
जलेश्वर - जिल्लाको गौशाला नगरपालिकामा मालपोत तथा नापी कार्यालयको कामकाज सुरु भएसँगै त्यस क्षेत्रका स्थानीय बासिन्दा खुसी भएका छन् । वर्षौंदेखि ४० किलोमिटर टाढा रहेको सदरमुकाम जलेश्वरस्थित मालपोत र नापी कार्यालयबाट भूमिसम्बन्धी सेवा लिन बाध्य रहेका त्यस क्षेत्रका बासिन्दा अब आजदेखि आफ्नै गाउँठाउँमा सेवा प्राप्त गर्न थालेपछि खुसी भएका छन् ।

महोत्तरीको गौशाला नगरपालिका, औरही नगरपालिका, सम्सी गाउँपालिका र सोनमा गाउँपालिकाका जग्गाको खरिदबिक्री, नामसारी, कित्ताकाट,अंशबन्डा, राजीनामा पासलगायत काम गौशाला बजारस्थित मालपोत र नापी कार्यालयबाट हुने गरी प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कार्यालयको उद्घाटन गर्नुभयो । आजदेखि त्यस क्षेत्रका चार पालिकाका हजारौँ जनताका जग्गासम्बन्धी सबै कामकाज अब गौशालाबाट सुरु भएको छ ।

सोमबार मालपोत र नापी दुवै कार्यालयको उद्घाटन भएसँगै आजदेखि त्यस क्षेत्रका गौशाला नगरपालिका, औरही नगरपालिका, सम्सी गाउँपालिका र सोनमा गाउँपालिकाका जग्गाको खरिद, बिक्री, नामसारी, कित्ताकाट, अंशबन्डा, राजीनामा पास, दृष्टिबन्धक पासलगायत कामहरु सुरु भएको हो ।गौशाला निवासी हजारी साहले वर्षौंदेखि जग्गासम्बन्धी सानोतिनो कामदेखि ठूलठूला सबै कामका लागि ४० किलोमिटर टाढा सदरमुकाम जलेश्वर जानुपर्ने बाध्यता अब आफ्नै स्थानीय तहमा मालपोत र नापी आएपछि हटेको तथा यसले आफूहरु निक्कै खुसी भएको बताउनुभयो ।

औरहीका धर्वेन्द्र यादवले पनि आफ्नो पालिकालाई पायक पर्ने गौशालामा यस क्षेत्रका मालपोत र नापीसँग सम्बन्धित जग्गाका सम्पूर्ण कामकाज हुन थालेपछि आफूहरुको समय, पैसा र श्रमको बचत भएको तथा यसले आम जनमानसमा निकै खुसी ल्याएको बताउनुभयो ।
सम्सीका विजय यादवले जग्गासम्बन्धी कामकाजका लागि सदरमुकाम जलेश्वरस्थित मालपोत र नापी कार्यालयमा भर पर्दै आएको व्यवस्थाको अन्त्य भएर आम जनताले आफ्नै गाउँपालिकाको पायक पर्ने ठाउँमा सेवा प्राप्त गर्न थालेपछि एउटै कामका लागि तीन÷चार दिनसम्म पनि जलेश्वर धाउने झन्झटबाट मुक्ति मिलेको र अतिरिक्त पैसा, समय तथा श्रमको बचत भएको बताउनुभयो ।