जनकपुरधाम- धनुषा प्रहरीले स्रोत नखुलेको २० लाख रूपैयाँसहित जनकपुरधामबाट एक हुण्डी कारोवारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सितामढी ग्राम पञ्चायत मनपुर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–६ मा डेरा लिएर बस्दै आएका २५ वर्षीय रन्धिर ठाकुर रहेका छन् ।
ठाकुरलाई विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र जानकी प्रहरी चौकीबाट खटेको संयुक्त प्रहरी टोलीले सोमबार बिहान ९ बजे जनकपुरधाम–६ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
ठाकुरलाई चेकजाँच गर्दा हरियो झोला भित्र स्रोत नखुलेको नेपाली २० लाख रूपैयाँ फेला परेको डीएसपी गौतमले बताए ।
पक्राउ परेका उनलाई नगद सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।




