
काठमाडौं- एकाथरिले चुरेमा व्यापक आर्थिक सम्भावना र समृद्धिको आधार देख्छन् । चुरेको ढुंगा, गिट्टी, बालुवा र जंगल निर्बाध बेच्ने अझ भारततिर महँगो मूल्यमा निर्यात गर्ने हो भने देशले निकै ठूलो रकमको आर्थिक आर्जन गर्ने मात्र हैन, चुरे सम्मिदै जाँदा बसोवास तथा खेतीयोग्य जमिन पनि प्राप्त हुने तर्क गर्दछन् ।
यस्तो सोच राख्नेहरूको भनाइ हुन्छ–‘कुनै पनि देशले त्यही बेच्ने हो, जे छ । खाडी मुलुक तेल बेचेर धनी भए । मलेसिया काठ बेचेर धनी भयो । रुस ग्यास बेचेर धनी छ । नेपालमा पहाड छन्, ढुंगा, गिट्टी, बालुवा बेच्न किन नहुने ?’
तुरुन्तै अर्कोथरिको तर्क आउँछ–‘वातावरणको मुद्दा के बेकार हो ? पर्यावरणीय सन्तुलनको सवाल के अर्थहीन हो ? चुरे दोहोनबाट उत्पन्न हुने प्राकृतिक विपत्ति सामना गर्न सक्छ राज्यले ? त्यसको क्षतिपूरक गर्न सक्छ ? चुरे मधेसको लाइफलाइन हो, चुरेविना मधेस कसरी बाँच्न सक्दछ ? चुरे पहाड र हिमालको आधार पाइलो हो, चुरे रहेन भने मध्यपहाड र हिमाली क्षेत्रमा हुने भूक्षय कसले रोक्छ ?’
चुरे–विमर्शबारे हुने यस्तो खेमाबन्दीमा तेस्रो प्रकारका मानिसको संख्या थोरै हुन्छ, जसलाई यी दुई कोणमध्ये सत्य छुट्याउन सजिलो हुँदैन, मनमनै गम्छन् मात्र, कुन कुरा ठीक होला ? सुन्दै दुवै तर्क उत्तिकै दमदार लाग्दछन्, सत्य के हो ?
के हो चुरे ?
चुरे पूर्व-पश्चिम फैलिएको एक सानो थुम्किलो पहाड हो । यो पाकिस्तानको सिन्धुदेखि भारतको ब्रह्मपुत्र नदी बीचमा छ । टिष्टा र आसामको बीचमा करिब ९० किमी क्षेत्रमा छुटेको छ । अन्यथा यसको लम्बाइ करिब २४०० किमी हुन्छ । ठाउँअनुसार १०- ५० किमीसम्मको चौडाइलाई ‘चुरे रेन्ज’ र भूगोलका किताबमा यसलाई ‘शिवालिक पर्वत’ संज्ञा दिइएको छ । यो पहाडमा भगवान् शिवको वासस्थान छ भन्ने जनभावना थियो । भलै कि, कैलास पर्वतभन्दा यो धेरै तल, दक्षिणमा छ । भारततिर कतिपयले यसलाई ‘मानक पर्वत’ पनि भन्दछन् । नेपालमा भने ‘चुरे’ वा ‘चुरिया’ भनिन्छ ।
नेपालमा चुरे पहाड १५००–१९०० मिटरको उचाइमा छ । यसले नेपालको १२.७८ प्रतिशत भूभाग ओगट्छ । १८७२ मिटर कैलालीको गार्वा यसको सबैभन्दा अग्लो विन्दु हो । त्यहाँ एउटा स्थानीय तहको नाम नै अहिले ‘चुरे गाउँपालिका’ राखिएको छ।
कसरी रह्यो नाम ?
