महोत्तरी - मधेसमा व्यक्ति केन्द्रित राजनीतिले सामूहिक एजेन्डा र सामूहिक स्वार्थहरू ओझेलमा परेको जनगुनासोहरू बढ्दै गएका छन् । मूलधारका पार्टी मात्र हैनन, वैकल्पिक राजनीति शक्तिको रूपमा उदय भएका दलहरूसमेत पारिवारिक मोह र जंजालमा फस्दै गएको विभिन्न दृष्टान्तहरूले पुष्टि गरेका छन् ।
वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएको जनमत पार्टीका आन्तरिक विवाद हुन् या मधेस केन्द्रित दलका फितला एजेन्डाहरू हुन् या नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेसका गुटगत लडाइँहरूले आममानिसहरूमा भरोसा गुम्दै गएको छ । आफूलाई मधेसको वैकल्पिक शक्तिको रूपमा उभ्याएका जसपा, लोसपाले त त्यसको परिणाम अघिल्ला निर्वाचनहरूमा भोगिसकेका छन् भने जनमतको जनआकर्षण ओरालो यात्रामा नै छ ।
लोसपा, जसपा, जनमत, कांग्रेस, एमाले, माओवादी केन्द्रबाट उचाइ बनाएका नेताहरूसमेत राजनीतिक एजेन्डा, प्रतिवद्वताहरूबाट निरन्तर स्खलित बनिरहेको स्थानीयहरू बताउँछन् ।
मधेसलाई सधैँभरी ढाटेर सत्ताको रस्वादन गर्ने शीर्ष नेतामध्ये शरदसिंह भण्डारी पनि हुन् । मधेसको इतिहासमा नै सबैभन्दा बढी मन्त्री बनेर सत्ता केन्द्रित बनेका मन्त्री भण्डारी कांग्रेसदेखि लोसपासम्मको यात्रामा २०औँ पटकसम्म विभिन्न मन्त्रालय सम्हालिसकेका छन् तर जनस्तरमा त्यसको परिणाम भने शून्य नै देखिएको छ ।
सधैँभरी अवसरको नै दाउपेचमा लाग्ने नेता भण्डारी विभिन्न पार्टीहरू समाउने र छाड्ने प्रवृत्तिले उनी अरूका लागिभन्दा आफ्नै लागि राजनीति गर्ने नेताको रूपमा दर्ज भएका छन् ।
मधेसको राजनीतिबाट उचाइमा पुगेका अर्का नेता हुन् उपेन्द्र यादव । राजनीतिक रूपमा क्रान्तिकारी पृष्ठभूमिका उपेन्द्र यादवले भने विभिन्न संघर्षमा सहभागी भएको देखिन्छ । झापा आन्दोलनताका पुष्पलाल समूहको अनेरास्ववियुमा संलग्न पछि उनले कोसी अञ्चल कमिटीमा रहेर कामसमेत गरेका थिए । त्यसपछि जनाधिकार फोरमदेखि जसपासम्म आइपुग्दा उनले निकै ठुलो राजनीतिक संघर्ष गरेको देखिन्छ । तर पछिल्लो समय मधेसका मुद्दाहरूबाट स्खलित भएको र सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने आरोप लाग्दै आएको छ । २०७९ सालको निर्वाचनमा त यादवलाई डा.सिके राउतले पराजित गरे ।

मधेसको राजनीतिबाट फाइदा उठाउने महन्थ ठाकुर लगायतले राष्ट्रिय राजनीतिमा दर्जनाैँ नेताहरूले बलियो पकड बनाएका छन् । तर सत्ताका लागि पार्टीभित्र तथा बाहिर इगोलाई प्रतिष्ठा बनाएर अगाडि बढेको देखिन्छ । मूलधारका पार्टीहरूमा बग्रेल्ती गुट, उपगुट निर्माण भएका छन् भने मधेस केन्द्रित दलहरूमा आन्तरिक कलह उत्कर्षमा छन् ।
छोटो समयमा उचाइ बनाएको जनमत पार्टीसमेत यसबाट अछुतो रहन सकेको छैन । यसका अध्यक्ष डा.सिके राउतले आफ्नै दाजु तथा परिवारका सदस्यहरूलाई पदमा राखेको घटना अझै पनि उनीप्रतिको असन्तुष्टिको कारक बनिरहेको छ । पार्टीको आन्तरिक कलह नै समाधानमा व्यस्त अध्यक्ष राउतले मधेसको मुद्दाहरूलाई चटक्क बिर्सिएको मधेसका स्थानीयहरूको आरोप छ ।
दुई नेताको जुहारी : माओवादीलाई संगठन विस्तार गर्ने ‘अवसर’ !
