भनिन्छ राज्य सबै नागरिक, समुदाय र क्षेत्रका लागि बराबर हुन्छ। सबै भाषा ,धर्म - संस्कृति, चाडपर्व र रितिरिवाज मा राज्यले गर्ने व्यवहार सम्मान हुनुपर्छ तर बिडम्बना राज्य आफ्नै देश भित्रका नागरिकहरू सँग फरक - फरक व्यवहार देखाउँछन्।
विषय र प्रसङ्ग छठ पर्वको हो । यो वर्ष गत शनिबार देखि सुरु भएको छठ पर्व मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न हुनेछ।
छठ कात्तिक शुक्ल चतुर्थीको दिनदेखि नै मनाईन्छ । यसको विधिविधान भने भाइटीका तथा गोवर्धन पूजाको दिनबाटै गोधन कुटेर सुरु हुन्छ । छठ पर्वमा पहिलो दिन नुहाईखुवाई गरिन्छ। दोश्रो दिन व्रतालुले केहि नखाई साँझपख सख्खर र चामलले पाएको खिर लिएर पुजाआजा गरी मात्र खिर खाईन्छ र घर परिवारका सदस्यलाई समेत खुवाईन्छ । र व्रतालु नुन नभएको खानेकुरा मात्र खान्छ। जसलाई तराई मधेस तिर बोलचालको भाषामा (खरना) भनिन्छ। तेस्रो दिन दिनभरी निराहार बसी पुरी,गैहँ पिठोमा सकर हालि ठकुवा तथा बिभिन्न प्रकारका परिकारहरु बनाईन्छ ,फलफुल तथा अन्य पुजामा लाग्ने सामम्रगीहरुलाई दिन भरी तयारी गरी साझँ पखँ नजिकको पोखरी,नदी,ताल,तलाउमा गई अस्ताउँदो सुर्यलाई अर्घ दिइन्छ । र चोथौ दिन विहान उदाउँदो सूर्यलाई अर्घ दिई अन्तिममा समापन गरिन्छ । अर्थात् छठ चार दिनसम्म मनाईन्छ ।
छठ ,हिन्दुहरुको महान चाडपर्व हो। छठ मधेशी समुदायले मात्र नभई पहाडी समुदायका साथै मुस्लिम धर्मालम्वीले पनि मनाउने गरेका छन्। छठ पर्व विषेश गरि सूर्यको आरधनाबाट चर्मरोग निको हुने, सुख–शान्तिको मनोकामना पूरा हुने र निःसन्तान भएका व्यक्तिले छठी मैयाप्रति आस्था राखी सूर्य भगवानको पूजा आर्चना गरे आफ्नो मनोकामना पुरा हुने जनविश्वास छ । जो - जहाँ भएपनि मिथिलाञ्चलवासी छठ पर्वमा घर आउने गर्छन्। लगातार ३६ घण्टा सम्म पानीसमेत नखाई वर्त बसेर पर्व गरेको हुनाले स्वच्छता र निष्ठाको ठुलो महत्व रहिआएको छ ।
छठ मिथिलाञ्चलमा प्रमुख चाडका रुपमा मनाए पनि हाल मेचीदेखि महाकालीसम्म तथा राजधानी उपत्यकाका तीनै जिल्लासहित अधिकांश जिल्लाहरुमा मनाउन थालिएको छ । जसको प्रत्यक्ष उदाहरण काठमाडौं का विभिन्न जलासयहरु,पोखरी र तालहरूमा छठ घाट बनाएर धुमधामका साथ छठ मनाइएको पनि देखिन्छ । गत वर्ष काठमाडौं का विभिन्न जलासयहरुमा राष्ट्रपति रामचन्द्र पौडेल स्वयंम छठ घाट गएर पुजाअर्चना गरेर फर्किएका थिए। भिडभाड पनि उत्तिकै हुन्छ। कतिपय ठाउँमा हिन्दु धर्मबाहेकका अन्य धर्माम्बलीहरु समेत यो पर्व मनाउन थालेका छन् ।
