जनकपुरधाम- धरानमा गाईगोरु काटेर खाएको विरोधमा जनकपुरधामको रामानन्दचोकमा वजरंगदल युवा संघ धनुषाले एक घण्टा चक्काजाम गरेर विरोध प्रदर्शन गरेको छ।
बजरंग दल युवा समूहले बिहीबार साँझ स्थानीय रामानन्द चोकमा विरोध प्रदर्शन गर्दै चक्काजाम गरेको हो ।
बहुसंख्यक सनातन हिन्दू धर्मावलम्बीहरूको आस्था र विश्वासको कुनै ख्याल नगरी खुलेआम गौवंशको सार्वजनिक रूपमा हत्या गरेर भोज गरिरहेको भिडियो बनाई समाजिक सञ्जालमा सम्प्रेषण गरिनु दुःखद घटना रहेको बजरंग दल युवा समूहको भनाइ छ।
नेपालको कानुनले गौहत्यालाई पूर्णतः वर्जित गरेको भएता पनि दिनानुदिन गौ हत्याको घटना बढनु गम्भीर एवं चिन्ताजनक विषय रहेको प्रदर्शनमा सहभागी युवाहरूको भनाइ थियो ।
कानुनमा गौहत्यालाई दण्डनीय अपराध भनेर उल्लेख गरिएता पनि व्यवहारमा दण्डहीनता मौलाएको उनीहरूको आरोप थियो।
घटनामा संलग्न रहेका अपराधीहरूले सार्वजनिक रूप मै गौमांसको भोज आयोजना गर्दै भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्दा समेत प्रहरी प्रशासन मौन रहनुले प्रहरी प्रशासनको चरित्रमा समेत प्रश्न चिन्ह खडा भएको भन्दै आफूहरूले जनकपुरधाममा चक्काजाम गर्दै विरोध प्रदर्शन गरेको उनीहरूले बताए ।




