महोत्तरी- महोत्तरीको गौशाला नगरपालिका क्षेत्रका विभिन्न स्थानमा जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौशाला नगरपालिका–१२ का ४२ वर्षीय सुरेन्द्र सिंह, ४२ वर्षीय राजेश्वर सिंह कुशवाहा, ३७ वर्षीय मकेश्वर सिंह कुशवाहा, औरही नगरपालिका–४ का २५ वर्षीय अनिल सहनी र भारतको बिहार राज्य, सितामढी जिल्ला ग्राम पञ्चायत हरिबेला निवासी ४० वर्षीय बेचन महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टका अनुसार छुट्टाछुट्टै स्थान र समयमा पाँचै जनालाई जुवा खालबाट नियन्त्रणमा लिइएको हो ।
गौशाला–११, लक्ष्मिनिया स्थित पानी ट्याङ्कीको भवनमा जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीबाट खटिएको प्रहरी टोलीले छापा मार्दै गौशाला–१२ का तीन जनालाई पक्राउ गरेको हो । सो क्रममा उनीहरूबाट ३९ हजार ११० रुपैयाँ र भारतीय मुद्रा ६ सय बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, गौशाला–८, बेलगाछीस्थित रमेश यादवको उखु खेतमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरूबाट नेपाली रुपैयाँ ८७ हजार ५९० र भारतीय रुपैयाँ ५ हजार २० समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।