अब बिचार गर्नुपर्ने कुरा कहाँ छ भने ,छठ पर्व मेची देखि महाकाली सम्म । हिन्दू देखि मुस्लिम सम्म र तराई- मधेस देखि पहाडका विभिन्न जिल्लाहरु सम्म फैलिएको छ। जब राष्ट्रिय पर्व दशैं र तिहार हिन्दु बाहेक अन्य धर्माम्बलीले मनाउँदैनन्। ईद चाहिं मुश्लिम बाहेक अन्य धर्माम्बली मनाउँदैनन् । अब कुरा यहाँ के आउँछ भने छठ पर्व ठूलो कि दशैं र तिहार? यसको सजिलै उत्तर छ सबैको साझा पर्व छठ हो । नेपाल बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय मुलुक हो । सबै जनताको आ–आफ्नै रितिरिवाज परम्परा रहेको छ। विभिन्न किसिमको धर्म, सँस्कृतिले धनी मुलुकमा दशैं, तिहारलाई राष्ट्रिय पर्वको रूपमा मनाइँदै आएको छ। यसबाहेक विभिन्न किसिमको पर्वमा सरकारले विदा समेत दिदै आएको छ । तर छठ पर्वप्रति नेपाल सरकार किन विदाका लागी उदासिनता देखिन्छ । छठ चार दिनसम्म मनाईन्छ । तर नेपाल सरकारले एक दिनका लागि मात्र सार्वजनिक विदा दिने गरेको छ। नेपालमा हेर्ने हो भने दशैमा ६ दिन विदा, तिहारमा चार दिन विदा दिने गरेका छन् भन्ने चार दिन सम्म हुने छठ पर्वमा सरकाले एक दिन विदा दिएर विभेद कायमै राखेको हामीलाई जहिले नि महसुस हुन्छ। समान्य रुपमा जो कोईले पनि बुझ्नुपर्ने कुरा हो , राज्यले त झन यसप्रति चासो दिनुपर्ने हो । कि ३६ घण्टा लगातार वर्त बसेको व्रतालुका लागि २४ घण्टाको विदा दिनु ,यो जायज हैन्। यो समुदाय विशेषको पर्व हो भनेर गरिएको हेला हो , ठाडो भाषामा भन्ने हो भने यो राज्यले गरेको विभेद हो ।
जबकि छठ पर्व को अन्तिम दिन विहान उदाउँदो सूर्यलाई अर्घ दिई अन्तिममा समापन गरेपछि,प्रसाद ग्रहण का लागि मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जाने गर्छन्। जसको घरमा छठ हुदैनन्, उनीहरुका छिमेकी, ईष्टमित्रहरुले घर सम्म प्रसाद पुर्याउन जाने गर्छन् । एउटा बुवाले आफ्नी छोरी को घरमा प्रसादको झोला (कोसेली) बोकेर जानुपर्ने हुन्छ। यो सब एउटा रितिरिवाज र समाजको आस्था र विश्वास हो । जहाँ मानिसहरु आफ्नो छिमेकी सँग र ईष्टमित्रहरु सँग मिठो संवाद , गहिरो सम्बन्ध स्थापित गर्नुका साथै समाजमा पारस्परिक सहयोग को सम्बन्ध स्थापना गर्न यसले उल्लेखनीय भुमिका निर्वाह गर्छ। यी कुराहरु केवल आस्था र परम्परा सँग जोडिएको हुनाले मात्र व्याख्या गर्न खोजिएको छ। मुल कुरा त चार दिनसम्म मनाईने छठ पर्व मा राज्यले कम्ती मा छठको तेस्रो र चौथो दिन अर्थात् दुई दिन विदा दिनु पर्छ। यता तेस्रो दिन षष्टी तिथिमा मात्र सार्वजनिक विदा दिने गरेको छ।
नेपाली क्यालेन्डरमा यो दिन मात्र उल्लेख छ ।
देश समावेशीकरण तर्फ लम्किसक्दा पनि छठ पुजाको पालो आएको रहेनछ । अध्ययन अनुसन्धान गरेर यसको निष्कर्ष निकाल्ने हो भने कम्मतीमा दुई दिन सार्वजनिक विदा दिनु नै पर्ने देखिन्छ ,अझ महिलाहरुलाई त चार दिन विदा दिनु पर्ने देखिन्छ ।
कतिपय निजि कलेज र संघसंस्थाले व्यवाहारिक रुपमा दुई दिन विदा दिने गर्छन् र कतिपय सार्वजनिक विधालय र कलेजले स्थानिय विदा मिलाएर २/३ दिनको बिदा दिईएको हुन्छ तर समग्रमा यो राज्यले ग्रहण गर्नुपर्ने विषय हो । राज्यले अभिभावकत्व निभाउने हो ,प्रश्न राज्य सँग छ ? छठ पर्वको बिदामा राज्यले पुनर्विचार गरोस् । जय छठी मैया ।
महतो काठमाडौं स्कुल अफ ल मा कानुन अध्ययनरत विधार्थी हुन् ।




