जनकपुरधाम - जननेता मदन भण्डारीको बहुदलीय जनवादको सिद्धान्त अहिले पनि मुलुकका लागि उपयोगी रहेको जनकपुरधाममा आज आयोजित कार्यक्रममा सहभागीहरूले बताउनुभएको छ ।
राष्ट्रिय जन सांस्कृतिक महासङ्घले मधेश प्रदेशको आयोजनामा जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीको अवसरमा “जननेता मदन भण्डारी र बहुदलीय जनवाद” सम्बन्धी सङ्गोष्ठीमा सहभागी वक्ताहरूले सो कुरा बताउनुभएको हो ।
वक्ताहरूले स्वर्गीय मदन भण्डारीको बहुदलीय जनवादको सिद्धान्तले विश्वका कम्युनिस्टहरू तरङ्गित भएको बताउँदै जनताको बहुदलीय जनवादको सिद्धान्तमा मुलुक हिँड्न सके देश समृद्धि र विकासको पथमा जाने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका नेकपा एमालेका संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले जननेता मदन भण्डारीको जनतामुखी सिद्धान्तमा चल्न तयार रहेको बताउँदै जनताको पक्षमा विना कुनै लोभलालच काम गर्ने बताउनुभयो ।
एकीकृत समाजवादी पार्टीका नेता शीतल झाले जनताको बहुदलीय जनवाद देशका लागि महत्वपूर्ण भएको बताउँदै सिद्धान्त प्रतिपादक भण्डारीको हत्याको हालसम्म छानबिन किन नभएको भनी प्रश्न गर्नुभयो ।




