दिपेश मल्लिक
जनकपुरधाम- अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले धनुषा कमला नगरपालिकाकी १४ वर्षीय किशोरी सरिता कुमारी यादवलाई आफ्नो पद हस्तान्तरण गर्नु भएको छ ।
महिला सशक्तिकरण अभियान अन्तर्गत प्लान इन्टरनेशनल नेपालको कार्यक्रम अन्तर्गत बिहिबार प्रतिकात्मक रुपमा उहाँलाई मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइएको थियो । मन्त्रीको पदभार ग्रहण गरेपछि संचारकर्मीलाई प्रतिक्रिया दिदै सरिताले आफु मन्त्रीको कुर्सीमा वस्न पाउंदा भाग्यमानी ठानेको तथा यसले महिलाको मनोबल उच्च भएको बताउनु भयो ।
केही वेरका लागि मन्त्री बनेका सरिताले आम नागरिकले उठाएका विषयवस्तुलाई सम्बोधन गर्नका लागि मन्त्रालयमा उपस्थित स्वास्थ्य तथा जनसंख्यामन्त्री सिंहलाई आग्रह गर्नु भएको थियो ।
उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालय सँग उठेका विषयवस्तु वारे जवाफ दिदै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले स्वास्थ्य क्षेत्रलाई समृद्ध बनाउन आफू निरन्तर लागिपरेको बताउनु भएको छ । उनले भने स्वास्थ्य क्षेत्रमा भएको असुबिधालाई अन्त्यगर्न नागरिकलाई आधारभूत स्वास्थ्य सेवा र समग्र रोगहरुको उपचार गर्न सुविधा प्रदान गर्न जरुरी रहेको धारण राख्नु भयो । साथै स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन सवैजना एकजुट भई अगाडि बढ्न आग्रह गर्नु भयो ।
उनले यस आर्थिक वर्षमा जनशक्ति व्यवस्थापन, उपकरणको खरिद र भौतिक पुर्वाधारको निमाणर् हुने किसिमले बजेट बिनियोजन भएको बताँउदै फागुन मसान्त सम्ममा प्रत्येक प्रादेशिक अस्पतालमा जनशक्ति र उपकरणको प्रयाप्त व्यवस्थापन गरिने ध्यानाकर्षण गराउनु भयो ।




