
धनुषा - अहिले साउन महिनामा प्रायः महिलाहरुका नाडी काँचका हरिया चुरामा सजिएका देखिन्छन्। साउन लागे लगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ। रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा मलिाहरूको रोजाइमा परेको छ।
पछिल्ला वर्षमा किशोरीहरुमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ। ‘क्रेज’ बढ्नुलाई धार्मिक विश्वास तथा फेसनका रूपमा लिन सकिन्छ।
विशेषगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन छ। यद्यपि, यस महिनाका सबै दिन उत्तिकै महत्वका साथ लिइन्छ।
साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्ने धार्मिक विश्वासले गर्दा आफूले हरियो चुरा, मेहदी र पहिरण लगाएको जनकपुरधामकी स्थानीय तथा नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य रिंकु गायत्री मिश्र बताउनु हुन्छ ।उहाँले भन्नुभयो, ’साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले महत्वपूणर् भएकाले महिनाभरि हरियो चुरा लगाउने महिलाहरुको रोजााइमा पर्छ।’
मधेस प्रदेश चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डकी सदस्य तथा मोडेल समेत रहेकी जनकपुरधामकी पुष्पा यादवले हरियो चुरासँगै मेहन्दीले हात सजाएको बताउँदै उनले परिवारमा भएका सदस्यका हत्केला र पाखुरामा मेहन्दी तथा चुरा देखेपछि सबैले रहरले लगाउने गरेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘घरैभरि सबैले लगाएका छन्, कसैको हात खाली छैन।’
क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरकी सुनिता अधिकारीले साउने संक्रान्तिका दिन परम्परादेखि चलिआएको लुतो फाल्ने चलन विस्तारै हराउँदै गएको तर हरियो चुरा तथा मेहन्दी लगाउनेको संख्याचाहिँ वर्षैंपिच्छे बढ्दै गएको बताउनुभयो।
कतिपयले हरियो चुरा लगाइसकेपछि फुटाउनु हुँदैन भनेर महिनाभर होसियारी अपनाउने गर्दछन्।साउनमा श्रृंगारका सामान अन्य महिनाको तुलनामा निकै बिक्री हुने व्यापारीहरू बताउँछन्।
साउनको पहिलो दिनदेखि नै बजारमा रहेका श्रृंगार सामानका पसलमा चुरापोते, हरिया, राता, पहेँला बस्त्र खरिदकर्ताका भिड बढेसँगै व्यापार बढिरहेको व्यापारीहरूको भनाइ छ।
महेन्द्रनगर स्थित मीना शृंगार पसलकी प्रोप्राइटर मीना देवी साहले मध्य असारदेखि नै हरियो चुराको बिक्री बढेको बताउनुभयो ।

पुरोहित इन्द्रकान्ता झाका अनुसार यस महिनाको सोमबार शिवको मन्दिरमा पूजा गर्न जाने महिलाको घुइँचो हुने गर्छ। विशेषगरी विवाहित महिला यसमा सहभागी हुने र व्रत पनि बस्ने गर्छन्। महिलाहरूले पतिको सुख, शान्ति र दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन्।
जनकपुर उपमहानगरपालिका भानुचोक बस्दै आएकी सम्झना भट्टराईले पनि साउन महिनाको पहिलो दिनदेखि नै हातमा हरियो चुरा, मेहेन्दी र राता कुर्था सुरुवालमा सजिएर हिँड्ने र सोमबार व्रत समेत बस्न थालेको बताउनुहुन्छ।
उहाँको श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा साउदीमा छन्। श्रीमानको दीर्घायुको कामना गर्दै साउने सोमबारमा व्रत बस्ने गरेको बताउनुभयो ।
सम्झनाले आफ्नी सानी छोरीलाई समेत हातभरि हरियो रङको चुरा र मेहेन्दी लगाइदिएकी बताउनुभयो ।
साउन महिनामा घरायसी महिलादेखि अफिसमा काम गर्ने र ड्युटीमा खटिएका कतिपय महिला ट्राफिक प्रहरी समेतले हरियो चुरा लगाएको देखिन्छ ।
हरियो चुरा पोते लगाउने शास्त्रीय मान्यता नभए पनि यसको चलन बढ्दो छ।
हिन्दू धर्म संस्कृति मान्ने महिलाहरूमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको रोजाइमा पर्छ।
‘पहिले गाउँघरमा मेहन्दी पाइँदैन थियो। मेहन्दी लगाउने चलन पनि थिएन। महिलाहरूले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्थे। हिजोआज तिउरेको ठाउँ मेहन्दीले लिएको छ,’ मिथिला नगरपालिकाकी महिला अधिकारकर्मी बिना कडारीले भन्नुभयो।
साउनमा हरियो चुरा/मेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुने तथा सर्पदंशबाट जोगिइने विश्वास छ। तर पछिल्लो समय धार्मिक आस्थाको आधारमा मात्र नभई देखासिकीका रुपमा पनि चुरा/मेहन्दी लगाइएको कतिपयको बुझाइ छ।
के छ पौराणिक मान्यता ?

