केरा जे फरल घउरमे ओहि पर सुगा मंडराय
मारबौ रे सुगबा धनुषसँ सुगा गिरे मुरूझाय
सुगनी जे कानति वियोगसँ दीनानाथ होयब सहाय
यति खेर यस्तै लोकगीत संगीतले जनकपुरधाम सहित सारा मिथिलाञ्चल छठ मय बनेको छ। अहिले गाउँ शहर , बजार चोक चौराहा सबै तीर छठ गीतको धुनले सारा माहौल छठमय धुनमा झुमेको छ। जताततै छठको बाहेक अरु केहि कुरा सुनिदैन अहिले ।
काँचहि बाँसके टोकरिया हो दीनानाथ
टोकरी लचकत जाय
बाटमे पुछए जे बटोहिया
टोकरी केकर जाय
आन्हर होयबे रे बटोहिया
अरघक टोकरी छठि मायके जाय ।
छठका अवसरमा मैथिल कन्याद्वारा प्रसाद सामग्री बोकी कुनै नदी वा तलाउसम्म जाने बेला गाइने यो प्रचलित लोकगीतमा दीनानाथ र छठीमायलाई सम्बोधन गरिएको छ । यसको अभिप्राय हो– दीनानाथ अर्थात् सूर्यदेव, छठीमाय अर्थात् षष्ठीका देवी दुवैको छठ पर्वमा पूजा हुन्छ । यस पर्वको वैदिक नाम सूर्य–षष्ठी रहेको छ । यसमा मुख्य पूजा सूर्यको हुँदाहुँदै षष्ठीका देवीको पूजा पनि हुन्छ । षष्ठीका देवीको पूजा गौण रूपमा हुन्छ । जस्तो राधाकृष्ण, सीताराम, गौरीशंकर एक अर्काका पूरक हुन्छ, त्यस्तै सूर्यषष्ठी पूजा पनि हुन्छ ।
आस्थाको महापर्व छठ पर्वको आज तेस्रो र मुख्य दिन व्रतालुले अस्ताउन लागेको सूर्यलाई अर्घ दिँदै छन् । छठको दोश्रो दिन खरना सम्पन्न भएसंगै सोमबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइ पूजाआजा गर्ने परम्परा छ ।
सूर्यलाई ‘आदि’ देवता पनि भनिन्छ । सारा सृष्टि र मानव जगतलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको पाइन्छ । छठ पर्व विशेष गरी कृषकहरुको पर्वको रुपमा रहेको छ । यस पर्वमा सूर्यको प्रकाश र जलको महत्वलाई विशेष रुपमा जोडेको देखिन्छ ।
सूर्य र जलकै कारणले मानव जीवनमा उज्यालो आएको र मानवले यही सूर्य र जलकै कारणले फलफूल, तरकारीदेखि अन्नवाली उब्जानीमा महत्वपूर्ण भूमिका रहेकाले पनि समानता, भेदभावरहीत, छुवाछुतरहीत सबै एकापसमा मिलेर सूर्यको आराधनासंगै छठि मैयाको पूजाअर्चना गर्ने परम्परा रहेको साहित्यकार तथा संस्कृतविद् राजेन्द्र विमलले बताउनुभयो । उहाँले छठ पर्व प्रकृतिको पूजनको रुपमा रहेको बताउनुभयो ।
महिलाको अगुवाईमा हुन्छ सबै विधि
छठ पर्वको मूल सन्देश समावेशी पनि हो । यसमा महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गर्नु महत्वपूर्ण पक्ष हो ।
धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा यस पर्वमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् ।
सबैको साझा पर्व छठ
छठ पर्व सबैको लागि साझा पर्व बनेको छ। जुनसुकै जाति र धर्मका आस्थावानले छठ पर्व मनाउन सकिने भएकाले आर्थिक अभाव रहेकाले भिक्षा मागेर पनि छठ पर्व मनाउने गरेको पाइन्छ ।
श्रम तथा कृषिको उपयोग र सम्मान
सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएकाले उनीप्रति कृतज्ञताको अभिवृद्धि पनि यस पर्वले दिन्छ । आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु छठ पर्वको थप मौलिकता हो, जो श्रमको सम्मानको परिचायक रहेको छ । यसमा श्रमको वैज्ञानिक रूप देखिन्छ । श्रमशक्तिले काम गर्न पाउन भन्ने कुरालाई समेत सूक्ष्म दृष्टिले विचार गरिएको पाइन्छ ।
छठ पर्वमा बाँसको काम गर्ने, माटोको काम गर्ने र कृषि उत्पादन गर्ने जस्ता श्रमलाई उपयोग गरिएको पाइन्छ ।
पारिवारिक जमघटको अवसर पनि
यो पर्व पारिवारिक जमघटको अवसर पनि हो । परिवारबाट टाढाटाढा बसेका व्यक्ति पनि छठ पर्व मनाउन आफ्नो घर फर्कने गर्दछन् जसले पारिवारिक मेल र आत्मीयताको अभिवृद्धिको अवसरसमेत प्रदान गर्दछ ।
विभाजन, द्वेष, एकले अर्काको अस्तित्वलाई अस्वीकार गर्ने वर्तमान अवस्थामा छठ पर्वले सबैलाई एउटै स्थलमा उभ्याउने र मानवलाई मानव भएर जिउनमा सहयोगी समेत सिद्ध भएको छ ।




