महोत्तरी – गौशाला नगरपालिका –५ मा गोरु तथा खसीबजारको ठेक्काको विषयलाई लिएर केहि अराजक समूहले विवाद उत्पन्न गराई समस्या निम्त्याएको आरोप नगर प्रमुख डा.दिपेन्द्र महतोले लगाउनुभएकाे छ।
नगर प्रमुख डा. महतोले आज एक प्रेस विज्ञप्ति जारीगर्दै निगौल गाई गौशाला व्यवस्थापन कार्यालय र नगरपालिका बीच भएको केहि असमदारीको फाइदा उठाउँदै केहि अराजक समूहले विवाद चर्काएको आरोप लगाउनुभएकाे छ।



नगर प्रमुख डा. महतो द्वारा जारी विज्ञप्तीमा गौशाला बजार ठेक्का विवादमा सोमबार राजस्व संकलन क्रममा निगौल गाई गौशाला र नगरपालिका पक्षधरबीच केहि अराजक समूहले घुसपैठ गरी झडप गराएकाे आरोप लगाइएको छ ।विज्ञप्तीमा गौशाला व्यवस्थापन कार्यालयका कर्मचारीले केही अराजक व्यक्तिले समूह बनाई सुनियोजित तरिकाले झडप गराएको बताइएकाे छ।
विज्ञप्तीमा उल्लेख छ, ‘राजस्व हिनामिना गरी नगरपालिकालाई डर, धाक र धम्कीको चुनौती दिन यो क्रियाकलाप भएको देखिन्छ । सोमबार भएको घटना जबरजस्ती नियमविपरीत राजस्व उठाउनु र गुण्डागर्दी गर्नु हो।’विज्ञप्तिमार्फत स्थानीय बजार व्यवस्थापन स्थानीय तहको एकल अधिकार सूचीमा रहेको उल्लेख गर्दै प्रमुख महतोले गौशाला बजार ठेक्का बन्दोबस्त गरी आन्तरिक आय संकलन स्थानिय तहले गर्ने अधिकार भएकाे बताउनुभएकाे छ ।
नगरप्रमुख महतोले आव २०८२/०८३ मा खुल्ला डाकबढाबढ प्रक्रियाअनुसार कानुनसम्मत बजारको ठेक्का सम्झौता गरिसकेको अवस्थामा गौशाला व्यवस्थापन कार्यालयका कर्मचारीले कार्यालयकै नाममा मवेशी बजारको नामले जबरजस्ती कानुनविपरीत अर्को रसिद काटेर गुण्डाशैलीमा बजारको आय असुली गर्न खोजेको आरोप लगाउनुभयाे ।
निगौल गाई गौशालाको कार्यालय र गौशाला नगरपालिकाको कार्यालय बीच २०७० मा गोरु र खसी बजार ठेक्का बापतको २५ प्रतिशत रकम निगौल गाई गौशालालाई उपलब्ध गराउने सम्झौता भएको छ ।तर, गौशाला नगरपालिका कार्यालयले ठेक्काबापतको ५ करोडभन्दा बढी बाँकी रहेको रकम दिन नमानेपछि पशु बजार ठेक्का आफैं लगाउने प्रक्रिया अगाडि बढाउँदा नगरपालिकाले अवरोध गरेको निगौल गाई गौशालाको कार्यालय प्रमुख वीरबहादुर चौधरीले बताउनुभयो ।
सोमबार विहान ठेक्का रकम सङ्कलनको प्रयासका क्रममा नगरपालिका पक्ष र गाई गौशाला पक्षधर बीच विवाद उत्पन्न भई हात हालाहाल भएको थियो ।विवादले झडपको रुपलिंदा चार जना घाइते भएका छन्। झडपमा परेर वडा नं. २ का वडा अध्यक्ष श्याम कुमार मण्डल, स्थानीय विपिन साह, विजय यादव र सुरेन्द्र महतो घाइते भएका छन् ।
स्थितीलाई नियन्त्रणमा लिनकाे लागि प्रहरी बल परिचालन गरि स्थितीलाई नियन्त्रणमा लिएको थियो। दुई पक्षबीच झडप भएपछि इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक विकास बमको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्दकिशोर प्रसाद चौहानको कमाण्डमा खटिएका प्रहरीले झडप नियन्त्रणमा लिएको थियो ।
नगरप्रमुख महतोले केहि अराजक व्यक्तिहरूको घुसपैठले झडपमा परि गौशाला नगरपालिका वडा नं. २ को वडाध्यक्ष श्याम सुन्दर मंडल र वजार ठेकेदार प्रतिनिधि विजय यादवलाई धारिलो हतियारले प्रहार गरी सुनियोजित तरिकाले ज्यान मार्ने काम गरेको आरोप समेत लगाउनुभएकाे छ।
उहाँले सोमवारको घटनाले नगरपालिकाको गम्भिर ध्यानाकर्षण उल्लेख गर्दै घटना निन्दनीय र गैर कानुनि रहेको हुनाले घटनामा संलग्न व्यक्तिहरुलाई पहिचान गरी अबिलम्ब कारबाहीको लागि माग गर्नुहुँदै घाईतेहरुको स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ।
साथै नगर प्रमुख महतोले स्थानीय बजारहरु स्थानीय सरकारको मातहतमा हुनु पर्ने कानुन रहेको हुँदा सोहि अनुसार गरिएको र बाँकी विषयमा सर्व पक्षिय बैठक गरेर समस्याको समाधान गर्ने बताउनुभयो ।







