
महोत्तरी - महोत्तरीको मठिहानी नगरपालिकामा आयोजना गरिएको नागरिक अभिनन्दन कार्यक्रम सहभागी हुन उपराष्ट्रपति रामसहाय प्रसाद यादव आइपुग्नु भएकाे छ।

मटिहानी नगरपालिका-७ तस्मैयाबाबा उद्यानमा जडान गरिएको ११० फिट अग्लो राष्ट्रिय झण्डा फहराउने कार्यक्रमका लागि आउन लाग्नु भएका उपराष्ट्रपति यादवको मङ्गलबार नागरिक अभिनन्दन कार्यक्रम समेत राखिएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभएको हो ।

मटिहानी नगर कार्यपालिकाको कार्यालयको निमन्त्रणामा आइ पुग्नु भएको उपराष्ट्रपति यादवले ११० फिट अग्लो राष्ट्रिय झण्डा फहराउनु हुने कार्यक्रम रहेको छ भने सोही समारोहमा उहाँको नागरिक अभिनन्दन गरिने समारोह समितिका अध्यक्षसमेत रहनु भएका नगरप्रमुख मण्डलले बताउनुभयो ।

मटिहानी भ्रमणक्रममा उपराष्ट्रपति यादवले पौराणिक एवं धार्मिक महत्वको लक्ष्मीनारायण मन्दिरमा पुजापाठ , सन्त तस्मैया बाबाको समाधीस्थलमा पुष्पगुच्छा अर्पण तथा लक्ष्मीसागर तलाउमा भगवान लक्ष्मीनारायणको महाआरती गर्नुहुने कार्यक्रम छ ।

यसैगरी उपराष्ट्रपति यादवले मुलुककै जेठो ३०५ वर्ष पहिले स्थापित गुरुकूल (हालको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानी), महामुनि याज्ञवल्क्य र भगवान लक्ष्मीनारायणका नाउँमा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (स्नातकोत्तर तहसम्म अध्ययन अध्यापन हुने संस्कृत क्याम्पस) र लक्ष्मीनारायण मठको अवलोकन गर्ने कार्यक्रम रहेको मटिहानी नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

यसक्रममा उपराष्ट्रपति यादवले पीरबाबा मजारको दर्शन र मटिहानीस्थित रङ्गशालाको अवलोकन गर्नुहुने जनाइएको छ । हिन्दू सनातन परम्पराका महासन्त तस्मैयाबाबा र इस्लाम परम्पराका सुफी सन्त पीरबाबा १६ औं सताब्दीमा आधुनिक मटिहानीको जग बसाउने व्यक्तिको रुपमा मानिनुहुन्छ ।

त्यसैगरी लक्ष्मीसागर अघि त्रेता युगमा रामसीताको विवाहमा यज्ञवेदी बनाउन माटो खनिएको पवित्रस्थल मानिन्छ । मटिहानी-७ स्थित लक्ष्मीनारायण मठ मुलुकभरिकै वैष्णव मठहरुको नायक मठ रहँदै आएको छ ।