बेलबारी मोरङ,
बालबालिकाहरूसँग कार्यरत संस्था अर्किड नेपाल तथा सिपिसिएस नेपालले आज फूलपातीको दिन बालबालिकासँग दशैंको टिका लगाएर एक कार्यक्रम सम्पन्न गरेको छ।
सडकमा आधारित बालबालिकाहरूको पुनर्स्थापना तथा उद्धारको कार्यक्रम गर्दै उनीहरूलाई कानुनी सहयोग तथा शैक्षिक र स्वास्थ्य सहयोग समेत गर्दै आइरहेको दाता संस्थाको रूपमा रहेको चाबहिल पशुपति बाल आश्रमले बेलबारीमा स्थानीय बाल विकासका लागि संगठन अर्किड नामक संस्थासँग विगत १० वर्षदेखि साझेदारी रुपमा कार्य गरिरहेको छ। संस्थाले बेलबारी तथा सुन्दरहरैचाका सामुदायिक विद्यालयहरूमा बालबालिकाहरूको निःशुल्क उपचार का लागि नर्सहरूको व्यवस्थापन गर्दै शैक्षिक सहयोगको कार्यक्रम समेत सञ्चालन गरिरहेको छ।

आज आयोजित यस कार्यक्रममा करिब ५० जना बालबालिका तथा संस्थामा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो। यस दशैंको टिका तथा शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ साहित्यकार तथा लेखक डा. छवि बैरागी घिमिरेले उपस्थित बालबालिकाहरूलाई टीका तथा जमरा लगाइदिनु भएको थियो।

कार्यक्रममा सिपिसिएस संस्थाका पूर्व अध्यक्ष तथा कार्यक्रम निर्देशक नवराज पोखरेल नवशिलाको समेत सहभागिता रहेको थियो। विगत २३ वर्षदेखि बालबालिकाकै क्षेत्रमा कार्य गर्दै आउनुभएका पोखरेलले यस प्रकारका कार्यक्रमले बालबालिकामा आफ्नो संस्कृति र परम्परालाई जोगाउनका लागि समेत सचेतना प्रदान गर्ने कुरा व्यक्त गर्दै बालबालिकाहरूलाई दक्षिणा प्रदान गर्नुभएको थियो। संस्थाले हरेक वर्ष यस प्रकारका कार्यक्रमहरू गर्दै आइरहेको संस्थाकी कर्मचारी शिला पोखरेलले बताउनुभयो।




