
सिरहाको औरही गाउँपालिका– ५ मा एक विपन्न डोम परिवारमाथि भएको अत्याचारको घटना बाहिर आएको छ । त्यो ठाउँमा महायज्ञको तयारी गरिएको थियो । यसका हर्ताकर्ता थिए, महात्यागी भनिने बजरंगी बाबा । उनले जातीय लाञ्छना लगाउँदै गाउँपालिका अध्यक्ष शिवजी यादवलाई भन्छन्, ‘डोम भनेका अछुत हुन्, महायज्ञ गर्ने स्थानमा उनीहरूलाई राख्दा यो अपवित्र हुन्छ ।’
यस्तो अन्धविश्वास पत्याएर स्थानीय सरकारले नै त्यो विपन्न र बेसहारा परिवारको सानो संसार उजाड्न जेसीभी पठाउँछ ।
दीपक मरिक र अनिता मरिकको त्यो घर जनता आवास कार्यक्रममार्फत पाँच वर्षअघि सरकारले नै बनाइदिएको थियो । दीपक र अनिता गाउँपालिका र स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रका सफाइकर्मी हुन् । करारमै भए पनि उनीहरू सरकारी कार्यालयमै सेवा गरिरहेका थिए । गाउँपालिका अध्यक्षले घर भत्काउन डोजर पठाएको दिन पनि उनीहरू काममै हुन्छन् ।

हप्ता दिनअघि मात्रै दीपक र अनिताले घरमा बुहारी भित्र्याएका थिए । डोजर आउँदा घरमा उनीहरूकी बुहारी र ससाना केटाकेटी मात्रै थिए । भूमि पूजन गर्नु छ भन्दै हतारिएका बजरंगी बाबाले घरबाट तुरुन्तै सामान झिक्न आदेश दिन्छन् । अनिताकी बुहारी र केटाकेटीले भ्याएजति र सकेजति सामान झिक्छन् । त्यत्तिकैमा डोजरले घर भत्काउन थाल्छ । झिक्न नभ्याएका केही समान त्यहीँ पुरिन्छन् ।
३० वर्षदेखि त्यो ठाउँमा बसेका मरिक परिवारले ५ वर्षअघि मात्रै दुईकोठे पक्की घर पाएका थिए । त्यो पनि निमेषभरमै डोजरले ढालिदियो । आफूलाई रोजगारी दिएका गाउँपालिका अध्यक्षले अर्को व्यवस्था गरिदिने आश्वासन दिँदा दीपकले मुन्टो हल्लाएर सहमति दिएका थिए । तर, विगतका दुःखसुख जोडिएको स्थानमा बनेको घर ध्वस्त भएको देख्दा उनले मन सम्हाल्न सकेनन् । तर, त्यसको विरुद्धमा उनले बोल्न पनि सकेनन् । न अरु कसैले उनीहरूमाथि भएको अन्याय बाहिर ल्याउन नै साहस गरे ।
दीपक र अनिताका लागि त्यो घर केवल इँटाको थुप्रो थिएन, सपनाको संसार थियो । वर्षौंपछि उनीहरू सुरक्षित घरमा बस्न पाएका थिए । गाउँमा ट्युबवेलको छेउमा समेत जान नपाउने उनीहरूले आफ्नै खर्चमा ट्युबवेल बनाएर खानेपानीको व्यवस्था गरेका थिए । राजमार्गबाट अलिक भित्रै भएकाले केटाकेटीका लागि पनि सुरक्षित नै थियो ।
तर, ३० वर्षदेखि बसेको थातथलो, बालबच्चाको नाभी जोडिएको घर अनि नयाँ बुहारी भित्र्याएको आँगन एकैछिनमा उजाडियो । घर मात्र होइन, पालिकाले उनीहरूको मन पनि भत्काइदियो ।
यो विपत्ति आउनुअघि घरछेउमै १०८ विष्णु महायज्ञ लाग्ने खबरले अरु गाउँले जति खुसी थिए, मरिक परिवारको खुसी त्योभन्दा कम थिएन । तर, उनीहरूलाई के थाहा, महायज्ञको नाममा उनीहरूको उठिबास लाग्दै छ भनेर ।

सरकारले बनाइदिएको मरिक दम्पतीको घर पालिकाले भत्काइदिएको घटना झण्डै एक महिनासम्म गुपचुप राखियो । अन्यायमा परेको परिवार एकातिर, अनि सिङ्गो स्थानीय सरकार र समाज अर्कातिर भएकाले सबै तैँ चुप मै चुप थिए । जागिरबाट निकालिने डरले दीपक र अनिताले कतै उजुरबाजुर गर्ने हिम्मत गरेनन् ।
६ चैतमा केही पत्रकार घटनास्थलमा पुगेपछि स्थानीय सरकारबाटै भएको अत्याचारको घटना बाहिर आएको छ । सिरहाका पत्रकार अर्जुनकुमार थपलियाका अनुसार, मरिकको घर मात्र भत्काइएन, बरु अछुतले छोएको माटो भनेर दीपक मरिकको घरले चर्चेको जमिनको दुई फिटजति माटोसमेत ताछेर फालिएको थियो ।
इँटाको घर उजाडेर मरिक परिवारलाई दुई कोठाको फुसको घरमा सारिएको छ । स्थानीय श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीको जग्गाको एउटा कुनामा उनीहरूलाई झुप्रो दिइएको छ । साना केटाकेटी भएका उनीहरूलाई दिइएको घरबाट बाहिर निस्कनासाथ राजमार्ग छ । ४५ वर्षीया अनिता र उनका श्रीमान् दीपकसहित परिवारमा सात जना छन् ।
