महोत्तरी - BVS-Nepal को आयोजनामा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ स्थित श्री माध्यमिक विद्यालय, पर्सा पटैलिमा एक दिवसीय आगलागी तथा दुर्घटनासम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा BVS-Nepal का कर्मचारीहरू अहिल्या शर्मा र रिता साहले सहजीकरण गरेका थिए। कार्यक्रममा आगलागी तथा दुर्घटनाको बेला अपनाउनुपर्ने सतर्कता, प्राथमिक उपचारका तरिका, ग्यास खरिद गर्दा ध्यान दिनुपर्ने सावधानीजस्ता महत्वपूर्ण विषयहरूमा जानकारी प्रदान गरिएको थियो। सहभागी विद्यार्थीहरूलाई सजिलोसँग बुझाउनका लागि सचेतनामूलक भिडियोसमेत प्रस्तुत गरिएको थियो।

कार्यक्रमको अन्त्यमा विद्यालयका शिक्षक रञ्जय रायलाई प्राथमिक उपचार सामग्रीसहितको बक्स हस्तान्तरण गरिएको थियो।
विद्यार्थीहरू तथा शिक्षकहरूले यस्ता व्यावहारिक तथा जानकारीमूलक कार्यक्रमहरू अत्यन्तै प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा विपद्प्रतिको चेतना, सजगता र आत्मविश्वास वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

साथै कार्यक्रममा सहभागीहरूमाझ BVS-Nepal को कार्यक्षेत्र, उद्देश्य तथा समुदायमा यसले पुर्याएको योगदानबारे समेत जानकारी प्रस्तुत गरिएको थियो।





