महोत्तरी - सरसफाई र अव्यवस्थित नालाको कारण लामो समयदेखि अस्तव्यस्त बनेको गौशाला बजारमा अब सौन्दर्यीकरणको कार्य अगाडि बढेको छ । बजार क्षेत्र सरसफाइ र स्वच्छतालाई ध्यानमा राख्दै संघीय सरकारको लगानीमा करिब ३७ मिटर क्षेत्रमा पहिलो चरणको काम आरम्भ गरिएको हो ।
जिम्मेवारी पाएका काठमाडौँस्थित वी एण्ड वी वीआईपीएल जेभी काटेश्वरका प्राविधिक टोलीले बजार क्षेत्रमा आएर सर्वेक्षण कार्य शुरु गरिसकेको गौशाला नगरपालिकाले जनाएको छ । दुई चरणमा सम्पन्न हुने भनिएको यो कार्यबारे जानकारी दिँदै नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले बजारको स्वच्छता प्रश्नमा पहल गर्दै आएका एमाले नेता तथा पूर्वसांसद लक्ष्मी महतो कोईरीले विशेष भूमिका खेलेको उल्लेख गरे ।
संघीय सरकारको आर्थिक सहयोगमा अग्रसर हुन लागेको यो आयोजना खानेपानी तथा ढल निकास कार्यालय जनकपुरमार्फत १३ करोड ५३ लाख बराबरको लागतमा टेण्डर प्रक्रिया पूरा भएपछि वी एण्ड वी वीआईपीएल जेभीसँग सम्झौता गरिएको हो ।
लामो समयदेखि सडकमा पानी जम्ने, दुर्गन्ध फैलिने तथा सरसफाइमा समस्या बढ्दै जाँदा नगरको पहिचानमै असर पुर्याएको अवस्थामा पूर्वसांसद कोईरीको निरन्तर पहलपछि काम अघि बढेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।
निर्माण कम्पनीका अनुसार, पहिलो चरणमा मुख्य सडक क्षेत्रको ढल निकास तथा व्यवस्थापन काम पूरा गरिनेछ । त्यसपछि दोस्रो चरणमा बजार आसपासका क्षेत्रमा अतिरिक्त संरचनात्मक सुधार हुने छ । यस कार्यपछि गौशाला बजारको सरसफाइ, सौन्दर्यीकरण र सवारी आवागमन सहज हुने नगरपालिकाले आशा व्यक्त गरेको छ ।