सर प्रोबी थोमस कोट्ले नहर तथा सिँचाइ संरचनाका इन्जिनियर थिए । ब्रिटिस सरकारले गंगा र यमुना नदीमा नहर निर्माण गर्ने उद्देश्यले इन्जिनियरको एक समूह बनायो । यो सन् १८२५ तिरको कुरा थियो । युवा इन्जिनियर कोटले यो समूहमा काम गर्न बेलायतबाट भारत आए ।
गंगा नहरको सर्वे गर्दा भारतको हरिद्वार क्षेत्रमा उनले संसारकै सबैभन्दा ‘कान्छो पहाड’ सामना गर्नुपर्यो । स्थानीय वासिन्दाको विश्वासअनुरूप उनले यो पहाडको नाम सर्वेक्षणको नक्सामा ‘शिवालिक’ लेखिदिए । यो सन् १८३२ को घटना थियो । अन्ततः यही नै चुरेको अन्तर्राष्ट्रिय परिचय बन्यो । संसारभरि शिवालिक पर्वत भन्न थालियो ।
नेपालीले चाहिँ किन यसलाई ‘चुरे’ भने ? उपयुक्त कारण फेला पर्दैन । तर, कतिपयको भनाइ छ, यो शब्द थारू भाषाबाट भएको हुनुपर्दछ । तराई समाप्त भएको विन्दु भन्ने अर्थमा ‘चुरे’ शब्द प्रयोग भएको हुन सक्दछ।
संसारको सबैभन्दा कान्छो पहाड
भूगोलका ज्ञाताका अनुसार पहाड धर्तीको एक विशिष्ठ चरित्र हो । सबै महादेशमा थुप्रै पहाड छन् । एसिया महादेशमा ४२ प्रतिशत, युरोपमा २५ प्रतिशत, उत्तर अमेरिकामा ३६ प्रतिशत, दक्षिण अमेरिकामा २२ प्रतिशत, अफ्रिकामा ३ प्रतिशत र अस्ट्रेलिया महादेशमा १७ प्रतिशत तथा पृथ्वीको कुल क्षेत्रफलमा २४ प्रतिशत पहाडी भूभाग छ । यीमध्ये सबैभन्दा कान्छो पहाड चुरे हो ।
हिमालयको उत्पत्ति हुनुअघि यहाँ टेथिस सागर थियो । करिब ४ करोड वर्षअघि भारतीय प्लेट र युरेसियन प्लेट बीचको ‘टेक्टोनिक घर्षण’ ले हिमालयको उत्पत्ति भयो । हिमालयको उत्पत्तिपछि यसको पानी ढलोलाई आधार बनाएर दुई विशाल भूभाग बन्दै गए । पानी ढलोको उत्तरी भागमा तिब्बत र चीन बने जहाँपछि मंगोलियन सभ्यता विकास भयो । दक्षिण पानी ढलोमा भारतीय उपमहाद्वीप विकास भयो ।
हिमालयको उत्पत्तिपछि दक्षिणी पानी ढलोमा बग्दै गएको नदीजन्य पदार्थले महाभारत पर्वत अर्थात् नेपालको मध्यपहाडी क्षेत्र बन्न करिब दुई करोड वर्ष लागेको थियो । त्यसपछिको करिब १ करोड वर्षमा चुरेको जन्म भयो । अर्थात् हिमालय संसारको सबैभन्दा कान्छो पर्वत श्रृंखला हो र चुरे हिमालयको पनि कान्छो भाइ हो । हिमाल र मध्यपहाडबाट बगेर आउने माटो, ढुंगाले बनेको हुँदा चुरे कमजोर छ । यो बलियोे चट्टानी पर्वत हैन । कमजोर ढुंगा र माटोले बनेको सानो, थुम्किलो, हिमालयको तल्लो र अन्तिम पहाड हो ।
वायु प्रणालीमा चुरेको महत्त्व
