्छ र साथै राज्यमा कुनै धर्मको विशेष प्रभाव । यसमा अमुक धर्ममान्ने नागरिकले विभिन्न प्रकारको सुविधा (प्रिभिलेज) पाउने गर्छ । उक्त धर्मका नेताहरूलाई विशेष अधिकार हुन्छ । धर्मको ढाँचा भन्दा संविधानको ढाँचामा फरक देख्नेहरू हुन्छन् ।
नेपालमा हिन्दू धर्मको ‘कथित–राज्यकरण’ गर्ने पृथ्वीनारायण र संवैैधानिकरण गर्ने राजा महेन्द्र र उनका सन्तानहरूले पनि अन्य धर्ममाथि कुनै कठोरता राखेको देखिँदैन । नारायणहिटी दरवारनजिकै जामा मस्जिद बनाउनदिनु त्यसको संकेत हो । इसाई बाहुल्य भएका धेरै देशहरू धर्म प्रभावित रहेको छ । स्केन्डेभियन देशहरू धेरै विकशित र उन्नत देशहरू छन् र त्यहाँ पनि राजकीय धर्म छ । जस्तै डेनमार्कमा चर्च अफ डेनमार्क राजकीय धर्म छ । नर्वे, स्वीडन, फिनलेण्डहरूले आफ्नो देशको चर्चलाई खुलेर मान्यता दिन्छ । कानूनी मान्यतासमेत दिनेगर्छ र यो एउटा खुला सत्य हो ।
बेलायतको राजा वा रानी चर्च अफ इंगल्याण्डको अभिभावक हुन्छ । इस्लामिक ५० भन्दा आधिक इस्लामिक देशहरूमध्ये अधिकतम १० देश धर्मनिरपेक्ष होला । बाँकी सबै धार्मिक स्टेट हुन् । पाकिस्तान, बंगलादेशहरूले संविधानमै इस्लामिक स्टेट उल्लेख गरेको छ । ब्रुनाई, साउदी अरब, इराक, मिडील इस्टका देशहरू धर्मबाट अधिक्तम प्रभावित रहँदै आएको छ । विश्वमा बौद्ध धर्मबाट प्रभावित देशहरू धेरै छन् । भुटान, कम्बोडिया, श्रीलंकाहरूमा बौद्ध धर्मको व्यापक प्रभाव छ । लाओसमा पनि बौद्धको प्रभाव छ । त्यसैगरी इजराइललाई यहुदी देशको रूपमा चिनिन्छ । संविधानमा नलेखिएको भए पनि यहुदीहरूलाई विशेषाधिकार दिइएको भान हुन्छ । विश्वमा कुनै पनि यहुदीले इजराइलको नागरिकता लिन चाहेको छ भन्ने निजले सजिलै नागरिकता पाउँछ । त्यहीँ अन्य धर्ममान्नेहरूको हकमा त्यस्तो लचकता छैन ।
नेपाल कोष्ठभित्रको धर्मनिरपेक्ष राष्ट्र बनाइएदेखि राष्ट्रियस्तरमा मतैक्यताको खाँचो देखिएको छ । बहुसंख्यक हिन्दू नेपालीले धर्मनिरपेक्षताको विरोध गर्नु सामान्य हुनसक्छ । तर देशका बौद्धिक समाजको ठूलो हिस्सा दक्षिणपन्थी र वामपन्थी कित्तामा उभिएको देखिन्छ । नेपालका प्रायः दलका केही नेताहरूले ‘नेपाल हिन्दू राष्ट्र भएकै राम्रो’ भनी सार्वजनिकरूपमा बोल्दै आइरहेका छन् । चर्चको संख्या बढ्ने नेपालमा हिन्दूवादी संगठनहरूको सक्रियता बढ्नु स्वाभाविक हो । अहिले नेपालमा धार्मिक संवेदनशीलता (रिलिजियस सेन्सीटीविटी)का आयामहरू बढ्न थालेका छन् । देशको राष्ट्रप्रमुख वा सार्वजनिक ओहदाका व्यक्तिहरू राजकीय प्रोटोकलमा रहँदा पशुपतिनाथको दर्शन गरुन् वा धार्मिक समारोहमा सभागिता जनाउन्, दुई खालको प्रतिक्रिया आउने गर्छ ।
पहिलो, फरक धर्म पछ्याउने नागरिकले राज्यलाई तिरेको करबाट सुविधाभोग गरेर कुनै विशेष धर्मिक क्रियाकलाप गर्नु हुँदैन । अर्को समूह छ जसले केपी शर्मा ओलीजस्तै पुष्पकमल दाहालले पनि पशुपतिनाथमा जलहरी चढाएको देख्न चाहन्छन् । नेपालमा सक्रिय रहँदै आएको सनातनी संगठनहरूले धर्मान्तरणको विरोध जनाइरहेका छन् । नेपालको सन्दर्भमा धर्मनिरपेक्षताबारे कतिले जनमतसंग्रह गराउनुपर्ने माग गरिरहेका छन् । बढ्दै गरेको धार्मिक क्लेशका सम्भावित आयामहरूमा दलका जिम्मेवार ओहदामा बस्ने नेताहरू धार्मिकरूपमा जति सक्रिय छन् त्यति नै मौन पनि ।
अन्त्यमा, अमेरिकी राजनीतिक वैज्ञानिक स्यामुएल फिलिप्स हन्टिङटनले आफ्नो पुस्तक ‘दि क्लायश अफ सिभीलाइजेशन’ मा भनेका छन्, ‘अधिकांश धार्मिक पहिचानमा आधारित सभ्यताहरू भ्विष्यमा द्वन्द्वको बढ्दो महत्वपूर्ण स्रोत बन्नेछ । सभ्यताको पहिचान धेरै बलियो भएकोले ‘वल्र्ड कल्चर’को कुनै सम्भावना हुने छैन ।’ जुन पुस्तकलाई शीत युद्ध पछिका नयाँ विश्वव्यवस्ताको सन्दर्भमा सबैभन्दा बढी परिचित मानिन्छ ।
नेपाल जस्तो देशमा धार्मिक कलह बढ्नु भनेको दरिद्रतालाई झन् बढावा दिनु हो । नेपाल ऋण, अनुदान र आयातमा चल्ने देश भए पनि योसँग एकथान संविधान छ । संविधानको प्रस्तावनामा लेखिने र देखिने उपल्ब्धीहरू कार्यान्वयनको आधारमा मात्र यसले आवश्यक सहयोग प्राप्त गर्न सक्नेछ । अतः धर्मनिरपेक्षताको सवालमा राजनीतिक दलका नेतादेखि बुद्धिजिवी कित्तामा गम्भीर बहसको विषय बन्नुपर्यो । संविधान पनि मान्दिनँ तर धर्मनिरपेक्षता ठीक छ भन्नेहरू र धर्मनिरपेक्षता बाहेक संविधानमा सबै ठीक देख्ने ‘हलाल–तर्क’ जस्तो भ्रान्तिबाट बाहिरिनु जरुरी छ ।