काठमाडौं - नेपाली गीतसङ्गीत जगतका चर्चित व्यक्तित्व भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि मेडिसीटी अस्पताल पुर्याएलगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।
भजन शिरोमणि आचार्य लामो समययता बिरामी थिए । उनलाई भजन शिरोमणिको उपनामले पनि चिनिन्छ ।
उनी विसं १९९९ साल असोज १६ मा जन्मिएका थिए । आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए ।
नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् ।
आचार्यका, जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ, हजार सपनाहरूको माया लायर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् ।
उनका छोराहरू सत्य र स्वरूप पनि संगीत कर्ममा सक्रिय छन् ।
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।