सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहरिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ महिनाअघि विशेष अदालतमा दायर गरेको मुद्दामा बुधबार फैसला सुनाउँदै विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।
अदालतले थापालाई एक वर्ष कैद, तीन करोड ४५ लाख रुपैयाँभन्दा बढी जरिवाना र सो बराबरको सम्पत्ति जफत गर्ने फैसला सुनाएको हो । थापाविरुद्ध ५ करोड ३३ लाख रुपैयाँभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेको थियो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले उनलाई गैरकानुनी सम्पत्ति आर्जन तथा हानि–नोक्सानीसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
अख्तियारको अनुसन्धानअनुसार ७ असोज २०७४ देखि २९ माघ २०७९ सम्मको अवधिमा मेयर थापाको कूल आय सात करोड ८६ लाख रुपैयाँ मात्र देखिएको थियो ।


