शिवपुरी /रौतहट —
छोरा :आमा चिन्ता नलिनू, मैले सबै कुलत त्यागिसकें । अब यहाँबाट निस्किएपछि राम्रो बाटोमा हिँड्छु, तपाईंहरूको सपना त पूरा गर्न सकिनँ, असल छोरो भने पक्कै बन्नेछु ।
आमा :‘कुबाटोमा नहिँडेको भए हुन्थ्यो । तिमीले धेरै दुःख दिएका छौ, अब सुध्रियौ भने खुसी हुनेछौं, परिवार र समाजको अगाडि राम्रो बनेर देखाऊ ।’
लागूपदार्थ तथा मद्यपान पुनःस्थापन केन्द्र चन्द्रपुरमा रहेका चन्द्रपुर नगरपालिकाका २२ वर्षीय रोहन चौधरी र उनकी आमा आशादेवीका बीच भएको संवादको अंश हो यो । केन्द्रकै निगरानीमा १९ भदौमा उनीहरूबीच कुराकानी भएको थियो ।
रोहन ६ महिनादेखि केन्द्रमा रहेका छन् ।
रोहनका बुवा मननारायण दुई छोरा, एक छोरी र श्रीमतीसहितको परिवारलाई अटोरिक्सा चलाएर पालिरहेका छन् । दैनिक कमाइले भनेजस्तो नभए पनि उनले उतिसारो पीर मानेका छैनन् । बरु उनको पीर जेठो छोरामाथि नै छ । लागूऔषध दुर्व्यसनमा फसेको छोरालाई कसरी सुधार्न सकिएला भन्ने चिन्ताले उनलाई ६ महिनादेखि भित्रभित्रै खाइरहेको छ । मननारायणकी पत्नी आशादेवी त यही छोराको चिन्ताले जीउ नै सुकिसकेको बताउँछिन् । छोराले कुलतको बाटो कहिले त्याग्ला भन्ने उनको एकमात्र चिन्ता छ । छोरा कसरी कुलतमा फसे भन्नेबारे परिवार नै बेखबर छ ।
चौधरी दम्पतीले छोरा पढेर डाक्टर बनोस् भन्ने सपना साँचेका थिए । त्यही सपना पूरा गर्न आशादेवीले गहना बेचेर छोरालाई घर नजिकैको बोर्डिङमा भर्ना गरिदिएकी थिइन् । ५ कक्षासम्म बोर्डिङमा पढेका रोहनलाई उनीहरूले ६ कक्षापछि भने स्थानीय एक माविमा पढाउन थाले । ‘७ कक्षामा पुगेपछि उसलाई साथीहरूले घरमै आएर बोलाएर लैजान्थे,’ आशाले भनिन्, ‘साथीहरूसँग पनि पढ्नै गएको होला भन्ने लाग्थ्यो तर होइन रहेछ ।’ एक दिन लागूऔषध खाएर लट्ठ भई घर आउँदा आफ्नो होस नै उडेको उनले सुनाइन् । ‘त्यसपछि त मनमा चिसो पस्न थाल्यो,’ उनले भनिन्, ‘आफूले आफैंलाई सम्हाल्नै सकिनँ ।’
यो घटनापछि उनीहरू झस्किए । एकाध पटक त उनीहरूले साथीसँग जान रोक्ने प्रयास पनि गरे । तर, सधैं रोक्न सम्भव भएन । ‘साथीहरूको संगतमा परेर कहिले के खाने त कहिले गाँजा खाएर आउन थाल्यो,’ मननारायणले सुनाए, ‘छोरालाई कुलतबाट छुटकारा दिलाउन लागिपरें तर सकिएन ।’ त्यो दिनसम्म चौधरी दम्पतीको एउटै सपना थियो, छोरालाई भनेजस्तो पढाएर डाक्टर बनाई छोड्ने । तर, सपना देखेको छोरा नै कुलतमा लागेपछि उनीहरूको चैन हरायो । ‘आर्थिक हैसियत कमजोर होला तर हौसला कमजोर थिएन, छोरालाई जसरी हुन्छ समाजले चिन्ने ठूलो मान्छे बनाउने सपना थियो,’ उनले भने, ‘तर, त्यो सपनालाई विपनामा बदल्न भने सकेनौं ।’
