
महोत्तरी - महोत्तरीको दुई परीक्षा केन्द्रबाट एक केन्द्राध्यक्ष र चार निरिक्षकलाई स्पष्टिकरण सोधिने भएको छ । चल्दै गरेको माध्यमिक शिक्षा परीक्षा(एसइई) को छैठौ दिनको अतिरिक्त विषयको परीक्षामा परीक्षा केन्द्र अमर्यादित भएको भन्दै उनीहरुलाई अनुगमन टोलीको सिफारिसमा स्पष्टिकरण सोध्न लागेको हो ।
महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने र राष्ट्रिय अनुसन्धान विभाग महोत्तरी कार्यालयका उप अनुसन्धान निर्देशक एसपी सुदिप अधिकारीसहितको परीक्षा अनुगमन टोलीले श्री प्रसाद सिंह मावि औरहीका केन्द्राध्यक्ष शिवशरण यादवलाई परीक्षा अव्यवस्थित र अर्मादित भएकोमा केन्द्राध्यक्ष भएर समेत सो नियन्त्रण किन गर्न नसकेको भन्दै स्पष्टिकरण पेश गर्न भनेको छ ।
त्यस्तै त्रिभुवन मावि गौशालाका चारजना निरिक्षकलाई अनुगमन टोलीको केहि परीक्षा संचालन सम्बन्धी असन्तुष्टीबारे स्पस्ट जवाफ दिन नसकेपछि स्पस्टिकरण सोधिएको हो । उनीहरुको स्पष्टिकरण जिल्ला स्तरीय परीक्षा समितिमा पेश गर्न भनिएको हो । केन्द्राध्यक्ष र निरिक्षकले आजै सो स्पष्टिकरण पेश गर्नुपर्नेछ ।