पौराणिक मान्यता अनुसार साउन महिना शिवको महिनाका रुपमा लिइन्छ। पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर ‘भगवान शिव’लाई प्राप्त गरेको प्राचीन विश्वासको आधारमा महिलाहरूले यसलाई बढी महत्वको रुपमा लिने गर्छन्।
साउनमा हरियो पहिरदा शिव खुसी हुने धार्मिक विश्वास छ।
हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक उर्जाको वृद्धिको प्रतीक रहेको पनि कतिपयको बुझाइ छ।
हरियो उपचारको रंग पनि हो जो मुटसँग जोडिएको हुन्छ। उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ। विवाहित जोडिको सुमधुर सम्बन्धमा पनि ‘बेडरुम’को दक्षिण पूर्वी हिस्सामा हरियो रङ लगाएमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ।
यस कारण लगाइन्छ हरियो

शास्त्री नविन प्रियदर्शीका अनुसार हरियो रङ सौभाग्यको प्रतीक हो। साउन महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो। यस महिनामा हरियो रङका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको हो।
प्राकृतिक रुपमा पनि हरियो महिना हो, साउन । वनजंगल, खेतवारी सबै हरियो देखिदा साउन महिना शुरु भएपछि युवतीका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् । अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भन्ने भनी हरियो चुरा र मेहन्दी लगाउँछन । तर, यो चलन कहिले बाट आयो र किन साउन मै हरियो चुरा र मेंहन्दी लगाइन्छ भन्नेबारे सबैलाई थाहा नहुन पनि सक्छ ।
हिन्दू धर्मग्रन्थका अनुसार ‘ साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । र साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खुसी प्राप्त गर्न पाइन् ।’

प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र वर्त बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । यसको वैज्ञानिक तथ्य पनि रहेको छ । विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ । श्रीमतीले वर्त बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमाती प्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ ।
साथै चुरा लगाउँदा यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ । चुराको आवाजले मानिसको मस्तिष्कलाई अन्य धेरै नै फाइदा पुर्याउने वैज्ञानिकहरुले पुस्टि पनि गरेका छन् ।
मेहेन्दीले पनि स्वास्थमा फाइदा पुर्याउँछ । मेहेन्दीको शीतलताले तनाव, टाउको दुखाई र ज्वरोबाट राहत प्रदान गर्ने मान्यता रहिआएको छ । नङलाई बढाउनका लागि पनि मेहेन्दी निकै प्रभावकारी मानिन्छ । तर, बजारमा पाइने रसायन युक्त मेहेन्दीले भने यस्ता फाइदा पुर्याउँदैनन् ।
शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइन्छ। हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पुजा गरेमा आफू र पतिको आयू समेत बढ्ने धार्मिक विश्वास छ।
संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडी ‘भ्रमर’का अनुसार हरियोलाई प्रेमको, रातोलाई शौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ। हरियो रङ बुध ग्रहको समेत प्रतीक रहेको बताइन्छ। बुध ग्रह भविष्य तथा व्यापारसँग जोडिने धार्मिक मान्यता छ।
र अनावश्यक तडकभडकको आरोप पनि