दक्षिणतिरबाट तातो हावा उठ्दै आउँछ। चुरेसम्म पाइपुग्दा यो रोकिने र सेलाउने दुवै हुन्छ । चुरेले दक्षिणको तातो हावा तलै रोकिदिने हुँदा नेपालका पहाडहरू चिसा भएका हुन् । चुरे हुँदैनथ्यो त पहाडहरूमा पनि तराईको जस्तै गर्मी हुन सक्थ्यो । चुरेले चिस्याएको हावा फेरि तराईतिरै फर्काइदिन्छ । तसर्थ, तराईमा पनि असाध्यै गर्मी हुन दिँदैन ।
दक्षिणको तातो हावालाई मात्र हैन, उत्तरको चिसो हावालाई पनि चुरेले यसै गरी पर्यावरणीय सन्तुलन गर्दछ । उत्तरको चिसो हावा चुरे क्षेत्रमा पुगेर दक्षिणको तातो हावासँग मिसिन्छ र हल्का तातो भएर पहाडतिरै फर्किन्छ । जसले गर्दा नेपालका पहाड असाध्यै चिसा हुँदैनन् । चुरे हुँदैनथ्यो भने पहाडको चिसो हावा तराईसम्मै फैलिन सक्थ्यो । पहाड र मधेसबीच हावापानीको भिन्नता हराउँदै जान सक्थ्यो।
चुरेको इन्भेन्ट्री
नेपालमा चुरे पर्वतले पूर्वमा झापा–इलामदेखि पश्चिमा कञ्चनपुर–डडेलधुरासम्म ३७ जिल्ला छोएको छ । चुरेमा १४ लाख वर्गकिमी घना जंगल छ । करिब ४५ लाख मानिस चुरे र यसको आसपासको क्षेत्रमा बसोवास गर्दछन् । नेपालको कुल वन क्षेत्रमध्ये ७३ प्रतिशत चुरे र यसैसँग जोडिएको भावर क्षेत्रमा पर्दछ ।
चुरेमा कति माटो, कति ढुंगा, गिटी, बालुुवा, कति काठ तथा वन पैदावार र के कति खनिज छ त्यसको वैज्ञानिक तथा विश्वासिलो अध्ययन भएको छैन । सिमेन्ट फ्याक्ट्रीलाई चहिने चुनढुंगाको मुख्य स्रोत चुरे नै हो । सिमेन्ट उत्पादक कम्पनीमध्ये अधिकांशले यहीबाट चुनढुंगा आपूर्ति गर्दछन् ।
चुरेमा दुन र भ्याली मात्र हैन, ठूल्ठूला शहर र निर्माणाधीन नयाँ नगर पनि छन् । बेल्टार, गाईघाट, कटारी, भिमान, हेटौँडा, चितवन, दाङ घोराही, सुर्खेतजस्ता शहर चुरे क्षेत्र र आसपासमा पर्दछन् । चुरे क्षेत्रमा दर्जनौं नदीको मुहान छ ।
साल र साजको जंगल चुरे र भावर क्षेत्रको अर्को ठूलो सम्पत्ति हो । भनिन्छ– यी जातका वनस्पतिमा कार्बन अवशोषण गर्ने क्षमता निकै बढी हुन्छ । जैविक विविधताका दृष्टिकोणले चुरे असाध्यै धनी छ । चुरे क्षेत्रमा करिब ५ हजार साना ठूला सामुदायिक वन छन्।
चुरे संरक्षणको सरकारी प्रयत्न
चुरे क्षेत्रबाट गैरकानुनी, अव्यवस्थित तथा अतिसय ढुंगा, गिटी, बालुवा र वन सम्पदाको दोहन हुन थालेको चर्चापछि देशका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सरकारको ध्यानाकर्षण गराएका थिए । पछि कार्यक्रमको नाम नै ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ राखियो । आर्थिक वर्ष २०६६-२०६७ बाट चुरे संरक्षणसम्बन्धी एक विशेष कार्यक्रम संघीय सरकारले सुरु गर्यो ।