संसद्मा सुरु भएको २ नेताबीचको व्यक्तिगत कटुता अहिले मधेसको भूगोलसम्मै फैलिएको छ । २०८१ चैत १० मा मधेस प्रदेशको संसद् भवनमा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा सदस्य भरतप्रसाद साह र नेकपा एमालेका नेता तथा भौतिक पूर्वाधार मन्त्री सरोज यादवबीचको जुहारीले मधेसको राजनीतिक वृत्त मज्जाले ततायो । संसद्मा सुरु भएको २ नेताबीचको व्यक्तिगत कटुता अहिले मधेसको भूगोलसम्मै फैलिएको छ ।त्यसदिन संसद्मा मन्त्री यादव नेता साहको व्यक्तिगत मुद्दालाई लिएर बहसमा उत्रिएपछि पूर्वमन्त्रीसमेत रहेका साहले आफ्नो बोल्ने समयमा भनेका थिए, ‘२०८४ सालमा को–कस्तो भन्ने जनताले नै देखाउँछन् । २०८४ सालमा नै लडौँला ।’
संयोग कस्तो भने साह र यादव एउटै जिल्ला महोत्तरीबाट प्रतिनिधित्व गर्छन् । क्षेत्र नं. १ (ख)बाट नेता साह प्रदेशसभामा निर्वाचित भएका हुन् भने क्षेत्र नं. ४ (क) बाट नेता यादव निर्वाचित भएका थिए ।

यसैबीच मधेसको राजनीतिमा चतुर र परिपक्व खेलाडी मानिने नेता साहको सक्रियता क्षेत्र नं. ४ मा नै केन्द्रित बनेपछि २०८१ चैतमा संसद् भवनबाट दिएको चुनौतीलाई नै राजनीतिक प्रतिष्ठाको मुद्दा बनाएको कतिपयले विश्लेषण गरेका छन् ।
यसै पनि यो क्षेत्र सांगठनिक रूपमा माओवादीको दरिलो आधार इलाका मानिन्थ्यो । २०७९ अगाडि माओवादीले नै जित्दै आएको यस क्षेत्रमा नेकपा एमालेले प्रदेश र स्थानीय तहमा ह्याट्रिक गरेपछि पराजयको समीक्षासहित असन्तुष्ट नेता, कार्यकर्ताहरूलाई फर्काउने अभियान चलाएको नेता साहले बताउँदै आएका छन् ।
धेरैजसो समय क्षेत्र नं.४ मा दिँदै आएका उनले झन्डै महिना दिनको अवधिमा हजाराँै नेता, कार्यकर्ताहरूलाई फर्काइसकेका छन् । विभिन्न आमसभाका माध्यमबाट केन्द्रका शीर्ष नेताहरूलाई कार्यक्रममा सहभागी गराएर तामझामका साथ विगतमा लाखापाखा लागेका आफ्ना कार्यकर्ता मात्र हैनन्, एमाले र अन्य पार्टीबाटसमेत ठुलो संख्यामा माओवादी केन्द्रमा भिœयाएका छन् । यस्ता पार्टी प्रवेशलाई प्रभावकारी बनाउन उनले केन्द्रका प्रभावशाली नेतालाई बोलाउने गरेका छन् । यसै हप्ता मात्र ५ दर्जन कार्यकर्तालाई अबिरजात्रा गरेर नेता साहले आफ्नो पार्टीमा प्रवेश गराए ।
