जनकपुरधाम- अस्पतालको विषयलाई लिएर प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले सर्लाहीको बरहथवामा कर्फ्यु लगाएको छ ।
शुक्रबार अपराह्न प्राथमिक अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषयमा प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
शुक्रबार साँझ ५ बजेर ३० मिनेटदेखि शनिबार बिहान ८ बजेसम्मका लागि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।



प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर खोले पनि स्थिति नियन्त्रणभन्दा बाहिर जान लागेपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ र ‘क’ को १ र ३ बमोजिम कर्फ्यु लगाइएको प्रशासनको आदेशमा उल्लेख छ ।
‘सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुंगामुढा लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकाले बरहथवाको बजार क्षेत्र (पूर्वमा शितापुर जाने बाटोको ब्रम्हस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती पुल) क्षेत्रभित्र कर्फ्यु आदेश भएको छ,’ आदेशमा उल्लेख छ ।
आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगर प्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुंगामुढा गरेपछि प्रहरीले अश्रुसेल र हवाई फायर खोलेका थिए। त्यसक्रममा एक युवकको ज्यान गएको छ ।
प्रदर्शनका क्रममा बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो ।
बरहथवा नगरपालिका-५ विद्युत प्राधिकरण बरहथवा वितरण केन्द्र कार्यालय अगाडीको पुलमा साहलाई प्रहरीले चलाएको गोली टाउँकोमा लागेर घटना स्थल मै मृत्यु भएको हो ।
उनि बंगलादेशमा एमबिबिएस अध्ययनरत बिधार्थी र घरको एक्लो छोरा थिए ।
शव आन्दोलनकारीकै नियन्त्रणमा रहेकाले के कारणले मृत्यु भएको हो बुझ्न नसकिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोले बताए ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी धमलाका अनुसार झडपको क्रममा ६ जना प्रहरी र दुईजना स्थानीय घाइते भएका छन् ।
के हो विवाद ?
बरहथवा नगरपालिका– ६ स्थित प्राथमिक स्वास्थ केन्द्रलाई ५० शैय्याको बनाउन नगरपालिका बोर्डले गरेको निर्णय कार्यन्वयनको माग राख्दै पटक–पटक प्रदर्शन भयो ।
त्यस्तै प्राथमिक स्वास्थ केन्द्रलाई प्रदेशमातहत ल्याउन माग गर्दै नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल, बहुजन एकता पार्टी नेपालसहित ५ दलले नगरपालिकाको कार्यालय अगाडि पटक–पटक प्रदर्शन गरे ।
त्यसकै निरन्तरतास्वरुप आज पनि प्रदर्शन भएको हो । र प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको हो ।
बरहथवा नगर कार्यपालिकाको २०७९ असोज ९ गते बसेको बैठकले निर्माणधीन नगर अस्पताललाई स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।