चौधरी दम्पतीको जस्तै सपना थियो, बृन्दावन नगरपालिकाको विश्रामपुरकी रमिता पटेलको पनि । ‘मेरो छोरा एक दिन पढेर इन्जिनियर बन्नेछ, त्यसपछि हामी गरिबका पनि सुखका दिन आउनेछन्,’ तीन धुर घडेरीमा बनेको सानो झुपडीमा छोरा भित्रिएपछि उनले छिमेकीलाई भनेको सम्झिइन् । यतिबेला रमिता त्यतिबेला बोलेको कुरा छोराले पूरा नगर्ने भयो भन्ने चिन्तामा छन् । किनकि, १३ वर्षमै लागूऔषधको दुर्व्यसनमा फसेपछि उनले छोरालाई दुर्व्यसनमुक्त बनाउन चन्द्रनिगाहपुरस्थित सुधार केन्द्रमा भर्ना गरेकी छन् । रमिता दम्पतीले पनि छोरालाई नजिकैको बोर्डिङमा आवासीय रूपमा भर्ना गरेका थिए । राम्रो अंक ल्याएर छोरा पास भएकामा उनीहरू पुलकित थिए । दैनिक ज्याला मजदुरीका भरमा परिवारको भरथेग गरिरहेका अहिरबाबु पनि छोराको पढाइबाट खुसी नै थिए ।
२०७९ चैत १ गते जब छोरा एक्कासि बोर्डिङबाट भागेर घर आए, त्यसपछि रमिता झस्किइन् । उनको मनमा अनेक कुरा खेल्न थाले । छोरालाई साथै राखेर निकै बेर केरकार पनि गरिन् । ‘जब छोरा भागेको खबर पायौं, त्यसपछि मैले अब यसले बाटो बिरायो भन्ने सोचें,’ उनले भनिन्, ‘छोरालाई आफूबाट टाढा राखेकामा अहिले पछुतो लागेको छ, घरबाहिर राखेर पो बिग्रियो कि ∕’
उनी पनि गाउँकै साथीहरूको संगतमा लागेर गाँजाको लतमा फसेको रमिताले बताइन् । छोरालाई यो लतबाट छुटाउन उनीहरूले गत वैशाख १५ गते सुधार केन्द्रमा भर्ना गरेका थिए । रमिताका श्रीमान् अहिरबाबु दैनिक ज्यालादारीका भरमा परिवारको भरथेग गरिरहेका छन् । रमिताले अहिले पनि आशा मारिसकेकी छैनन् । सुधार केन्द्रबाट फिर्ता ल्याएपछि फेरि पढाउने र आफ्नो सपना पूरा गर्ने आत्मविश्वास उनमा अझै छ । सुधार केन्द्रमा रहेका छोराले पनि आफू गलत बाटोमा हिँडेको अनुभव गरिसकेका छन् । ‘मैले आमाबुवाको मन दुखाएको छु,’ उनी भन्छन्, ‘अब सुधार केन्द्रबाट घर फर्केपछि पढ्न मन छ ।’ अबको एक महिनापछि छोरालाई सुधार केन्द्रबाट निकाल्ने योजना रमिताको छ । त्यतिबेला केन्द्रलाई झन्डै ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ । पटेल दम्पती यतिबेला त्यही रकमको जोहो गर्न दौडधुप गरिरहेको देखिन्छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी जनक भट्टराईले पछिल्ला वर्षमा मधेशमा लागूऔषध ओसारपसार र सेवन बढ्दै गएको बताए । ‘सामाजिक रूपमा सबैको साथ र सहयोगले मात्र कुलतमा लागेकाहरूलाई सही बाटोमा ल्याउन सकिन्छ,’ उनले भने, ‘यसका लागि स्वयं अभिभावक र समाज पनि सचेत र चनाखो बन्नु जरुरी छ ।’