उता भौतिक पूर्वाधारमन्त्रीको हैसियतले गृह जिल्लामा ठुलो मात्रामा बजेट विनियोजन गरेता पनि नेता यादवप्रति असन्तुष्ट हुनेहरूको संख्या दिनप्रतिदिन बढिरहेको स्वयं नेकपा एमालेका नेताहरू बताउँछन् । अझ नेता यादवको गृह ठाउँ रामगोपालपुरमा त उनकै कारणले ठुलो आन्तरिक मतभेद बढ्दै गएको देखिएको छ । ‘यही दृश्यलाई नेता भरत साहले नियन्त्रण लिएर रणनीतिक योजना बनाएका छन् । बास्तवमा नै त्यहाँबाट ठुलो संख्यामा अन्य पार्टीका कार्यकर्ताहरू माओवादी केन्द्रमा आएको देखिन्छ,’ रामगोपालपुरका स्थानीय युवा संजित मण्डलले भने, ‘यही प्रक्रियामा अगाडि बढने हो भने माओवादीले यो क्षेत्रमा दरिलो शक्तिको रूपमा पुनरोदय गरेको आकलन गर्न सकिन्छ ।’
व्यक्तिगत रूपमा नेता यादवप्रति असन्तुष्ट बनेको समूहलाई फकाउने र नेता यादवलाई थप कमजोर वनाउने उनले रणनीति बनाएको देखिन्छ । प्रारम्भिक चरणमा एमालेकै कार्यकर्ताहरूलाई फकाउने र त्यसपछि मात्र अन्य पार्टीमा प्रवेश गर्ने नेता साहले योजना बनाएको अहिलेको रणनीतिले पुष्टि गरेको छ ।
२०८४ सालमा समेत नेता साह यसै क्षेत्रबाट निर्वाचनमा होमिने कतिपयको आकलन छ ।
प्रदेश सरकारमा उपभोक्ता समितिको नाममा टुक्रे बजेट बनाएर अनियमितता भएको र बजेट विनियोजन गर्दा आवश्यकताभन्दा पनि कमिसन र प्रतिशतलाई आधार बनाएको आरोपसँगै प्रारम्भ भएको विषय अब संगठन निर्माणको इगोसँग जोडिएको छ ।
कतिपय विषयहरूमा नेता साह विवादित बने पनि बोल्ने र त्यसलाई कार्यान्वयन गर्ने नेताको रूपमा छबी बनाएका छन् । २०८१ चैतमा नेता यादवले नै प्रदेशसभामा बोलेका कतिपय विषयहरूले त्यसलाई प्रमाणित गरेको छ ।
मधेस प्रदेशको माओवादी केन्द्र चौथो शक्ति भए पनि लालबाबु राउतको नेतृत्व सरकारबाट बहिगर्मनपछि अर्को सरकार निर्माणका क्रममा नेता साहले सबै पार्टीका सांसदहरूलाई आफ्नो नियन्त्रणमा लिएको अझै सेलाएको छैन ।नेता यादवले नेता साहप्रति लक्षित गर्दै भनेका थिए । ‘उहाँले हामीलाई समेत भ्रम सिर्जना गरेर सुरसंड काण्ड मचाउनुभयो । मधेसको राजनीतिमा सधैँ भ्रम सिर्जना गरेर सबै सांसदहरूलाई गुमराहमा राख्ने उनी एक्ला सांसद हुन् ।’
उनको भनाइले पनि नेता साह प्रदेशको राजनीतिको केन्द्रविन्दु हुन् भन्ने विषयलाई प्रमाणित गर्छ । ‘सबैलाई विस्वास लिएर उनले चाहे सबै सांसदलाई नियन्त्रण गर्न सक्ने क्षमता छ,’ नेकपा एमाले प्रदेशस्तरीय एक नेताले भने, ‘अब हाम्रो संसदीय दलको नेतालाई त उहाँले विस्वासमा लिएर त्यत्रो ठुलो खेल खेल्नु भयो । सबैलाई गुमराहमा राखेर झन्डै आफैँले गोल हान्नु भएको थियो ।’
