जनकपुरधाम- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा कार्यरत करारका कर्मचारीहरु बुधबारदेखि धर्नामा बसेका छन् ।
नगरपालिकाले २०७४ सालपछि नियुक्त भएका करारका कर्मचारीहरुलाई साउन देखि अर्को सुचना नआए सम्म हाजिरी नगर्नु भनेर सुचना जारी गरेका थिए । यद्यपी करारका कर्मचारीहरुलाई कामकाज गर्न रोक लगाएका थिएनन् ।



सोही पालिकामा विगत ६ वर्षदेखि कार्यरत करारका कर्मचारी जमिल अख्तरले राजनीतिक पूर्वाग्राही रुपमा आफूहरुमाथि विभेद भएको बताए । कार्यपालिकाले करारका कर्मचारीलाई करार अवधि नथपेपछि आफूहरु बाध्य भएर धर्नामा बसेको उनले बताए ।

उनले नगर प्रमुख सुखदेव यादव र प्रमुख प्रशासकिय अधिकृत सिवेन्द्र मण्डल मिलेर फरक आस्था भएका कर्मचारीलाई विनाकारण हटाइएकोप्रति ध्यानाकर्षण गराउँदै माग पूरा नभएसम्म धर्ना यथावत राख्ने बताए ।
बुधबार पहिलो दिन कर्मचारीहरु बिहान १० देखि ३ बजेसम्म धर्नामा बसेका थिए । बिहीबार भने बिहान १० देखि ४ बजेसम्म धर्नामा बस्ने उनले बताए ।
नव निर्वाचित मेयर सुख देव यादवले कार्यपालिकाको निणर्य बिना नै मौखिक आदेशमा तत्तकालिन नियमित प्रमुख प्रशासकीय अधिकृत प्रमोद घिमिरे मार्फत नयाँ आर्थिक वर्ष साउनमा एक सुचना जारी गर्दै अर्को सुचना नआएसम्मको लागि करार र दैनिक ज्यालादारीका कर्मचारीहरुलाई हाजिरी नगर्नु भनि भनिएको थियो । तर सुचनामा म्याद थप नहुने वा कामकाज नगर्नु र बरबुझारथ नगर्नु जस्ता कुनै कुरा उल्लेख नगरिएको पीडित कर्मचारीहरुले बताए ।
पीडित कर्मचारीहरुले कामकाज गर्दै गईरहेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत कन्हैया मिश्रा हाजिर भइसकेपछि उनले सबै कर्मचारीहरुको नियमानुसार म्याद थप गरिदिएको स्वास्थ्य शाखामा करारमा कार्यरत कर्मचारी राजन साहले बताए।
उनले म्याद थप गरेर कामकाज गर्ने सम्बन्धमा सम्झौता पत्र दुबै तर्फको हस्ताक्षर समेत गरिएको भए पनि दश महिना देखि मेयर यादवको आदेशमा तलब रोकिएको बताए।
पीडित कर्मचारीहरुले भने, “कि त सुरुमा नै कामकाज नगर्नु बरबुझारथ गर्नु भनि दिएको भए आफूहरु सुरुमा आ-आफ्नो बन्दोबस्तमा लाग्ने थियौं तर त्यस्तो नभनेर कामकाज गर्दै जानु पछि मिलाउने भन्दै १० महिना देखि कामकाजमा लगाएर अहिले सम्म तलब उपलब्ध गराएका छैनन् ।”
पालिकामा विगत ६ वर्षदेखि कार्यरत करारका कर्मचारी जमिल अख्तरले राजनीतिक पूर्वाग्राही रुपमा आफूहरुमाथि मेयर यादवले विभेद गरेको आरोप लगाए ।
त्यसैगरी पालिकामा संघीय सरकार मातहतका विभिन्न आयोजनामा कार्यरत कर्मचारीहरुलाई समेत साधारण करारका कर्मचारी संगै मुछेर काममा अवरुद्ध गर्नुको साथै उनिहरुको समेत तलब भत्ता रोकेर राखेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलाय अन्तर्गतका गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)का कर्मचारी जितेन्द्र महराले आफूहरु जस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतका प्रधानमन्त्री रोजगार कार्यक्रम, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सुचना प्रविधि शाखा र गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका एमआइएस अपटेरहरु, कृषि मन्त्रालय अन्तर्गतका कर्मचारी लगायतका कर्मचारीहरुलाई समेत तलब रोकेर कामकाज प्रभावित गरेको बताए ।
संघीय सरकार मार्फतका आयोजनाहरुको कामकाज प्रभावित हुँदा नगरका जनताको लागि आएको बजेट करिब ३ करोड रुपैयाँ फ्रिज हुने अवस्था रहेको छ।
मेयर यादव सहित नव निर्वाचित जनप्रतिनिधिहरुको एक वर्षको कार्यकाल विते पनि जनताको लागि कुनै काम गर्न सकेको अवस्था छैन। नगरको भएभरको सबै जनताको नाममा आएका संघीय र प्रदेश सरकारको सशर्त अनुदानको करोडौं बजेट फ्रिज हुने अवस्था रहेको छ भने विकासको बजेट समेत फ्रिज हुने अवस्था रहेको छ।
करारको अवधी हुँदाहुँदै कर्मचारी नै नराखेको बताउँदै अधिकृत शिवेन्द्र मण्डलले तलब खुवाउन नमिल्ने बताएको आरोप छ । नयाँ स्थानीय सरकारका जनप्रतिनीधिहरुले करारका कर्मचारीहरुलाई साउन देखि नै बिना तलब भत्ताको काम गराउँदै आएका छन् ।
“बरु हामी हाम्रो करार अवधि सकिएपछि काम नगरौला तर अहिले गरेको कामको त तलब भत्ता उपलब्ध गराउनु परो नि , करार नियुक्ती र अवधी हुँदाहुँदै तलब नदिनु नियतवंश मात्र हो । हामीले काम गरेको अवधीको तलब त पाउनुपर्यो नी ?”- एक कर्मचारीले भने ।
कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय धनुषामा समेत ज्ञापन पत्र बुझाएका छन् ।
यता ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता बापतको तेस्रो र चौथो किस्ताको रकम समेत अहिलेसम्म उपलब्ध गराउन नसकेको अवस्था रहेको छ ।
जेष्ठनागरीकहरुले पनि आफूहरुको समाजिक सुरक्षा भत्ता निश्चित अवधि भित्र उपलब्ध गराउने सुनिश्चित नभएसम्म आन्दोलन गरिरह्ने बताएका छन् ।




