काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीका पाँच जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।
आजको बैठकले विसं २०७९ मङ्सिरमा सम्पन्न भएको निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार छानबिन समितिको प्रतिवेदनको सिफारिसअनुसार पाँच जनलाई पार्टीबाट निष्काशन गरिनुका साथै पार्टीका केही केन्द्रीय नेताहरूलाई नसिहत दिने निर्णय भएको छ । कारबाहीको निर्णयउपर चित्त नबुझेमा सम्बन्धित व्यक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिनसक्ने सो पार्टीले जनाएको छ ।
यसैगरी आजको बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको छ । उक्त अनुमोदित विधानको मस्यौदा भोलि आइतबारदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने जनाइएको छ ।




