महोत्तरी- बर्दिबास नगरपालिका ३ स्थित श्री जनता माध्यमिक विद्यालयले बर्दिबास गौरीडाँडामा आयोजना गरेको शिक्षा सम्मेलन २०८० को उद्घाटन कार्यक्रममा गृहमन्त्री श्रेष्ठले भ्रष्ट, अपराध, तस्करी, बेतिथिमा संलग्न सबैलाई कानुनको दायरामा ल्याइने स्पष्ट पारेका छन् ।
सरकारले शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी जस्ता ठुला घटनाको स्वच्छ, स्वतन्त्र रुपमा अनुसन्धान गरी घटनामा संलग्न र दोषी कोही कसैलाई पनि नछोड्ने उनले बताए।



उनले भने, ‘अहिले भ्रष्टाचार र बेथिति विरुद्ध ठूल्ठूला अभियानहरु सरकारले सञ्चालन गरिरहेको छ। नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणसहित सबै प्रकरणको स्वतन्त्र र स्वच्छ अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न पहलकदमी अगाडि बढाएका छौं। यस्ता कदमले विश्राम लिनेवाला छैन। अब पुग्यो भनेर सरकार बस्दैन।’
कसैले अब सरकार चुप बस्छ भनेर आशा गरेको भए त्यो नहुने मन्त्री श्रेष्ठको भनाइ थियो। उनले भ्रष्टाचारी, कमिसनखोर, तस्करी र अपराधीहरुकोविरुद्ध आफू अन्तिम बिन्दूसम्म अगाडि बढ्ने दाबी गरे।
साथै उनले प्रतिपक्षीतिर लक्षित गर्दै जसले भ्रष्टाचार र तस्करीविरुद्ध अभियान चलाइरहेको उसले नै पद छाडिदिनुपर्यो भनेर कोही कराइरहेको बताए।
‘ठान्नुभएको होला छाड्दिएदेखि त अब अरु तस्करी, भ्रष्टाचारी, बेथिति र विकृतिको डंगुर फेरि लगाउन पाइन्थ्यो। अहिलेको छानबिन प्रक्रिया रोकिन्थ्यो ठानेर कसैले भन्नुभएको छ भने म निवेदन गर्छु। त्यो दिन आउनेवाला छैन।’
मन्त्री श्रेष्ठले कसैलाई सहज बनाउनका लागि आफूहरुले अभियान र पद नछाड्ने जिकिर गरे। ललिता निवास, भुटानी शरणार्थी प्रकरण र सुन तस्करीबारे अन्तिमसम्म छानबिन गर्ने उनको भनाइ थियो।
उपप्रधानमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा गुणात्मक सुधार ल्याउन सके अर्थतन्त्र सुदृढ हुने बताउनुभयो । सरकारले व्यावसायिक र रोजगारमूलक शिक्षामा जोड दिइरहेको उहाँको भनाइ छ ।




