बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक आज बिहान यात्रुबाहक बस दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ८५३७ नम्बरको बस बिहान करिब १० बजे हेटौडा–पथलैया सडकखण्डको उकालोमा पुग्दा ब्रेक फेल भएर ब्याक गइरहेको अवस्थामा पछाडिबाट आउँदै गरेका दुईवटा मोटरसाइकल किचिएका थिए ।बसले ठक्कर दिँदा दुवै मोटरसाइकल च्यापिएर दुर्घटना भएको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार घटनामा गम्भीर घाइते भएका बारा फेटा गाउँपालिका–१ भरवलियाका २५ वर्षीय मकेश्वर पटेल र पर्सा वीरगञ्ज महानगरपालिका–३१ बस्ने २६ वर्षीया कविता देवी लाई उपचारका लागि कलैया प्रादेशिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ। दुवैलाई अस्पताल पु¥याउँदा दिउँसो १२ः१० बजे चिकित्सकले मृत घोषित गरेका थिए।
अन्य घाइते हुनेहरूमा मकेश्वर पटेलकी पत्नी २२ वर्षीया कलिता देवी, २० महिनाकी छोरी तानेया पटेल, अर्को मोटरसाइकलका चालक २७ वर्षीय कञ्चन कुमार पटेल र उनका ३ वर्षीय छोरा आयुष पटेल रहेका छन्। उनीहरूलाई मकवानपुरस्थित सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बस चालक सर्लाही लालबन्दी नगरपालिका–३ का ४७ वर्षीय बिश्वनाथ चौधरीलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको छ। दुर्घटनास्थलमै बस र दुबै मोटरसाइकल रहेका छन् भने बस पछाडि रहेको म.प्र. ०३–००१ ज ०६६२ नम्बरको ईभी माइक्रो गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि केही समय अवरुद्ध भएको बाटोलाई एकतर्फी सञ्चालनमा ल्याइएको छ। इलाका प्रहरी कार्यालय अमलेखगञ्जका सई धन प्रसाद श्रेष्ठको नेतृत्वमा सात जनाको टोली खटिएको प्रहरीले जानकारी दिएको छ।