प्रहरी तथ्यांकले पनि मधेशमा लागूऔषध दुर्व्यसनको जालो विकराल बन्दै गएको देखाउँछ । आर्थिक वर्ष २०७८/७९ मा प्रहरीले लागूऔषध ओसारपसार, कारोबार र सेवनसम्बन्धी ९ सय २२ मुद्दा दर्ता गरेको र १ हजार २ सय ८५ जनालाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०७९/८० मा मुद्दाको संख्या बढेर ९ सय ३७ पुगेको छ भने पक्राउ पर्नेको संख्या १ हजार ३ सय ४ रहेको छ । डीआईजी भट्टराईले भनेजस्तै लागूऔषधको दुर्व्यसनमा मधेशका किशोरहरू कसरी परिरहेका छन् भनेर बुझ्न यस प्रदेशका ८ जिल्लामा सञ्चालित १८ सुधार केन्द्रमा रहेकाहरूको तथ्यांक हेर्दा पनि काफी छ । कान्तिपुरले सबै सुधार केन्द्रबाट संकलन गरेको तथ्यांकअनुसार अहिले ४ सय ८१ जना लागूऔषध दुर्व्यसनबाट मुक्त हुन सुधार केन्द्रमा राखिएको पाइएका छन् । जसमा ७३ जना दुर्व्यसनी २० वर्षमुनिका देखिन्छन् ।
सिमरा उपमहानगरपालिका–१ पथलैयास्थित नयाँ गोरेटो पुनःस्थापना केन्द्रका अध्यक्ष राजकुमार लामाले लागूऔषधको दुर्व्यसनमा किशोरहरू छिट्टै फस्ने समस्या रहेको बताए । ‘यी पदार्थहरू यति खतराजनक हुन्छन् कि दुई/चार पटक प्रयोग गर्दैमा बानी बसिहाल्छ,’ उनले भने, ‘दुर्व्यसनीले जब लागूऔषध सेवन गर्न पाउँदैनन्, तब उनीहरू अचेतजस्तै हुन्छन्, त्यसैले यसको सेवनका लागि ठूलै अपराध गर्न पनि तयार हुन्छन् ।’ उनले खोलेको पुनःस्थापना केन्द्रमा ३५ जना कुलतमा फसेकाहरू रहेका छन् । उनको बुझाइमा लागूऔषध दुर्व्यसन बढ्नुको मुख्य कारण सन्तानलाई मनपरी स्वतन्त्रता, बढ्दो पारिवारिक एवं सामाजिक एक्लोपना, गरिबी र तनाव नै हो । उनले विद्यालय/कलेजका विद्यार्थीहरू बढी मात्रामा दुर्व्यसनीमा फस्ने गरेको बताउँदै पछिल्लो समय यो क्रम किशोरीहरूमा पनि देखिएको बताए ।
चन्द्रनिगाहपुरमा उज्ज्वल भविष्य फाउन्डेसन आवासीय ः लागूपदार्थ तथा मद्यपान पुनःस्थापन केन्द्र खोलेका छन्, अभिशेष खड्काले । उनका अनुसार चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री गर्न नपाइने मनोद्दीपक औषधिहरू बढी मुनाफाको लोभमा औषधि पसलेले बेच्ने गर्दा दुर्व्यसनी बढाएका छन् । ‘सीमावर्ती क्षेत्रमा भने नेपाली प्रयोगकर्ताले भारतीय बजारबाट सजिलै यस्ता औषधि किनेर ल्याउने गर्छन्,’ कुनै समय आफैं पनि लागूऔषध दुर्व्यसनमा फसेका अभिशेषले भने, ‘प्रहरीको आँखा छलेर दिनहुँजसो वारिपारि गर्छन्, म आफैं पहिला यस्तै गर्थें ।’ उनको केन्द्रमा अहिले दुर्व्यसनमा फसेका १० जना दुर्व्यसनमुक्त हुने प्रक्रियामा छन्, जसमध्ये ५ जना २० वर्षमुनिका छन् ।