हातमा हरियो, रातो र पहेँलो चुरा लगाएर शिवजीको पूजा गर्दा खुसी बढ्ने कतिपय महिलाहरू बताउँछन्। महिलाहरू आफ्नो श्रीमानको सुस्वास्थ्यको लागि सोमबारको व्रत बस्ने विश्वास गरिन्छ। यो एउटा आस्था पनि हो। सबै हिन्दू नारीको साउन महिना चाड बन्न पुगेको छ।

कतिपयले यसलाई अनावश्यक तडकभडकको रूपमा पनि मनाउन थालेका आरोप लगाउँछन् ।
अधिकारकर्मी डा.अरुणा उप्रेतीको अनुसार कुनै पनि विषयको “बजार” बनाउनेहरू बडो मनोवैज्ञानिक हुन्छन् । मान्छेको मनमा के कुराले पिरोल्छ भनेर उनीहरूले अनेक अनुसन्धान गरेका हुन्छन् । महिलालाई “पतिको प्रेम र स्वास्थ्यको “नाममा ‘जे पनि बिकाउन’ सजिलो हुन्छ भन्ने उनीहरूलाई थाहा छ । त्यसैले साउन महिनामा हरियो चुराको संस्कृतिलाई व्यापार बनाउन उनीहरूलाई सजिलो भएको छ ।
डा उप्रेती भन्नुहुन्छ, ’ कुनै पुरुषले हरियो कमिज र हरियो टोपी लगाएर हिँड्यो भने श्रीमती र छोरीको आयु बढ्छ भनेर किन कुनै धर्मग्रन्थमा नलेखेको होला ? किन कुनै धर्मगुरुले नभनेको होला ? आखिर परिवारमा त श्रीमान मात्रै धेरै आयु बाँचेर त भएन, श्रीमति पनि त बाँँच्नुपर्यो ! दाम्पत्य जीवन सुखी बनाउन श्रीमानको कुनै दायित्व नै नहुने हो कि ? सबैको आयु बढाउने जिम्मा श्रीमतिको मात्रै किन होला ? यस्तो प्रश्नको जवाफ महिलाहरूले खोजी गर्न थाल्नुपर्छ ।’
उहाँको अनुसार बजारमा हरियो सारी, कुर्था र चुरा किन्नेहरूसँग पहिले नै दराजमा थरीथरीका लुगा हुन्छन् । तर, बजारले महिलाको मनमा के घुसाइदिएको छ भने हामीले नयाँ हरियो लुगा नकिने, हरियो चुरा नलगाए पतिको आयु बढ्दैन ।
डा उप्रेतीले भन्नुभयो, ‘म पतिलाई माया गर्छु भन्ने कुरा संसारलाई किन देखाउनुपर्यो ? यस्तो प्रश्न महिलाहरू किन गर्दैनन् ? हरियो, रातो, निलो जुन चुरा पनि महिलाले लगाए हुन्छ । तर, जब बजारले त्यो लगाउनैपर्छ भन्ने बाध्यता गर्छ अनि महिलाहरूले ‘हामी त्यसो गर्दैनौँ’ भन्न किन नसकेका होलान् ?
बरु प्रेमको प्रतीकस्वरूप श्रीमान श्रीमतीले दुईवटा रूख रोपेर साउन महिना मनाउन किन नसकेको होला भनेर डा उप्रेतीले प्रश्न गर्नुभयो ।-रासस

तस्बीरः
मधेस प्रदेश चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डकी सदस्य तथा मोडेल समेत रहेकी जनकपुरधामकी पुष्पा यादवले हरियो चुरासँगै मेहन्दी र हरियो पहिरणमा सज्जिदै । तस्बीरः अजयकुमार साह,रासस धनुषा