महोत्तरी,औरही – दिपावली- तिहारपछि तराई–मधेसमा उमङ्गका साथ मनाइने ‘छठ’ पर्वका लागि महोत्तरीको औरही बजार लगायत तराई–मधेसका बजारहरूमा किनमेल गर्नेको अत्यधिक भीड लागेको पाइएको छ। ‘छठ’ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्न व्रतालु र श्रद्धालुहरू बिहानैदेखि बजारमा भीडभाड देखिएका छन्।

औरही नगरपालिका–१ औरही स्थित साप्ताहिक हाटदेखि मुख्य बजारसम्म अर्घ्यका लागि आवश्यक सामग्री खरिद गर्न आएका श्रद्धालुहरूको ओइर लागिरहेको छ। पसलेहरू पनि पूजाका सामान बिक्रीमा व्यस्त देखिएका छन्। छठ पर्व मनाउने महोत्तरी लगायतका जिल्लाका बजारहरूमा अहिले पूजाका लागि चाहिने हरियो तरकारी, स्याउ, केरा, सुन्तला, भोगटे, पानी भएको नरिवल, उखु, अदुवा, हरियो बोडी, मूला, बाँसका नाङ्लो, ढाकी, छिटी, कुमालेले तयार पारेका माटाका भाँडा, घैला, ढकनी, प्रसादका रूपमा प्रयोग हुने ठकुवा, कसार, घ्यूमा बनेका मिठाईलगायतका सामग्री बिक्रीका लागि राखिएका छन्।व्रतालुहरूले बाँसका सामग्री—कोनिया, ढाकी र नाङ्लो समेत किन्ने गर्दछन्। यस्तै, ‘छठ’ पर्व मनाउने पोखरी, नहर र नदीकिनारको सरसफाइ र सजावटमा स्थानीयवासी व्यस्त छन्।

औरही नगरपालिका–२ मा रहेको रामजानकी कुटी अगाडिको पोखरी र वडा नम्बर–१ स्थित महादेव पोखरी तथा जङ्गहा खोलामा स्थानीय युवाहरूले मेसिनमार्फत पानी निकाल्दै सरसफाइ सम्पन्न गरेका छन्। यसले व्रतालुहरूलाई पूजा–पाठ गर्न सहजता पुर्याएको छ।स्थानीय युवाहरूले छुट्टाछुट्टै समिति गठन गरी पोखरी र खोलाहरूलाई आकर्षक रूपमा सजाउने कार्यमा जुटेका छन्। शनिबारदेखि सुरु भएको ‘छठ’ पर्व अन्तर्गत सोमबार साँझ अस्ताउँदो सूर्यलाई र मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ।

छठ पर्वका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ भने मधेस प्रदेश सरकारले मंगलबार समेत सार्वजनिक बिदा घोषणा गरेको छ। यस पर्वका अवसरमा सोमबार साँझ र मंगलबार बिहान हजारौँ मानिस घाटमा पुगी अर्घ्य अर्पण गर्ने गर्दछन्।

औरही उद्योग बाणिज्य सङ्घका पूर्व अध्यक्ष श्रवण चौधरीका अनुसार, “छठ पर्वले तराई–मधेसका समुदायमा धार्मिक एकता र सामाजिक सद्भाव बढाउँछ। यो पर्वका कारण बजारमा आर्थिक गतिविधि बढ्ने र साना व्यापारीहरूलाई समेत राम्रो आम्दानी हुने अवसर प्राप्त हुन्छ,” उनले बताए। उनका अनुसार, “औरहीको बजारमा अहिले पूजाका सामग्री बिक्री निकै राम्ररी भएको छ। स्थानीय युवा र बर्तालुहरूको सक्रियताले पोखरी र घाटहरू आकर्षक बनेका छन्,” उनले थपे।

































फोटो : औरही नगरपालिका–१ मा लाग्ने साप्ताहिक बजार
फोटो : धर्वेन्द्र कुमार यादव,"यदुवान्शी"शिरीष न्युज,औरही/महोत्तरी