नागरिक समाजका अगुवा केदार थापा खराब संगत, पारिवारिक किचलो र डिप्रेसनका कारण कुलतमा फस्ने युवा/किशोरको संख्या बढिरहेको बताउँछन् । ‘छोराछोरी लागूऔषधको कुलतमा लागेको जान्दाजान्दै बेइज्जत हुने डरले अभिभावक चुप बस्छन्,’ उनले भने, ‘पछि उसको चालचलन थेग्न नसक्ने अवस्था आएपछि बल्ल सुधार केन्द्र पठाउँछन् ।’
चन्द्रपुर अस्पतालका फिजिसियन डा. सुभाष चौधरी लागूऔषध सेवनमा लागेकाहरूमा धेरै समय आफन्तको सम्पर्कभन्दा टाढा बस्न चाहने स्वभाव विकास भइरहेको बताउँछन् । ‘अत्यधिक मात्रा र लामो समयदेखि लागूपदार्थको सेवनले विभिन्न मानसिक रोग निम्त्याउने खतरा रहन्छ,’ उनले भने, ‘काल्पनिक कुरा गर्नु, नशालु पदार्थले आनन्द दिनु, रमाइलो लाग्नु यो सबै भ्रम मात्र हो, जसलाई परामर्श र ध्यानले चिर्न सकिन्छ, कुलतमा फसेका व्यक्तिलाई यसबाट छुट्कारा दिलाउन सबैभन्दा पहिले उनीहरूको समस्या पहिचान गर्नु जरुरी छ ।’
सानै उमेरका किशोरहरू लागूऔषधको दुर्व्यसनमा फस्नुका पछाडि उनीहरूको संगत मात्रै मुख्य कारण देखिन्न, कतिपय अवस्थामा अभिभावकको कमजोरीका कारण पनि उनीहरू लहैलहैमा दुर्व्यसनको दलदलमा फसिरहेको देखिन्छ । जस्तो कि, आशादेवी चौधरीलाई छोराले साथीहरू बोलाएर घरको कोठा थुनेर बस्दा आफूले घण्टौंसम्म किन कोठा थुनेर बसिरहेको छ भनेर चनाखो नभएकामा अहिले आएर पछुतो लाग्छ । ‘उसले ढोका थुनेर साथीहरूसँग पढिरहेको होला भन्ने ठान्यौं,’ उनले भनिन्, ‘तर, ऊ त साथीहरूसँग अरू नै योजना बनाइरहेको हुने रहेछ । हामीले त्यतिबेला उनीहरूको कुराकानी मात्रै ख्याल राखेको भए सुरुमै उसलाई सम्झाउन सक्थ्यौं होला ।’ साथीहरूसँग घुम्न जाँदा पनि उसलाई आफूहरूले कहाँ र को साथीसँग गइरहेको छ भन्ने कुरामा ख्याल नराख्नु अभिभावकको कमजोरी भएको उनले बताइन् ।
आशादेवीको जस्तै अनुभव छ अहिरबाबुको पनि । उनले पनि छोराको पर्याप्त निगरानी गर्न नसकेको र ऊसँग पर्याप्त कुराकानी गर्न नसकेकैले उसले बिग्रने मौका पाएको बताए । ‘उसको र उसका साथीहरूका बारेमा खबर लिनै हामी चुक्यौं,’ उनले भने, ‘यसले पनि ऊ बिग्रियो ।’