२०७१ सालमा विकास समिति ऐन-२०१३ अनुसार यसको नाम ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण समिति’ राखियो । यसका सदस्य–सचिव डा. सिन्धुप्रसाद ढुंगानाका अनुसार यो समितिले थोरै बजेटमा पनि थुप्रै काम गर्ने प्रयत्न गरिरहेको छ । यसले चुरे संरक्षणको २० वर्षे गुरुयोजना बनाएको छ। यो गुरु योजना लागू गर्न प्रतिवर्ष २० अर्बको बजेट चाहिने हुन्छ, जुन सरकारले दिन सकेको छैन।
के चर्चा हुने गरेजस्तो चुरे क्षेत्रमा वन विनास र भयावह वातावरणीय असन्तुलन आइसकेको हो त ? एक अन्तर्वार्तामा डा. ढुंगानाले यो कुरा अस्वीकार गरेका छन् । समितिको वेभसाइटमा राखिएको उप्त अन्तवार्तामा उनले भनेका छन् –‘चुरे क्षेत्र एकदमै संकटग्रस्त छ, भयावह भइसकेको छ भन्ने हैन । समय मै ध्यान नदिने हो भने जोखिम बढ्न सक्दछ । तर, अहिले नै भयावह पर्यावरणीय असन्तुलन भइसक्यो भनेर आत्तिने बेला भने भएको छैन ।
सन् २०१० पछि चुरे क्षेत्रको स्थिति सुधार उन्मुख छ। सन् १९९९ को सर्वेक्षणमा चुरे क्षेत्रको वन विनास प्रतिवर्ष १.३ प्रतिशत थियो तर, सन् २०१४ मा ०.४ प्रतिशत मात्रै देखियो ।’ उनको भनाइमा ‘निकुञ्ज तथा आरक्षणजस्तो चुरे संरक्षण योजना मानव बस्तीरहित प्रकृति संरक्षण योजना हैन । चुरे क्षेत्रमा त्यो सम्भव पनि छैन । यो प्रकृति र मान्छे बीच सन्तुलन गर्ने कार्यक्रम हो । मानवीय क्रियाकलापको कारणले हुुने चुरेको नोक्सानीलाई क्षतिपूरण गर्ने योजना हो ।’
चुरे बेच्ने योजना : किड्नी बेचेर रक्सी खाएजस्तो
पर्यावरण पत्रकार श्रवण शर्माले चुरे विवादलाई नजिकबाट नियाल्ने गरेका छन् । उनी त्यो क्षेत्रको पर्यावरणका ज्ञाता पनि हुन् । प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-२०७९ को बजेटमा चुरेको ढुंगा, गिटी, बालुवा बेचेर देशको व्यापार घाटा कम गर्ने कार्यक्रम प्रस्तावित गरे । लेखक शर्माले त्यसको धज्जी उडाउँदै लेखे–‘यो त किड्नी बेचेर रक्सी खाए रोग निको हुन्छ भने जस्तै हो ।’
शर्माको तर्कमा चुरे माटोको थुप्रो मात्र हैन । यसको पर्यावरणीय प्रभाव व्यापक हुन्छ । चुरे बेचेर पैसा त कमिएला । चुरे क्षेत्रमा मैदानी जमीनको क्षेत्रफल विस्तार पनि होला । मानव बस्ती पनि बढ्ला । मान्छे धनी पनि होलान् तर पहाड र हिमालले आफ्नो आधार गुमाउनेछ । चुरे सकियो भने पहाड र हिमालको भूक्षय कसले रोक्छ ? मधेसलाई पानीको सतह तल जाने र मरुभूमीकरण हुने समस्याबाट कसले बचाउँछ ? चुरेको जैविक विविधता र जंगल सकियो भने कार्बन कसले खान्छ, मान्छेले सास फेर्न अक्सिजन कहाँबाट उत्पादन हुन्छ ?
