
सुजाता राई
विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरले फरकफरक नामका तीनवटा साहित्य–पुरस्कार स्थापना गरेको छ ।
नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरले आज एक कार्यक्रम आयोजना गरी उक्त घोषणा गरेको हो । खोटाङ सामाजिक सेवा मञ्चको हलमा सम्पन्न यस कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, विशिष्ट अतिथि अग्रज साहित्यकार बलराम पोखरेल, प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, प्रा डा हरिहर भण्डारी, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाई, पुरस्कार संस्थापक मनमाया दाहाल तथा मनोहरि पोखरेल, मिनकुमार नवोदित, लगायत अतिथिहरूको उपस्थिति रहेको थियो । विराटनगर तथा आसपासका ठाउँहरूबाट पाल्नु हुने साहित्यकारहरूको बाक्लो उपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो ।

यस कार्यक्रममा प्रति वर्ष समर्पण गरिने रु एघार हजार एक सय एघार रासीको नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार, रु एघार हजार एक सय एघार रासीको माधव–नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार र रु पन्ध्र हजार रासीको नन्दकुमारी पोखरेल स्मृति साहित्य पुरस्कारहरू अक्षय कोषसहित स्थापना गरिएको व्यहोरा आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलले बताउनु भयो । कार्यक्रममा पुरस्कार संस्थापकहरू मनमाया दाहाल, मनोहरि पोखरेल र सीताराम पोखरेल लाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो भने अक्षयकोष दाताका परिवारका सदस्यहरूलाई समेत खादाद्वारा सम्मान गरिएको थियो ।

यस कार्यक्रममा पुरस्कार संस्थापक परिवारको तर्फबाट विश्वकान्त दाहालले सारगर्भित मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले पुरस्कारले साहित्य सिर्जनामा उत्प्रेरणा प्राप्त हुने विचार राख्दै संस्थापकहरूप्रति धन्यवाद र आयोजक संस्थालाई शुभकामना व्यक्त गर्नुभएको थियो । यसै क्रममा अग्रज साहित्यकार बलराम पोखरेल, प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, प्रा.डा. हरिहर भण्डारी, मधु पोखरेल, साहित्यकार सरला चापागाईँ आदि महानुभावहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य रोहिणी रसिकको स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन प्रतिष्ठानका सदस्यसचिव मदन भण्डारीको रहेको थियो ।कार्यक्रममा साहित्यकारहरूले मुक्तकवाचन पनि गरेका थिए ।