पार्टीमा आर्थिक तथा अन्य विषयहरू जोडेर केही मुद्दा परेपछि नेता साहले संसदीय दलको नेताबाट राजीनामा नै गरे । तर चौतर्फी विरोधको बाबजुद पनि मूलधारका मिडियाहरूमा सैद्धान्तिक बहस गर्ने र गृह क्षेत्रमा सांगठनिक गतिविधिमा ध्यान दिने गतिविधिमा उनी सक्रिय बन्दै आएका छन् ।
प्रचण्ड निकट माओवादी केन्द्रका एक नेताले भने, ‘उनको काम देखेपछि अध्यक्ष खुसी नै छन् । तर पछिल्ला केही विषयहरू पार्टीमा उठेपछि गम्भीर छलफल र छानबिन समिति नै बन्यो । शायद नेता साह नै पुनः संसदीय दलको नेतामा पुनर्वहाली हुन सक्छन् ।’
यादवप्रति कार्यकर्ताहरूको आकर्षण किन घटिरहेको छ ?
नेकपा एमाले मधेस प्रदेशको राजनीतिमा सधैँ चर्चामा आइराख्ने नेता यादवकै कारण गुट निर्माण भइरहेको र आफ्नो पक्षलाई मात्र उनले चेप्ने गरेको आरोप लाग्दै आएको छ ।
लामो समयदेखि भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका यादवले मन्त्रालयकै माध्यमबाट आफ्नो गुटलाई बलियो बनाउने अस्त्र बनाएको एमालेभित्रैबाट आरोप लाग्दै आएको छ ।
केही समय अगाडि बर्दिवासमा बसेको बैठकमा समेत नेता यादवको कार्यशैलीलाई लिएर चर्को आलोचना भएको थियो । कतिपय नेताले त कमिसन र विचौलियाको प्रभावमा परेको आरोपसमेत लगाएका थिए ।
उक्त बैठक खेलकुदमन्त्री प्रमोद जैसवाललाई त मन्त्री फिर्ता गर्ने लगभग निष्कर्षमा पुगेको थियो । टेन्डर लगाउनुपर्ने बजेटलाई समेत २ टुक्रा बनाएर उपभोक्ता समिति बनाउने र मोटो रकम कमाउने प्रदेशमा खेती नै भएको संसद्मा माओवादी केन्द्रले जोडदार ढंगले उठाउँदै आएको छ ।
निरन्तर भ्रष्टाचार र सुशासनको अभियानमा लागेको नेता साहले दिएको अभिव्यक्तिसँगै नेता साहप्रति खनिएका यादवले घुमाउरो पाराले स्वीकार गर्दै संसदहरू समेत कमिसनको खेतीमा लागेको आरोप लगाएका थिए ।
यसै विषयलाई आधार बनाएर छानबिन समिति बनाउनुपर्ने भन्दै माओवादी लगायतका प्रतिपक्ष दलहरूले त संसद् बैठक नै बहिष्कार गरेका थिए ।
यादवलाई माओवादी केन्द्रले रामगोपालपुर–२ का वडाध्यक्षको दुर्घटनालाई पनि नेता यादवप्रति शंका गरेको थियो । गत भदौमा सडक दुर्घटना मृत्यु भएका वडाध्यक्ष यादवको दुर्घटना रहस्यमय भएको भन्दै माओवादी केन्द्रले गम्भीर अनुसन्धान गर्न दबाब दिँदै आएको छ । २०७९ सालको निर्वाचनमा मृतक मुकेश माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।




