जनकपुरधाम - धनुषामा बस दुर्घटना हुँदा २० जना बढी यात्रु घाइते भएका छन् । जनकपुरधामबाट सिरहाको लहानतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २० भन्दा बढी यात्री घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
इप्रका ढल्केवरका अनुसार जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस धनुषाधाम नगरपालिकाको मालटोल नजिक पल्टेर दुर्घटनामा परेको हो । बस दुर्घटनामा सामान्य, मध्यम र गम्भीर गरी २० भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय ६ वटा एम्बुलेन्समा उपचारका लागि जनकपुरका विभिन्न अस्पतालहरुमा लगिएको प्रहरीले जनाएको छ।
न्यूरो अस्पताल जनकपुरधाममा उपचारका लागि ल्याइएका मध्ये ५ को अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ । बसमा अधिकांश यात्रीहरु १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भएर फर्किरहेकाहरु थिए ।