शर्माजस्तै थुप्रैले चुरे बेच्ने योजनाको विरोध गरे । यहाँसम्म कि, मधेसकेन्द्रित दल जसपाले चुरे संरक्षण जनअभियान नै सञ्चालन गर्ने र त्यसलाई राजनीतिक आन्दोलनको रूप दिने धम्की दियो । व्यापक आलोचना र दबाबपछि सरकार चुरे बेच्ने सोचबाट फिर्ता भयो ।
चुरेमाथि भौतिक संरचना दबाब : मदन भण्डारी राजमार्ग
ओली सरकारले चुरे बेच्न त सकेन, चुरे क्षेत्रका टुक्राटाक्री स्थानीय तथा जिल्ला सडकलाई जोडेर कोभिड–१९ लकडाउनबीच तीव्र गतिमा राजमार्ग निर्माण गर्ने निर्णय गर्यो । यो निर्णयलाई सबैले सकारात्मक रूपमा लिए ।
मानव बस्ती सहितको चुरे संरक्षणको कुरा गर्दा सडक अत्यावश्यक थियो नै । अहिले मदन भण्डारी राजमार्ग तीव्र गतिमा बन्दैछ। यसका कतिपय भर्जिन खण्ड यात्रा गर्न लोभलाग्दा छन् । पूर्वमा सिन्धुलीको भीमानदेखि सुनसरीको धरानसम्मको सडक खण्ड लगभग बनिसकेको छ। भीमान-हेडौडा खण्ड छिट्टै पूरा हुँदैछ ।
मदन भण्डारी राजमार्गको निर्माणले पनि पक्कै चुरे क्षेत्रमा पर्यावरणीय दबाब सिर्जना गर्नेछ । सम्भवत: महेन्द्र राजमार्गमा जस्तै यो क्षेत्रमा आउँदो दशकभित्र तीव्र शहरीकरण हुन सक्नेछ । मदन भण्डारी राजमार्गको आसपासमा हुने नयाँ शहरीकरण अव्यवस्थित, अवैज्ञानिक र असन्तुलित नहोस् भनेर तीनै तहका सरकार अहिलेदेखि नै सतर्क हुन जरुरी छ।
मदन भण्डारी राजमार्ग झापाको शान्तिनगरदेखि डडेलधुराको रूपालसम्म करिब १२०० किमी लामो हुनेछ । यसको रेखांकन पूर्वमा झापाको शान्तिनगरदेखि सुनसरीको चतरासम्म, चतराबाट गाईघाट-भीमान- हेटौंडा-चितवनसम्मको छ । मध्यपश्चिममा गैंडाकोट-राम्दी-रिडी-सिमलटारी-सन्धीखर्क हुँदै दाङसम्म छ भने पश्चिममा दाङ-सुर्खेत-बूढीचौर-सहजपुर–बुडार- जोगबुढा हुँदै रूपा तालसम्म छ । खण्डखण्डमा यो सडक बनिरहेको छ ।
चुरे र मधेसको पर्यावरणीय सम्बन्ध
वातावरणविद् तथा चुरे संरक्षण अभियानका अभियन्ताहरू चुरे र तराई–मधेसबीचको पर्यावरणीय सम्बन्धलाई अभिन्न र घनिष्ठ ठान्दछन् । उनीहरूको तर्क छ–चुरे मधेसको लाइफ लाइन हो । चुरे विनास भयो भने तराई मधेसमा ३ वटा ठूला पर्यावरणीय समस्या आउने छन्।
एक–चुरे क्षेत्रले तराई–मधेसको भूमिगत जल सतहका लागि पानी अवशोषण गर्दछ । चुरे विनाश भए भूमिगत पानी तल धसिन्छ। इनार, पोखरी, बोरिङ र चापाकाल सुक्नेछन् । सुक्खायाममा तराई–मधेसमा खाने पानीको ठूलो अभाव हुनेछ ।
