आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि हात पारेको हो । क्रिकेट मैदानमा पुगेर प्रधानमन्त्री प्रचण्डले उपाधि विजेता ओमानलाई ट्रफी प्रदान गर्नुभएको हो ।
निर्धारित २० ओभरको खेल बराबरीमा टुङ्गिएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनायो । बाइस रनको लक्ष्य पछ्याएको नेपालले पहिलो बलमा कुशल भुर्तेलको विकेट गुमाउनुभयो । ओमानका लागि बिलाल खानले दोस्रो बल डट राखे भने तेस्रो र चौथो बलमा नेपालले एक/एक रन बटुल्नुभयो । पाँचौँ र छैटौँ बलमा कुशल मल्लले लगातार दुई चौका प्रहार गरे पनि नेपालको जीतका लागि त्यो पर्याप्त भएन र उपाधि ओमानले जित्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ८४ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
गुल्सन झा बेस्ट ‘ट्यालेन्ट अफ टुर्नामेन्ट’, कुशल भूर्तेल ‘बेस्ट ब्याटर’
आईसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा गुल्सन झा ‘बेस्ट ट्यालेन्ट अफ टुर्नामेन्ट’ घोषित भएका छन्।
यससँगै गुल्सन ‘बेस्ट नेपाली प्लेयर’ पनि घोषित भए। उनले प्रतियोगितामा ५ विकेट लिनुको साथै ७५ रन बनाए।
प्रतियोगितामा १८५ रन जोडेका कुशल भूर्तेलले ‘बेस्ट ब्याटर’ घोषित भए।
ओमानका बिलाल खान ‘बेस्ट बलर’ घोषित भए। ओमानकै अकिब इलियास ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए।