जनकपुरधाम- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) मधेश प्रदेशले विद्यालय सञ्चालक तथा प्रधानाध्यापक (प्रिन्सिपल) रुपेश सर्राफको हत्याविरुद्व आज (मंगलबार) विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।
नेशनल प्याब्सनले सर्राफको हत्याको कडा निन्दा र भर्त्सना गरेको छ ।
नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले विज्ञप्ति जारी गर्दै प्रिन्सिपल सर्राफको हत्याको विरोधमा नेशनल प्याब्सनअन्तर्गत प्रदेशभरका विद्यालयहरू बन्द गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
हत्यामा संलग्न दोषीलाई यथाशिघ्र पक्राउ पीडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसँग नेशनल प्याब्सनले मागसमेत गरेको छ । न्याय दिलाउन ढिलासुस्ती भए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न चेतावनी समेत दिएको छ ।
प्रिन्सिपल सर्राफको निर्मम हत्याले मधेश प्रदेशका सम्पूर्ण शिक्षा क्षेत्र नै शोकाकुल बनेको भन्दै नेशनल प्याब्सनले मृतक सर्राफप्रति श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा गहिरो सम्बेदना प्रकट गरेको छ ।
सर्राफ (गुड्डु)को हत्या प्रकरणमा संग्लग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एकजना महिला विद्यालयकै पूर्वकर्मचारी (लेखापाल) रहेको बारा प्रहरीले जनाएको छ ।
६ जनामध्ये ३ जना भारतीय नागरिक रहेको बाराका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
बाराको कलैयास्थित बाल एकता माविको संचालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । गोली लागेर घाइते भएका उनको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको थियो ।
२ वटा मोटरसाइकलमा चढेर आएका ४ जनाको समूहले कलैया–६ मदर्सा टोलमा दिनदहाडै गोली प्रहार गरेका थिए ।
घाँटी तथा छातीमा २-२ गोली लागेका सर्राफको कलैया अस्पतालमा उपचार हुन नसकेपछि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
यस्तो छ विज्ञप्ति