दुई– चुरे दोहनले चुरे क्षेत्रमा मुहान भएका वा चुरे हुँदै मधेसतिर बग्ने नदीहरूको ‘रिभर बेड’ माथि आउनेछ । नदी उच्च र मानव बस्ती होचा हुँदै जानेछन् । प्रत्येक वर्षायाममा नदीहरू खेत र गाउँबस्तीतिर पस्नेछन् । नदीले बगाएर ल्याउने बालुवाको कारणले खेतीयोग्य जमिन मरुभूमीकरण हुनेछ भने मानववस्तीमा धनजनको क्षति हुनेछ ।
तीन– मधेस प्रदेशमा ४ प्रतिशत मात्र जंगल छ । मधेसको कार्बन खाने र अक्सिजन दिने भनेको चुरे भावर क्षेत्रको जंगलले नै हो। चुरे विनाशसँगै यो पर्यावरणीय चक्र कमजोर भएमा तराई–मधेसमा गर्मी झनै बढ्ने छ । वायुमण्डलमा अक्सिजनको मात्रा कम हुन सक्नेछ।
उपर्युक्त कारणले गर्दा मधेस मानव जीवनका लागि झनै कष्टकर हुन सक्नेछन् । गर्मीमा झनै बढी गर्मी र जाडोमा झनै बढी जाडो हुनेछ । लु र शीतलहरको प्रभाव कठोर हुन थाल्नेछ । मरुभूमीकरणले जमिनको उर्वराशक्ति कमजोर भएर आर्थिक जीवनमा समेत ठूलो असर पर्नेछ ।
मधेसमा यस प्रकारका समस्या केही वर्षयता देखिन थालेका छन् पनि । यो वर्ष वर्षा सुरु हुनुअघि अधिकांश चापाकल सुकेका थिए । कतिपय गाउँमा खानेपानीकै समस्या हुन थालेको थियो । तर, यो समस्या चुरे विनाशकै कारणले आएको हो कि विश्व जलवायु परिवर्तनलगायत अरु पनि कतिपय कारण जिम्मेवार छन् ? यसको भने कसैले विश्वसनीय अध्ययन गरेका छैनन् ।
कतिपय नमिल्दा तर्क
पानीका मुहान सुक्ने वा भूमिगत जलसतह तल धस्ने कुरा वनजंगलको विनाशसँग मात्रै जोडिएको होला ? कि यसका अन्य कारण हुन्छन् ? कम्तिमा सिंगो देश र पहाडी क्षेत्रको अनुभवले यो कुरा व्यवहारबाट पुष्टि हुँदैन ।
तथ्यांकमा हेर्दा देशमा सन् २००० यता वनजंगल क्षेत्र निरन्तर बढिरहेको छ । यसो हुनुका मुख्य दुईवटा कारण प्रष्ट छन् ।
पहिलो कुरा–सामुदायिक वनको अभ्यास र अर्को पहाडी जिल्लाबाट व्यापक बसाइसराइका कारणले कृषियोग्य जमिनसमेत निजी वन क्षेत्रमा विकसित हुँदै जानु । सन् १९९० ताका ३८ प्रतिशतमा झरेको वनजंगल अहिले करिब ४५ प्रतिशत पुगेको छ । तर, पहाडतिर खानेपानीका मुहान सुक्ने समस्या रोकिएको छैन ।
पहाडमा खानेपानीका मुहान सुक्ने र तराईमा भूमिगत जल सतहत ल धस्ने समस्या आउनुमा वनजंगलको क्षेत्रफल मात्र निर्णायक कारण भने हैन । यसमा वायु, वर्षा र रिचार्ज प्रणालीको समेत भूमिका हुन्छ ।
नदीहरूबाट ढुंगा, गिटी, बलुवा निकाल्न रोक लगाउँदैमा ‘रिभर बेड’ उकासिने समस्या हल हुँदैन, झनै बढ्न सक्दछ । नेपालको भूबनोट भिरालो छ, पानीको बहावले ढुंगा, गिटी, बालुवा, माटो स्वाभाविक रूपले तल्लो तटीय क्षेत्रमा बगाएर ल्याउँछ । यसले रिभर बेडलाई झनै उकास्दै लाग्छ। तसर्थ, यस्ता नदीजन्य पदार्थको उत्खनन वा संकलन प्रतिबद्ध गर्नु मात्र समस्याको समाधान हैन ।
