
जनकपुरधाम- नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरूको संयुक्त बैठक भारतको विहार राज्यको मधुबनी जिल्लाको सौराठमा शनिबार सम्पन्न भएको छ ।
जिल्ला स्तरीय सीमा समन्वय बैठकमा सीमा क्षेत्रबाट हुने गरेको लागूऔषधको ओसार पसार नियन्त्रणमा थप कडाइ गर्ने, सीमा क्षेत्रबाट हुने गरेका अन्य अपराधिक गतिविधि कडाइका साथ नियन्त्रण गर्ने, सिमानामा दुबै देशका सुरक्षा गस्ती बढाउने निर्णय भएको छ । यसका साथै सीमा क्षेत्रमा हराएका सीमा स्तम्भको पुनः निर्माण सम्बन्धमा संयुक्त सर्भेका लागि केन्द्रमा लेखि पठाउने, भत्केका सीमा स्तम्भहरूको पुनः निर्माण गर्ने, नेपालतर्फ हुने गरेको नक्कली नोटको कारोबार एवं ओसारपसारमा कडाइ गर्ने वा हुन नदिने, एक ठाउँमा अपराध गरेर सीमावर्ती क्षेत्रमा भागेर लुकी बस्नेको विषयमा सूचना आदान प्रदान गर्ने सहमति भएको छ । यसका साथै सीमा क्षेत्रबाट हुने चोरी पैठारीसहितको विषयमा कडाइ गर्ने र सीमा क्षेत्रका अन्य कुनै समस्या आएको खण्डमा मिलेर समाधान गर्ने सहमति भएको नेपाली टोलीका नेतृत्व गरेका धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
दुबै देशका संयुक्त सीमा सुरक्षा अधिकारीको बैठकमा नेपालका तर्फबाट धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी उपरीक्षकहरू, सशस्त्र प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी रहेको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । भारतीय पक्षको नेतृत्व मधुबनी जिल्लाको डिएम अरविन्द कुमारले गरेका थिए ।