सुनसान ठाउँमा बस्न बाध्य मरिक परिवार अहिले खानेपानी, बिजुली र सुरक्षा अभावसँग जुधिरहेको छ । आफ्नै ट्युबवेल छैन । अछुत भनेर गाउँमा कसैले पानी भर्न त के, आँगन टेक्नसमेत दिँदैनन् । चैतको चर्को घाममा तिर्खाले छटपटाउनुपरेको छ । अनिता र दीपकका लालाबाला बिरामी पर्न थालेका छन् ।
उनीहरूलाई वर्षायाममा डुबान हुने ठाउँमा राखिएको अर्का पत्रकार आशीष विश्वकर्माले बताए । अनिताको परिवारलाई राखिएको ठाउँ बर्खामा भेलबाढीले जलमग्न हुने गरेको छ । गर्मी बढेसँगै सर्प निस्कन्छ । अन्धकारमा भयभीत भएर उनीहरूले रात काटिरहेका छन् ।
मिडियाकर्मीले उनीहरूलाई घटनाबारे सोधेका थिए । यसबारे अनिताले गाउँपालिका अध्यक्ष र वडा नम्बर ५ का पूर्ववडाध्यक्ष दिलीप यादवले दबाब दिएर हट्न बाध्य पारेको बताएकी छन् । उनले आफ्नो पुरानो घर बिर्सेकी छैनन् । त्यसैले त घरको एक–एक भग्नावशेष टिपेर फुसको छाप्रोनजिकै ल्याएर थोपरेकी छन् । उनी आफैँ मुटुको बिरामी हुन् ।
अनिताको परिवारलाई नयाँ ठाउँ किन पनि असुरक्षित लागिरहेको छ भने उनीहरूलाई राखिएको जग्गा विद्यालयको हो । भोलि स्कुलले हटाउँदा बसिरहन पाइँदैन । किनभने पालिकाले स्कुलको सहमति नलिई उनीहरूलाई जबर्जस्ती त्यहाँ बसाएको हो ।
रुनै लागेकी आमाको आँसु पुछ्दै उनका ८ वर्षीय छोरा आकाशले रिपोर्टिङ गर्न गएका पत्रकारहरूसित घर भत्काइदिने बाबालाई कारबाही गराउन माग गरे ।

अनिताले घरको ढोकामै शिवजी, विष्णु, गणेश र लक्ष्मीका चित्रहरू टाँसेकी छन् । तर, यी चित्र कागजका टुक्रा मात्र नभएर उनको आस्था र दैनिक प्रार्थनाका प्रतीक पनि थिए । तर, धर्मको नाममै उनीहरूमाथि अत्याचार भयो । अनिताको घरमा टाँसिएका भगवान्को तस्वीरले देखाउँछ, उनीहरू पनि आफ्नो धर्म अनि आफ्नो ईश्वरप्रति उति नै समर्पित छन्, जति बजरंगी बाबाहरू छन् । तर, बजरंगी बाबाहरूले धर्मको नाममा उनीहरूलाई मानिस होइन, अछुत डोम करार गरिदिए । पीडित परिवारसँग कुरा गरेर फर्केका पत्रकार थपलिया भन्छन्, ‘यो धर्मको नाममा गरिएको विश्वासघात र अपराध हो ।’
हिन्दु धर्मले ‘वसुधैव कुटुम्बकम’ अर्थात् संसार नै परिवार हो भन्छ । तर, यही धर्मको छायामा भइरहेको छुवाछुतले अनिताजस्ता धेरैलाई परिवारबाट एक्ल्याएको मात्र छैन, मान्छे नै होइन भन्ने भान गराइदिएको छ ।
अनिता भावुक हुँदै भन्छिन्, ‘डोमको कोखमा जन्मेकै कारण आज हामीले यस्तो अपमान भोग्नुपर्यो ।’
बजरंगी बाबाले यज्ञ गरेर पवित्र गर्न खोजेको ठाउँमा अनिताको घरले छोएको माटोलाई अशुद्ध करार गरिदिए । तर, यज्ञको पवित्र अग्निमा डोम समुदायको आत्मा जलाएको बजरंगी बाबाको पापलाई कसले करार गरिदिन्छ ? प्रश्न पेचिलो छ ।
अनिताले आफूसँगै भगवान्का तस्वीर पनि फुसको घरमा सारेकी छन् । उसैगरी ढोकामा ती चित्रहरू टाँसेकी छन् । मान्छेले गरेको अमानवीय व्यवहारको दोष ती चित्रका भगवान्लाई लगाएर टाढिन उनीहरू सायद चाहँदैनन् ।
अनिताका छोरा अर्जुनले प्रश्न गरे, ‘के हामी मान्छे होइनौँ ? हाम्रो घरले त्यहाँ यज्ञ गर्न के बाधा पुर्यायो ? त्यहाँ अरु पनि जाति थिए । तर, डोम भएकै कारण हाम्रो मात्र घरमा डोजर चलाइयो । अछुत भनेर त्यहाँको माटोसमेत खनेर फालियो ।’
यज्ञ आयोजक समितिका अध्यक्षसमेत रहेका गाउँपालिका अध्यक्ष शिवजी यादवले मरिक परिवारको घर भत्काएको स्वीकारेका छन् । अर्को व्यवस्था गरेर उनीहरूको सहमतिमै सारिएको उनको दाबी छ ।
त्यहाँ कृषि बजार लगाउन ३ करोडमा टेन्डर लागेको समेत उनले बताएका छन् । घर भत्काए पनि अर्को स्थानमा पुनर्स्थापना गरिदिएको भन्दै यादवले क्याम्पस बनाउन यज्ञ आयोजना गरिएको जिकिर गरे । उनले घर त भत्काएर अर्को बनाइदियौँ भनिरहँदा एउटा प्रश्न अनुत्तरित थियो, ‘के नयाँ घरसँगै मरिक परिवारको भत्किएको मन पनि बन्छ ?
