महोत्तरी। प्रहरी निरीक्षक(इन्सपेक्टर) मनोज कुमार यादव कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH ) घोषित भएका छन्। ईलाका प्रहरी कार्यालय गौशला महोत्तरीमा कार्यरत इन्सपेक्टर यादवलाई मंगलबार कार्य सम्पादनको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले २०८० कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।
महोत्तरीका प्रहरी उपरीक्षक(एसपी) प्रकाश मल्लले यादवलाई ‘सर्वोत्कृष्ट प्रहरी’ अवार्डले सम्मान गरेका हुन् । इन्सपेक्टर यादवले जघन्य अपराध नियन्त्रण, अवैध हातहतियार पक्राउ, लागुऔषध लगायत विषयहरुमा सक्रिय भूमिका खेलेका थिए। महोत्तरीमा भन्सार चोरी निकासी पैठारी नियन्त्रण, समुदायलाई सुरक्षित राख्न प्रभावकारी सामुदायिक गस्ती ( Community Patrol ) घटित अपराधको वस्तुगत र प्रमाणमुखी अनुसन्धान तथा समाजमा शान्ति सुव्यवस्थालाई कायम राखी आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाएको जिप्रका महोत्तरीले जनाएको छ।
यादवले विभागीय मूल्य मान्यता र आदेश निर्देशनको पालना गरी व्यवसायिक लगनशिल र उच्च मनोबलका साथ कर्तव्य पुरा गरेको र नागरिक र प्रहरी विचको विश्वासलाई अझ सुदृढ गराउने तर्फ प्रशंसनिय कार्य गरेको जिप्रका महोत्तरीले जनाएको छ।




