जनकपुरधाम- सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । सोमवार रामकलेवा विधि भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो।
आइतवार राति वैदिक परम्परा अनुसार प्रतिकात्मक भगवान राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि आज सोमवार रामकलेवा विधि गरिएको छ । जसअन्तर्गत भारत र अन्य स्थानबाट आएका साधुसन्त तथा श्रद्धालुलाई आज ३६ प्रकारको व्यञ्जन भोजन र दक्षिणा सहित विदाई गरिएको छ ।
जानकी मन्दिरका छोटे महन्थ रोशण दास ‘वैष्णव’ले रामकलेवा अन्तर्गत करिब १० हजार साधुसन्त र श्रद्धालुलाई ३६ व्यञ्जनको भोजन गराएको बताए। महन्थ दासका अनुसार भोजनमा दाल, भात, चार वटा तरकारी, दहि, झोरी, बरि, अचार, मिठाई सहित ३६ व्यञ्जन सहित मिथिला भोजन थियो ।
साधुसन्तलाई कम्बल, दोसल्ला र नगद दक्षिणा समेत दिएको सहायक महन्थ वैष्णवले जनाए ।उनले भने, ‘जन्तीलाई विशेष भोजन र दान दक्षिणा दिएर विदाई गर्ने चलन छ । आज त्यो चलनलाई निरन्तरता दिएका छौं । कसैलाई ५ सय त कसैलाई २ सय नगद दक्षिणा दिएर साधुसन्तलाई विदाई गर्यौं ।’
भगवान रामको जन्मभूमि भारतको अयोध्याबाट हरेक ५ वर्षमा जन्ती आउने परम्परा रहेको छ । सोही अनुसार यसवर्ष औपचारिक रुपमा जन्ती आएको थिएन । यद्यपी लाखौं श्रद्धालु र साधुसन्त विवाह पञ्चमीमा सहभागी भएका थिए । एक साता बढि देखि विवाह पञ्चमीको लागि भरिभराउ जनकपुरधाम गए राति सीता-राम विवाह सम्पन्न भए लगत्तै श्रद्धालु भक्तजनहरु फर्केपछि आज शुन्य भएको छ ।
विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौंथौं दिन तिलकोत्सव र पाँचौँ दिन आज मटकोर विधि, छैंटौं दिन स्वयंवर र राति वैवाहिक कार्यक्रम र अन्तिम दिन सोमबार रामकलेवा गरी महोत्सव सम्पन्न भएको हो ।


