
महोत्तरी- ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा वर्दिवास नगरपालिकाको मुख्य चोकमा दिप प्रज्वलन गरी मनाइएको छ।
न्यायममा पहुँच सबलिकरण परियोजना अन्तर्गत समग्र जनउत्थान केन्द्र लहानद्वारा गठित न्यायका लागि नागरिक संजालको आयोजना तथा बर्दिवास नगरपत्रकार संजालको समन्वयमा दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।
दिप प्रज्वलन कार्यक्रममा नेपाल प्रेस युनियन मधेस प्रदेशका महासचिव पत्रकार तथा अधिकारकर्मी अजय साहले बिश्व शान्ति दिवसको औचित्य र महत्वका बारेमा प्रष्टयाएका थिए ।
न्यायका लागि नागरिक संजाल बर्दिवासका अध्यक्ष दिपा लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वोरेक नेपाल महोत्तरीका संयोजक बिना सिंहले द्वन्द्वमा परेका घरपरिवारलाई राज्य उचित क्षतिपूर्ति सहितको बन्दोबस्त अझ सम्म गर्न नसकेकोमा बताउँदै मुलुकमा शान्ति बहालीको कामना गरेकी थिइन् ।
यसैगरि कार्यक्रममा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष सुनिता बरालले मुलुक देखिएको विभिन्न किसिमको द्वन्द्व व्यवस्थापन भइ शान्ति सुरक्षा बहाली भइ आम जनताले शान्तिपूर्वक बाँच्न बातावरणको सृजना होओस् भन्दै दिवसको सफलताको शुभकामना व्यक्त गरेकी थिइन् ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् ।
यस वर्षको विश्व शान्ति दिवसको नारा ‘एक्सन फर पिस : आवर एम्बिसिन फर द ग्लोबल गोल्स’ रहेको छ । शान्ति कायम गर्नु व्यक्तिगत र सामूहिक उत्तरदायित्व रहेको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घले शान्ति प्रवर्द्धनबाटै दिगो विकास लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकारसम्बन्धी घोषणा जारी भएको पनि ७५ वर्ष पुगेको छ । अहिले अन्तर्राष्ट्रिय कानूनको अभिन्न अङ्गका रूपमा पनि शान्तिको अधिकार स्थापित भएको छ ।सेप्टेम्बर २१ लाई विश्व समुदायले ‘अल्जाइमर्स डे’ का रूपमा पनि मनाउँदै आएको छ ।