मनोचिकित्सक राखी शर्माले कुलतमा सन्तान फसिरहेको बारे सुरुमै अभिभावकले थाहा नपाउँदा किशोरहरू दलदलमा फस्ने सम्भावना बढी हुने गरेको बताइन् । कुलतमा फसिसकेको थाहा पाएपछि पनि कस्तो भूमिका खेल्ने भन्नेबारे अभिभावकले समयमै निर्णय गर्नुपर्ने उनले बताइन् । ‘सेवनको समयावधि पनि बुझ्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘किनभने, भर्खरै सुरु गरेकालाई परामर्श दिँदा छिट्टै कुलतबाट अलग हुने सम्भावना रहन्छ ।’ लागूऔषधको दुर्व्यसनमा सन्तान फसेको समयमै थाहा नहुँदा कतिपयको मानसिक अवस्थासमेत बिग्रँदै जाने जोखिम हुने उनले बताइन् । ‘लागूऔषधविरुद्ध सचेतना जगाउन जरुरी छ,’ उनले भनिन्, ‘अनि, लागूऔषधको सामाजिक र मानसिक असरका विषयमा सबैलाई जानकारी हुन जरुरी छ ।’
दुःखसँगै आर्थिक पिरलो
लागूऔषध दुर्व्यसनमा फसेका सन्तानका कारण मधेश प्रदेशका अभिभावकले सामाजिक अवगाल, मानसिक चिन्ता त सहेका छन् नै त्यसभन्दा पनि धेरै उनीहरू आर्थिक समस्यासँग जुधिरहेका छन् । मधेश प्रदेशका १८ वटै सुधार केन्द्रबाट लिइएको तथ्यांकलाई विश्लेषण गर्दा सुधार केन्द्रले औसतमा मासिक १५ हजार रुपैयाँ लिने गरेको देखियो । अक्सर सुधार केन्द्रमा राखिनेहरूले न्यूनतम पनि तीन महिनाको समय गुजारेको देखिन्छ । सुधार केन्द्रमा मधेशका अभिभावकले औसतमा मासिक ७२ लाख रुपैयाँभन्दा बढी खर्चिरहेको देखिन्छ ।
कमजोर आय भएका र विपन्न परिवारका छोराहरू लागूऔषधमा फस्दा कतिपयले आर्थिक अभावकै कारण सुधार केन्द्रसम्म पुर्याउन पनि सकिरहेका छैनन् । कलैया नगरपालिका–१४ का रामप्रसाद कुर्मी ज्याला मजदुरी गरेर गुजारा गर्छन् । पहिला उनी बजारमा तरकारी बेच्थे । कोभिडको महामारीपछि उनले पेसा छाडे । अहिले उनी बजारमा भारी बोक्ने काम गर्छन् । यसैबीच उनका १८ वर्षीय छोरा लागूऔषधको कुलतमा फसे ।
९ कक्षामा पढिरहेका सुजन एकाएक विद्यालय जान छाडे । ‘गलत साथीको संगतले बिग्रियो,’ रामप्रसादले भने, ‘असारको पहिलो साता त स्थानीय सुधार केन्द्रमा लगेर राखिदिएँ ।’ ज्याला मजदुरी गर्ने कुर्मीलाई अहिले सुधार केन्द्रमा राखेको १५ हजार रुपैयाँ तिर्न सकस छ । ‘महिना पुगेपछि कसरी रकम जुटाउने भन्ने पीरले सताउन थाल्छ,’ उनले भने, ‘एकातिर छोरा बिग्रेकामा चिन्ता छ, अर्कोतिर हामीजस्तो गरिबका लागि सुधार केन्द्रको खर्चै महँगो छ ।’
(सुधारगृहमा रहेका लागूऔषधका दुर्व्यसनी र उनीहरूका अभिभावकको नाम परिवर्तन गरिएको छ ।)-कान्तिपुरबाट