सार्वजनिक हितको नाममा दलित परिवारमाथि अन्याय गर्ने गाउँपालिका अध्यक्ष यादव उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट निर्वाचित स्थानीय सरकार प्रमुख हुन् । वडा नम्बर ५ का भूतपूर्व वडाध्यक्ष दिलीप यादव भने सीके राउत नेतृत्वको जनमत पार्टीको औरही गाउँपालिका अध्यक्ष हुन् ।
घटनास्थलमा पुगेर फर्केका पत्रकार, अधिकारकर्मीहरूले दीपक र अनितालाई जागिर खाइदिने धम्की दिएर चुप लाग्न र आरोप फिर्ता दिन दबाब दिइएको छ । सहयोगको मद्दतमा पीडित दीपकले ६ चैतमा राष्ट्रिय दलित आयोगमा न्यायको याचना गर्दै उजुरी दिएका छन् । स्थानीय दलित अभियन्ता कबुल पासवानले मरिक परिवारले न्याय पाउनुपर्ने बताए ।
औरही पालिकामै घर भएका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार, दीपकलाई लखेटिएको क्षेत्रमा ५ घर दास तत्माहरूका छन् । ती कसैका पनि घर भत्काइएन तर डोम परिवारको घर मात्रै भत्काइयो । बजरंगी बाबाले त्यो ठाउँ पवित्र गर्ने भन्दै जल छर्किए । उनले दोषी बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवमाथि कारबाही गर्न सरकारसँग माग पनि गरे ।
तराई मधेशमा डोम समुदायले भोग्नुपरेको पीडा आङै सिरिङ्ग पार्ने खालको छ । सिरहाका पत्रकार आशिष विश्वकर्माका अनुसार, धेरैजसो डोम परिवारहरू कुनै ठाउँमा १० वर्षभन्दा बढी बस्न पाउँदैनन् । उनीहरूलाई गाउँमा बस्न दिइँदैन । गाउँनजिकै कतै सुनसान ठाउँमा बस्छन् । पछि त्यो ठाउँमा बस्ती विस्तार भएपछि फेरि उनीहरू अर्को सुनसान ठाउँमा जान बाध्य हुन्छन् । उनीहरूमाथि सामान्य मानवीय व्यवहार पनि गरिँदैन ।
सिरहाको मरिक परिवारमाथि भएको घटनाले तराईका डोम समुदायमाथिको सामाजिक बन्धन र संस्थागत जातीय उत्पीडनको क्रूर तस्वीर देखाएको छ । यति मात्र होइन, यसले छुवाछुत कानुनी रूपमा मरे पनि सामाजिक रूपमा जिउँदै छ भन्ने पनि पुष्टि गरेको छ ।
मरिक परिवारमाथि जे भयो, त्यो नेपालको संवैधानिक प्रतिबद्धता, संयुक्त राष्ट्रसंघ दलित अधिकार प्रस्ताव अनि अन्तर्राष्ट्रिय नागरिक र राजनीतिक अधिकार सन्धिको उल्लंघन पनि हो । दलित आयोग, राष्ट्रिय मानवअधिकार आयोगजस्ता निकायले पीडितलाई न्याय र पीडकलाई कानुनी दायरामा ल्याएर दलित समुदायप्रति राज्यको जवाफदेहिता र न्यायको सन्देश स्थापित गर्नुपर्छ । सरकारले गैरकानुनी हर्कत गर्ने पालिका अध्यक्ष यादव र जातीय विभेदको नाइके बनेका बजरंगी बाबालाई कानुनी दायरामा ल्याउन ढिलाइ गर्न हुन्न ।-शिलापत्र