ठाउँ हेरी प्रतिवर्ष ३ फिटदेखि १ मिटरसम्म नदीजन्य पदार्थको उत्खनन गर्दा खासै समस्या आउँदैन । बरु यसले रिभर बेडलाई झनै सन्तुलित बनाउँछ । तर, कुनै खास ठाउँबाट निरन्तर उत्खनन गर्ने गहिरा खाल्टा वा खोँच बनाउँदा भने ठूलै समस्या आउँछन् । नदी गहिरो हुँदै गए खेतहरू झनै सुक्खा हुन्छन् । पानीको ओरोलो बग्ने चरित्रले खेतीयोग्य जमिनमा पानी अडिँदैन। तसर्थ, रिभर बेड उकासिनु मात्रै हैन, नदीहरू धेरै गहिरा हुनु पनि पर्यावरणीय समस्या नै हो ।
दोस्रो कुरा– देश भौतिक पूर्वाधार विकास चरणको प्रारम्भिक अवस्थामा छ । विश्वको आधुनिक विकास प्रक्रिया तीन सय वर्ष बढी भइरहँदा हाम्रो मुस्किलले ५० वर्षभन्दा केही बढीको मात्र छ । ढुंगा, गिट्टी, बालुवा, खनिज कच्चा पदार्थ र वन पैदावार अहिले पनि हाम्रो विकास आवश्यकताका मुख्य सामग्री हुन् ।
तसर्थ, यो वा त्यो अतिवादतिर जानुभन्दा दुवै कोणलाई यथोचित ध्यान दिँदै सन्तुलन कायम गर्नु नै अहिलेको आवश्यकता हो । त्यो भनेको सबै क्षेत्रको जस्तै चुरे क्षेत्रको पनि वैज्ञानिक, व्यवस्थित र समुचित व्यवस्थापनमा ध्यान दिनु हो ।
के हो चुरे क्षेत्रको सही विकास मोडेल ?
चुरे क्षेत्र र यसको आसपासमा जुन जनसंख्या बसोवास गर्दछ, यसलाई पर्यावरणका नाममा आधुनिक भौतिक तथा मानवीय पूर्वाधारबाट वञ्चित गर्न मिल्दैन । तसर्थ, चुरे ‘भर्जिन ल्यान्ड’कै रूपमा संरक्षित रहन सक्दैन । तर, देशका अन्य भागमा विकासका नाममा जुन अवस्था र विनाश निम्त्याएका छन्, त्यसबाट भने चुरे क्षेत्रलाई जोगाउन सकिन्छ ।
जस्तो कि, काठमाडौंलाई अब राम्रो बनाउन चाहेर पनि बनाउन सकिँदैन । यहाँ यति धेरै अव्यवस्थित संरचना बनिसकेको र बसोवास भइसकेको छ, चाहेर पनि यसलाई सच्याउन सम्भव हुँदैन । तर, २०४० को दशकमै ध्यान दिइएको भए आज काठमाडौं यस्तो हुने थिएन ।
आज चुरे क्षेत्र ४० वर्ष अघिको काठमाडौंजस्तो अवस्थामा छ । त्यहाँ हरेक संरचना र विकास सोचीसोची, फुकीफुकी बनाउन सकिने अवस्था छ । मानवीय क्रियाकलापको कारणले हुने पर्यावरणीय विनाशको क्षतिपूरण योजना आजैबाट बलियो गरी लागू गर्न सकिन्छ, गर्नु पर्दछ । सडक बनाउँदा वनजंगल काटियो भनेर चिन्ता गर्नुभन्दा विकास पूर्वाधारले दिने पहुँचलाई उपयोग गरी वातावरण संरक्षणका क्रियाकलाप सघन बनाउनु उपयुक्त हुन्छ ।-नेपालभ्युज